फाल्गुन २४ गते ,काठमाडौँ -भारतको दक्षिणी राज्य कर्नाटकको कोप्पल जिल्लामा एक इजरायली पर्यटकसहित दुई महिलामाथि बलात्कार भएको छ। उनीहरूलाई बचाउन खोज्ने एक पुरुषको हत्या भएको प्रहरीले पुष्टि गरेको छ। ओडिशाका २६ वर्षीय बिभाषको शव तुङ्गभद्रा बायाँ किनार नहरमा फालिएको अवस्थामा फेला परेको छ।
प्रहरीका अनुसार, २७ वर्षीया इजरायली महिला पर्यटक र २९ वर्षीया केरलाकी एक महिलामाथि तीन जना पुरुषले बलात्कार गरेका थिए। घटनापछि अभियुक्तहरूले बिभाष, अमेरिकाका डेनियल र महाराष्ट्रका पंकज पाटिललाई नहरमा फालेका थिए।
कोप्पलका एसपी राम एल अरसिद्दीले भने, ‘हामीले बिभाषको शव बरामद गरेका छौं। हत्या प्रयासको मुद्दामा हत्या र बलात्कारको आरोप थपिएको छ।’ स्थानीय समय अनुसार घटना मार्च ६ (बिहीबार) राति ११ देखि ११:३० बजेको बीचमा हम्पी नजिकैको सानापुर तालको किनारमा भएको थियो।
बीबीसी हिन्दीका अनुसार पाँच जना दुई महिला (इजरायली पर्यटक र केरलाकी होमस्टे सञ्चालक) र तीन पुरुष (अमेरिका, ओडिशा र महाराष्ट्र) का थिए। उजुरीकर्ता केरलाकी महिलाका अनुसार, तीन जना अभियुक्त मोटरसाइकलमा आएर पेट्रोल कहाँ पाइन्छ भनेर सोधे। होमस्टेका कर्मचारीले बाटो देखाउँदा अभियुक्तहरूले १०० भारतीय रुपैयाँ मागे। अस्वीकार गरेपछि झगडा सुरु गरे।
उजुरीमा लेखिएको छ, ‘उनीहरूले डेनियल, पंकज र बिभाषलाई नहरमा धकेले। तेस्रो अभियुक्तले मलाई ढुङ्गाले हान्यो, जसले मेरो शरीरबाट रगत बग्न थाल्यो। दुई जनाले मलाई जबरजस्ती नहरको किनारमा तानेर लुगा च्याते। अर्को अभियुक्तले इजरायली पर्यटकलाई घिसारेर लगी बलात्कार गरे।’ उजुरीकर्ताले अभियुक्तहरूले कन्नड र तेलुगु भाषा बोलेको उल्लेख गरेकी छिन्।
प्रहरीले अभियुक्तहरूको खोजी तीव्र बनाएको छ। एसपी अरसिद्दीले भने, ‘हामीले छवटा विशेष टोली गठन गरेका छौं। हामीलाई विश्वास छ कि चाँडै नै अभियुक्तहरूलाई पक्राउ गर्न सकिन्छ।’ पीडित महिलाहरू हाल स्थानीय अस्पतालमा उपचाररत छन्।नागरिक