२०८२ कार्तिक २ आईतवार
19 October 2025, Sunday
Menu
 

सामाजिक सञ्जाल र स्क्रिनटाइमको असर किशोरकिशोरीमाथि

सामाजिक सञ्जाल र स्क्रिनटाइमको असर किशोरकिशोरीमाथि

बैशाख २४ गते,काठमाडौँ —इन्टरनेटमा अनियन्त्रित पहुँच प्राप्त हुँदा त्यसले बालबालिकालाई कतिसम्म प्रभाव पार्नसक्छ भन्नेबारे अहिले नेटफ्लिक्सको एउटा सिरिज निकै चर्चित छ, ‘एडलसेन्स’ । यसमा १३ वर्षीय बालक, जेमी मिलिरलाई आफ्नै समकक्षी, केटी लियोनार्डको हत्या आरोपमा पक्राउ गरिएको हुन्छ ।

उनले किन त्यसो गरे भन्ने पृष्ठभूमि केलाउँदै जाँदा डिजिटल संसारमा किशोरकिशोरीहरू कसरी ‘म्यानोस्फेयर’ जस्तो विषाक्त विचार, ‘पर्पल डेभिल इमोजी’जस्ता चिह्न र ‘इन्सेल’ जस्ता कु-संस्कृतिको सिकार बन्छन् भन्ने विषय गहिरो ढंगले प्रस्तुत गरिएको छ ।

सिरिजमा केटीले जेमीलाई इन्स्टाग्राममा पर्पल डेभिल इमोजी पठाउँछिन्, यसलाई इन्टरनेटमा घृणा वा ट्रोलिङको संकेत मानिने हुँदा जेमी असाध्यै अपमानित महसुस गर्छन् । केटीले उनलाई ‘इन्सेल’ अर्थात ‘आफू सुन्दर नभएकाले महिलाले प्रेम गर्दैनन् भन्ने विश्वास राख्ने अनलाइन समूह’ को व्यक्ति भनेर जिस्काएपछि जेमीले आक्रोस र प्रतिशोधमा उनको हत्या गर्छन् । इन्टरनेटप्रेरित बाल अपराधको यो शृंखलाले आधुनिक टिनएज जीवनको जटिलता देखाएको छ । यसमा साइबर बुलिङका नयाँ प्रवृत्ति, अनलाइन घृणा, आत्मसम्मानको संकट र महिलाविरोधी दृष्टिकोण साझा गरिने ‘म्यानोस्फेयर’ जस्ता विषाक्त फोरमले सिर्जना गर्ने आक्रोश, एक्लोपन र प्रतिशोधी मनोवृत्तिलाई देखाइएको छ ।

बीबीसीका अनुसार बेलायती प्रधानमन्त्री केयर स्टार्मरले आफ्ना टिनएज छोराछोरीसँग बसेर यो सिरिज हेर्न असाध्यै कठिन भएको बताएका छन् । नेटफ्लिक्सले बेलायतका माध्यमिक तहका विद्यालयमा यसलाई नि:शुल्क प्रदर्शन गर्ने घोषणाको प्रधामन्त्री स्टार्मरले स्वागतसमेत गरेका छन् । सामाजिक सञ्जालले किशोरकिशोरीहरूको मानसिक स्वास्थ्य र व्यवहारमा पार्ने प्रभावबारे ‘एडलसेन्स’ले गम्भीर छलफलको आवश्यकता औंल्याएको छ । सोसल मिडिया स्क्रोलिङ र अधिक स्क्रिनटाइम विश्वव्यापी समस्या बन्दै गइरहेका बेला नेपालजस्ता डिजिटल साक्षरता कम भएका ठाउँमा यस्ता समस्या क्रमश: अझै धेरै देखापर्छन् ।

सामाजिक सञ्जालमा नयाँ कुरा सिक्ने, सकारात्मक कन्टेन्ट मात्रै हेर्ने र स्क्रिनटाइम घटाउने प्रयास गर्दागर्दै पनि घण्टौँ समय ‘रिल’ हरूमै बितेपछि बुढानीलकण्ठकी निर्जला थापा (१८) आफू ‘डुमस्क्रोलिङ’को फन्दामा पर्दै गएको महसुस गर्न थालेकी छन् । देशका घटना र विश्वभरका राजनीतिक विकासक्रमबारे जानकार हुन खोज्दा उनी सोसल मिडियामा आउने झैझगडा, दुर्घटना, हत्या, भ्रष्टाचार, युद्ध, निराशा र डार्क जोकहरूमा भुलिन्छिन् ।

लर्ड बुद्ध कलेजमा स्नातक अध्ययनरत निर्जलाको फेसबुक रिल र इन्स्टा फीडहरू आजभोलि नेपाल र विभिन्न देशका पछिल्ला आन्दोलन, हिंसात्मक गतिविधि र राजनीतिक एक्स्प्लेनरहरूले भरिएका छन् । धेरैबेर मोबाइल चलाउने बानीले स्वास्थ्य र जीवनशैलीमा प्रभाव परेको महसुस हुँदाहुँदै पनि यसलाई रोक्न नसकेकोमा उनी बेलाबखत चिन्तित हुन्छिन् । ‘मानिसहरू सोसल मिडियामा बाझिरहेको, एक-अर्कालाई थर्काइरहेको, जे कुराको पनि आलोचना र एकदम होहल्ला गरेको देखिन्छ,’ निर्जला भन्छिन्, ‘हामी जेन जीहरूबीच चाहिँ अलि धेरै डार्क जोक सेयर गर्ने ट्रेन्ड छ । समाचारमा अपडेटेड हुन खोज्दा कति बेला त्यस्तो लाउड र डार्क कन्टेन्टमा पुगिन्छ, थाहै हुँदैन ।’

विशेषगरी कोभिड-१९ यता बाक्लै सुनिने गरेको ‘डुमस्क्रोलिङ’ भन्ने पदावलीले एकपछि अर्को सामाजिक सञ्जाल प्लाटफर्ममा निरन्तर रूपमा नकारात्मक समाचार र कन्टेन्टहरू स्क्रोल गरिराख्ने प्रवृत्तिलाई जनाउँछ । निर्जलाजस्ता कयौँ किशोरकिशोरीहरू डुमस्क्रोलिङ र डुमसर्फिङसँगै फोमो भनिने फियर अफ मिसिङ आउट, मोबाइल फोनबाट टाढिनुपर्ने भय अर्थात नोमोफोफोबिया, अबेर रातसम्म इन्टरनेटमै भुलिने ‘भ्याम्पिङ’ वा आफ्नै स्वास्थ्य अवस्थाबारे इन्टरनेटमा जानकारीहरू खोजेर अनावश्यक चिन्तित हुने ‘साइबरकन्ड्रिया’ जस्ता मोबाइल फोन र स्क्रोल गरिराख्ने लतका कारण समस्यामा पर्दै गएको अध्ययनहरूले देखाएका छन् ।

सामाजिक सञ्जालको ‘एडिक्टिभ प्रवृत्ति’बारे अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसनमा प्रकाशित प्रतिवेदनले ११ देखि १९ वर्षका किशोरकिशोरीहरूमा ‘कतै छुटेँ कि भन्ने डर’ अर्थात फियर अफ मिसिङ आउट (फोमो) का कारण स्ट्रेस (चिन्ता) बढ्ने गरेको देखाउँछ । कर्मन युनिर्भसिटी अफ मेडिकल साइन्सेजमा प्रकाशित ‘द इमर्जिङ फेनोमेनन अफ नोमोफोबिया इन यङ एडल्ट्स : अ सिस्टम्याटिक रिभ्यु स्टडी’ का अनुसार कुल ३७० वटा अध्ययनहरूमा सहभागी किशोरकिशोरीमध्ये १५ देखि ९९.७ प्रतिशतमा मोबाइल फोनबाट टाढिनुपर्ने वा स्मार्टफोन चलाउन नपाउँदाका कारण उत्पन्न भय (नो मोबाइल फोन फोबिया) को समस्या देखिएको थियो ।

पिउ रिसर्च सेन्टरले गत वर्ष १३ देखि १९ वर्षका १ हजारभन्दा धेरै विद्यार्थीमाझ गरेको सर्वेक्षणमा ४८ प्रतिशतभन्दा धेरै सहभागीले सामाजिक सञ्जालले आफ्नो उमेरका प्रयोगकर्तामा प्राय: नकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका थिए । कुल ११ प्रतिशत किशोरकिशोरीले चाहिँ सामाजिक सञ्जालले आफूहरूको जीवनमा सकारात्मक प्रभाव पारेको बताएका थिए । उनीहरूमध्ये ४५ प्रतिशतले सामाजिक सञ्जालमा अतिधेरै समय बिताउने गरेको र ४४ प्रतिशतले स्क्रिनटाइम घटाउन प्रयास गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, सन् २०२४ मा प्रकाशित ‘कम्प्युटर्स इन ह्युमन बिहेभियर रिपोर्ट’ का अनुसार नकारात्मक सूचनाहरू धेरै हेर्दा त्यसले आफू, समाज र समग्र मानव अस्तित्वमाथि नै निराशावादी विचार बढाउन भूमिका खेलिरहेको छ । अमेरिका र इरानका ८ सय विद्यार्थीहरूमाझ गरिएको सर्वेक्षणमा आधारित सो प्रतिवेदनले सामाजिक सञ्जालमा नकारात्मक भाष्यका सामग्रीहरू धेरै हेर्दा त्यसले एन्जाइटी (चिन्ता), एक्जिस्टेन्सियल क्राइसिस (अस्तित्व संकट), अविश्वास र मानवताविरोधी भावना बढाउन भूमिका खेल्ने देखिएको थियो । येल स्कुल अफ मेडिसिनकी मानसिक रोग विशेषज्ञ एम्बर चायल्डस्का अनुसार टिनएज पुस्तामा नैराश्य, डिप्रेसन र आत्महत्याको प्रयासका घटना उच्च दरमा बढिरहेको छ ।

सामाजिक सञ्जालमा लोकप्रिय कन्टेन्ट क्रिएटर पराक्रम राणा अनलाइन स्पेस आफ्ना लागि ठूलो अवसर भए पनि यसमा चुनौतीहरू रहेको बताउँछन् । ‘अनलाइनमा म आफ्ना विचार राख्छु तर मेरो विचार सबैलाई मन पर्छ भन्ने छैन,’ उनी भन्छन्, ‘मैले गरेका पोस्टहरूमा पनि टन्नै हेट कमेन्ट आउँछन् । भन्न खोजेको विषयलाई गलत अर्थ लगाइन्छ, ट्रोलिङ गरिन्छ । सुरु-सुरुमा मलाई यस्ता प्रतिक्रियाले धेरै असर गर्थ्यो, टाउकै दुख्थ्यो तर अहिले वास्ता गर्न छोडेँ ।’

भिडियो सेयरिङ प्लाटफर्म, टिकटकको डिजिटल सेफ्टी एम्बासडरसमेत रहेका पराक्रमको अनुभवमा सोसल मिडिया प्लाटफर्महरू अभिव्यक्ति स्वतन्त्रता, आर्थिकोपार्जन र प्रचार-प्रसारका लागि असाध्यै प्रभावकारी माध्यम हुन् । तर, यस्ता प्लाटफर्ममा प्रयोगकर्ताहरू अनुशासित हुन नजान्दा र आपराधिक मानसिकताका भएका मानिसले यसको दुरुपयोग गर्दा समस्या निम्तिने गरेको छ । ‘हामीले हेर्दै आएको छौं, स्कुल पढ्ने बालबालिका नै भाइरल हुन खोज्छन्, उनीहरूलाई कसैले केही भनिदियो भने आत्मविश्वास गुमाउँछन्,’ उनले भने, ‘सोसल मिडिया बालबालिकाका लागि सही ठाउँ होइन । सिमित उमेरसम्म यसमा बालबालिकालाई प्रतिबन्ध नै लगाउनुपर्छ ।’

पराक्रमले सामाजिक सञ्जालमा पोस्ट गर्दा असाध्यै विचार पुर्‍याएर, र संयमित भएर कन्टेन्ट राख्ने बानी बसालेको बताए । ‘सोचेर मात्र पोस्ट गर्छु किनभने फलोअरप्रति मेरो दायित्व छ, गलत अर्थ लाग्ने वा गलत कामलाई प्रोत्साहन मिल्ने कन्टेन्ट बनाउनु भएन,’ उनले भने, ‘म मेरा पोस्टहरूमा चुरोट पिएको फोटो, भिडियोहरू राख्दिनँ । अरूलाई हानी हुने, कुनै लत लाग्ने किसिमका कन्टेन्ट बनाउदिनँ । यसो गरिरहँदा म मेरो जीवनशैलीलाई भने फिल्टर गर्दिनँ । क्लब जानु, रमाइलो गर्नु मेरो जीवनशैली हो, यसमा पनि कतिले आपत्ती जनाउँछन् । त्यसको चाहिँ वास्ता गर्दिनँ ।’

सामाजिक सञ्जालकै कारण कन्टेन्ट क्रिएसनलाई पूर्णकालीन रोजगारी बनाएर जीवन चलाउन सम्भव भएको उल्लेख गर्दै पराक्रमले सोसल मिडियाको सकारात्मक पक्षको पनि चर्चा गरे । स्क्रिनटाइम घटाउन आफूले निकै प्रयास गरिरहेको उनको भनाइ थियो । ‘डाक्टरले मलाई स्क्रिनमा धेरै नहेर्नु, आँखा सुक्खा भएको छ भनेका छन् तर मेरो काम नै कन्टेन्ट क्रिएसन भएकाले स्क्रिनटाइम घटाउन गाह्रो परेको छ,’ उनले भने, ‘तर, मेरै स-साना भाइबहिनी पनि असाध्यै धेरै मोबाइल चलाएर एटेन्सन डेफिसिट डिर्सअर्डर, डिप्रेसनको समस्या भोगेको देख्दा नराम्रो लाग्छ । बच्चाहरूलाई किन त्यति धेरै स्क्रिनटाइम दिएको होला भन्ने लाग्छ !’

किशोरकिशोरीहरूले सामाजिक सञ्जालबाट फाइदा लिन खोजे पनि सुरक्षाको सवालमा सजगता आवश्यक रहेको विज्ञहरू औँल्याउँछन् । नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थी किशोरकिशोरीहरूलाई लक्षित गरेर विशेषतः अनलाइन ‘ग्रुमिङ’, ‘साइबर बुलिङ’, ‘अनलाइन इन्टिमेट पार्टनर भायलेन्स’, फेक अकाउन्ट बनाएर ठगी गर्ने र ब्ल्याकमेल गर्नेजस्ता साइबर अपराधका घटनाहरू पनि पछिल्लो समय बढेको बताउँछन् । ‘किशोरकिशोरीहरूको जिज्ञासु र संवेदनशील स्वभावलाई लक्षित गरेर साइबर अपराधीहरूले फाइदा उठाउने गरेका छन्,’ उनले भने, ‘त्यसैले सञ्जाल प्रयोग गर्दा सतर्कता अनिवार्य छ ।’

केही समयअघि मात्रै स्न्यापच्याटमार्फत एक नाबालिकालाई फकाइफुल्याई, मानसिक रूपमा प्रभावित गर्दै अश्लील क्रियाकलापमा संलग्न गराएको आरोपमा साइबर ब्युरोले काठमाडौं, बनस्थलीका २० वर्षीय आयुष कुँवरलाई पक्राउ गरेको थियो । पीडित नाबालिकाले आफ्नो अभिभावकलाई उक्त घटनाबारे जानकारी दिएपछि ब्युरोमा उजुरी दर्ता भएको थियो ।अनुसन्धानका क्रममा कुँवरले स्न्यापच्याट प्रयोग गरेर नाबालिकालाई अनलाइनमै अश्लील गतिविधि गर्न बाध्य पारी ती दृश्यहरू स्क्रिन रेकर्ड गरी राखेको प्रमाण फेला परेको ब्युरोले जनाएको छ ।

‘उक्त प्रकरणमा प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्दा आयुष कुँवरको संलग्नता पुष्टि भएको हो,’ ब्युरोले जारी विज्ञप्तिमा उल्लेख छ । घटनापछि उनलाई स्वयम्भूबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको थियो । प्रवक्ता अवस्थीका अनुसार बाल यौन दुर्व्यवहारसम्बन्धी यस्ता घटनाको उजुरी कम मात्रै आउँछन् ।

‘यसको अर्थ घटनाहरू कम भएका होइनन्, उजुरी मात्रै कम भएको हो,’ उनले भने, ‘यस्ता प्रकृतिका घटनामा अधिकांश समय परिवारका सदस्य, आफन्त, छिमेकी वा घरकै व्यक्ति संलग्न हुने भएकाले उजुरी गर्न पीडित वा उनका परिवारहरू हिच्किचाउने गर्छन् । रिपोर्टिङ नहुँदा अवस्था अझ गम्भीर बन्छ ।’

ब्युरोलाई नेसनल सेन्टर फर मिसिङ एन्ड एक्स्प्लोइटेड चिल्ड्रेनको साइबर टिपलाइनमा पहुँच दिइएकाले त्यहाँ दर्ता भएका उजुरीहरू पनि ब्युरोले हेर्ने गरेको छ । बाल यौन दुराचारसम्बन्धी घटनामा प्रहरीले तुरुन्तै कारबाही थाल्ने उनले बताए । यस्ता विषयमा सामाजिक सञ्जाल प्लाटफर्महरूले पनि अलि बढी सतर्कता अपनाउने र साइबर ब्युरोलगायत नियामकले गरेका अनुरोधमा तुरुन्तै सहजीकरण गर्ने गरेको प्रहरी अधिकारीहरूको अनुभव छ । त्यसकारण, यस्ता घटनाको अनुसन्धान र पिडक पत्ता लगाउन तुलनात्मक रूपमा सजिलो हुने भएकाले प्रहरीकहाँ उजुरी गर्न पनि उनीहरूले अनुरोध गर्ने गरेका छन् । बाल यौन दुर्व्यवहारका क्रियाकलाप प्रवर्द्धन गर्ने पोस्टहरू देखिएमा प्रयोगकर्ता आफैंले पनि प्लाटफर्ममा रिपोर्ट गर्न सक्छन् ।

किशोरकिशोरीहरूमाझ लोकप्रिय भिडियो सेयरिङ प्लाटफर्म टिकटकले हालै मात्र अभिभावकहरूलाई आफ्ना बालबालिका वा किशोरकिशोरीहरूको अनलाइन अनुभव व्यवस्थापन गर्न सहयोग पुर्‍याउने भन्दै फ्यामिली पेयरिङ फिचर सार्वजनिक गरेको छ । यसबाट टिकटकमा बालबालिकाका लागि दैनिक समय सीमा तय गर्न, कन्टेन्ट र किवर्डहरू फिल्टर गर्न र हानिकारक कन्टेन्ट रोक्न सक्ने गरी युजर रिपोर्टिङ विकल्पहरू समावेश गरिएको कम्पनीले जनाएको छ । यसले डुमस्क्रोलिङजस्ता नकारात्मक प्रभावहरू न्यूनीकरणसँगै अभिभावकहरूले आफ्ना टिनएज छोराछोरीहरूका लागि सन्तुलित र सुरक्षित अनलाइन वातावरण बनाउन यी उपलब्ध टुल प्रयोग गर्ने कम्पनीको दाबी छ ।

भ्वाइस अफ चिल्ड्रेनले बालबालिकामाथि अनलाइनबाट हुने यौन दुर्व्यवहारका विषयमा गत वर्ष सार्वजनिक गरेको अध्ययन प्रतिवेदनका अनुसार इन्टरनेटको पहुँचमा रहेका नेपालका अधिकांश बालबालिका दुर्व्यवहारमा पर्ने गरेका छन् । सर्वेक्षणमा सहभागी किशोरीमध्ये ३८.६० प्रतिशतले सेडक्टिभ (अश्लील) कल वा च्याट प्राप्त गरेको बताएका थिए भने ३४ प्रतिशतले नग्न तस्बिर प्राप्त गरेका थिए । त्यस्तै, १३.६० प्रतिशत किशोरीलाई सेडक्टिभ तस्बिर, लिंक, भिडियो वा इमोजी सेयर गर्न अनुरोध गरिएको थियो ।

बालबालिका तथा किशोर-किशोरीको अनलाइन सुरक्षा र डिजिटल साक्षरताका लागि काम गर्दै आएको गैरसरकारी संस्था ‘चाइल्ड सेफ नेट नेपाल’ का अध्यक्ष अनिल रघुवंशीका अनुसार कुनै बालबालिका अनलाइन हिंसाको सिकार बनेका छन् भने उनीहरूको व्यवहारमा परिवर्तन देखिन थाल्छ। पहिले सँगै बसेर मोबाइल चलाउने बच्चा एक्लिएर चलाउन थाल्छ, नोटिफिकेसन आउँदा मोबाइल लिएर कोठाबाट बाहिर जान्छ वा नयाँ साथीका कुरा गर्न थाल्छ । यस्ता व्यवहारलाई अभिभावकले गम्भीर रूपमा लिनुपर्ने उनले औँल्याए ।

‘अचानक सामाजिक सञ्जाल बन्द वा डिएक्टिभेट गर्‍यो, एक्लै बस्न खोज्यो भने त्यसको पछाडि हिंसाको सम्भावना हुन सक्छ,’ रघुवंशीले भने, ‘यस्तो अवस्थामा अभिभावक सतर्क भएर बालबालिकालाई गाली नगरी सहयोग र समर्थन गर्नुपर्छ ।’ कान्तिपुुर

Loading poll ...
Share on Social Media