भदौ २३ गते,काठमाडौँ — गएका केही दिनमा सामाजिक सञ्जाल निष्क्रिय भएकै सन्दर्भमा नेपाली युवा समुदायमाझ एउटा नयाँ पदावली ‘नेपो बेबी’ चर्चित बन्यो । नातावाद र आफ्ना मान्छेका लागि अनावश्यक लाभ दिने प्रवृत्ति बुझाउने अंग्रेजी शब्द ‘नेपोटिजम’ नै ‘नेपो बेबी’ अभियानको आधार हो ।
राजनीतिक नेता र प्रभावशाली व्यक्तिका छोराछोरीले विभिन्न लाभ, अवसर र नियुक्ति पाउनुका साथै अभिभावकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्तिले विलासी जीवन बिताएको आरोप लगाउँदै ‘नेपो किड’ र ‘नेपो बेबी’ विरुद्धको आन्दोलन विभिन्न देशमा फरक–फरक स्वरूपमा प्रकट भएका छन् । यो आन्दोलन विशेषगरी सामाजिक असमानता, अवसरको अभाव र पारिवारिक पहुँचले व्यक्तिलाई दिने विशिष्ट लाभको विरोध हो ।
युवा पुस्ताले यो आन्दोलनको नेतृत्व गर्दै आएका छन्, अहिले पनि जेन–जी पुस्ता यसविरुद्ध लागेको छ । राजनीतिमा पारिवारिक विरासत मजबुत रहेका दक्षिणपूर्वी एसियाली देशमा ‘नेपो बेबी’ अभियानमार्फत खबरदारी गर्ने क्रम बढेको छ भने त्यसको प्रभाव अन्य देशमा फैलिँदो छ ।
अमेरिका
सन् २०१० देखि नै यहाँ ‘नेपोटिजम बेबी’ भन्ने शब्द लोकप्रिय थियो । न्युयोर्क म्यागजिनले सन् २०२२ लाई ‘इयर अफ द नेपो बेबी’ घोषणा गर्दै विशेषांक नै निकालेपछि यो विषय व्यापक बन्यो । अमेरिकामा राजनीतिसँगै विशेषगरी फिल्म र मनोरञ्जन क्षेत्रका व्यक्तिप्रति यो आन्दोलन लक्षित छ । फिल्म निर्माता जुड अपाटो र अभिनेत्री लेस्ली म्यानकी छोरी माउड अपाटो, अभिनेता एवं रेस्लर ड्वेनी जनसन (रक) र मेलानी ग्रिफिथकी छोरी डकोटा जन्सन, अभिनेता जनी डेप र भेनेसा पारडिसकी छोरी लिली–रोज डेपजस्ता सेलेब्रिटीलाई ‘नेपो बेबी’ भन्ने गरिएको छ ।
उनीहरूले आफ्नो मिहिनेत वा योग्यता नभई अभिभावकको प्रभावकै कारण अवसर पाएको भन्दै आलोचना गर्ने गरिन्छ । जर्ज बुसका छोरा जर्ज डब्लू बुस, बिल र हिलारी क्लिन्टनकी छोरी चेल्सी, जो बाइडेनका छोरा हन्टर, डोनाल्ड ट्रम्पकी छोरी इभान्कालगायत पनि आलोचनाको केन्द्रमा पर्ने गरेका छन् । यस्तो आरोप लागेका मध्ये केहीले ‘नेपो बेबी’ लेखेको टिसर्ट नै लगाएर स्वीकार गरेका छन् भने केहीले चाहिँ सम्बन्धले अवसरको ढोका खोले पनि टिक्न त सीप नै चाहिने धारणा राख्दै आएका छन् ।
इन्डोनेसिया
इन्डोनेसियामा ‘नेपो बेबी’ आन्दोलनको सुरुवात सन् २०२३ को अक्टोबरदेखि भएको हो । त्यो बेला राष्ट्रपति जोको विडोडोका छोरा गिब्रान राखाबुमिङलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएपछि विवाद उत्पन्न भयो । गिब्रानसँग पर्याप्त राजनीतिक अनुभव नभएको भन्दै उनको उम्मेदवारीलाई शक्तिको दुरुपयोग र परिवारवादको उदाहरण भनेर आलोचना गरियो । क्रमशः अन्य नेताका छोराछोरीको जीवनशैली पनि सामाजिक सञ्जालमा सार्वजनिक गर्न थालियो, विश्वविद्यालयहरूमा प्रदर्शन भए । गिब्रानले चुनाव जिते पनि यसले इन्डोनेसियामा परिवारवाद र लोकतन्त्रबारे बहस सिर्जना गराएको छ र अहिले पनि उनको वैधतासम्बन्धी कानुनी चुनौती कायम छन् ।
गत अगस्टमा इन्डोनेसियामा पुनः ‘नेपो बेबी’ विरुद्ध आवाज उठ्यो । त्यहाँको सदनले सांसदलाई मासिक ३ हजार अमेरिकी डलर बराबरको आवास भत्ता दिने निर्णय गरेपछि युवा आक्रोशित बने । यो रकम न्यूनतम पारिश्रमिकभन्दा १० गुणा बढी भत्ता तोकिएपछि युवाले जकार्तास्थित संसद् भवनसामु धर्ना दिए । त्यही बेला प्रहरीको गाडीले किचेर अफ्फान कुर्नियावान नामक डेलिभरी ब्वाई (मोटरसाइकल चालक) को निधन भएपछि आन्दोलन हिंसात्मक बन्यो ।
प्रदर्शनकारीले ‘सांसदहरू विलासी जीवन बिताउँछन्, हामी सडकमा किचिएर मर्छौं’ भन्दै सरकारको आलोचना गरे । राष्ट्रपति प्राबोवो सुबिआन्तोले अगस्ट ३१ मा सांसदहरूको भत्ता खारेज गर्ने घोषणा गरे । प्रहरीका ७ अधिकारीमाथि अनुसन्धान भयो, कसमस काजु गेई नामक प्रहरीलाई अनुशासनहीन व्यवहारका कारण पदबाट हटाइयो ।
फिलिपिन्स
यहाँ पनि ‘नेपो किड’ को आन्दोलन राजनीतिक परिवारविरुद्ध नै लक्षित छ । विशेषगरी पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड ‘बङबङ’ मार्कोस जुनियर र मार्कोस परिवारका अन्य सदस्यले नातावादका कारण राजनीतिक लाभ पाएको आरोप लगाइन्छ । खासगरी, इन्डोनेसियामा चलेको ‘नेपो बेबी’ अभियानको प्रभाव फिलिपिन्समा पनि देखियो ।
नेताका छोराछोरीले पोस्ट गरेका महँगो गाडी, विदेश यात्रा, ब्रान्डेड सामानका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरिएको छ । गत अगस्टमा मात्रै बाढी नियन्त्रणका लागि छुट्याइएको रकम नेता र ठेकेदारले मिलेमतोमा दुरुपयोग गरेको खुलासा भएसँगै यसले आन्दोलनलाई जनस्तरमा पुर्यायो । सामाजिक सञ्जालमा सुरु भएको आन्दोलन सडकसम्मै पुग्यो । युवाले संसद् भवन अगाडि र अन्य स्थानमा प्रदर्शन गरे ।
थाइल्यान्ड
सन् २०२४ को प्रारम्भदेखि यहाँ ‘नेपो बेबी’ सम्बन्धी बहस र आन्दोलन सुरु भएको हो । गत वर्षको फेब्रुअरीमा नेसनल डिफेन्स कलेजले सुरु गरेको ‘मिनी एनडीसी’ नामक नयाँ कोर्समा नेता, सामाजिक सञ्जालका इन्फ्लुएन्सर र व्यापारिक घरानाका सदस्यलाई प्राथमिकता दिइएको भन्दै आलोचना भएको थियो । त्यही बेला पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेइटोङटार्न सिनावात्रा प्रधानमन्त्री बनिन् । लगत्तै टिकटक, रेडिट र ट्वीटर (एक्स) मा ‘ह्यास ट्याग नेपो बेबी थाइल्यान्ड’ ट्रेन्ड सुरु भएको द डिप्लोम्याटमा टिटा साङ्लीको समाचारमा उल्लेख छ ।
भारत
सन् २०२० मा अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा ‘नेपोटिजम’ (नातावाद) निकै ठूलो मुद्दा बन्यो । स्थापित कलाकार वा स्टारका सन्तानले पाएको फाइदाबारे व्यापक बहस सिर्जना गर्यो । निर्देशक महेश भट्टकी छोरी आलिया भट्ट र कलाकार ऋषि कपूर र नीतु सिंहका छोरा रणवीर कपूर, चंकी पाण्डेकी छोरी अनन्याजस्ता बलिउड स्टार नातावादले उदाएको आरोप लाग्ने गरेको छ । अभिनेत्री कंगना रनौतले निर्माता करण जोहरलाई ‘नातावादको प्रमुख अगुवा तिमी हौ’ भनेपछि बहस चर्किएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘वि वान्ट ट्यालेन्ट, नट लाइनएज’ (हामी प्रतिभा चाहन्छौं, वंशावली होइन) भन्दै कटाक्ष गरे ।
त्यस्तै, सन् २०२४ को लोकसभा चुनावमा कंग्रेस र भाजपा दुवै दलले परिवारवादी उम्मेदवारलाई प्राथमिकता दिएको आरोप लाग्यो । हिन्दुस्तान टाइम्सको विश्लेषणअनुसार कुनै पनि दल ‘नेपो बेबी’ बाट मुक्त छैनन् । राहुल गान्धी, अखिलेश यादव, तेजस्वी यादव, सुप्रिया सुले, ज्योतिरादित्य सिन्दियाजस्ता नेताहरूको नाम उठाउने गरिएको छ । ट्विटर र युट्युबमा ‘पोलिटिकल नेपो बेबी’ ट्रेन्ड चल्यो ।
बंगलादेश
यहाँ ‘नेपो बेबी’ विरुद्ध मुखरित हुने क्रम सन् २०२४ को मध्यतिर देखिएको थियो । प्रधानमन्त्रीका रूपमा शेख हसिना पदच्युत भएपछि हेरिडिट्री डेमोक्रेसी र नेपोटिजमको प्रभावबारे प्रश्न उठाइएको थियो । शेख हसिना बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी छोरी हुन् । उनको नेतृत्वको अवामी लिग पार्टीले लामो समय शासन गर्यो । उनी सन् २००९ देखि निरन्तर रूपमा पदमा रहेकी थिइन् ।
त्यसअघि पनि बंगलादेशमा लोकतान्त्रिक शासन पुनःस्थापनापछि सन् १९९६ देखि २००१ सम्म उनी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । उनको लामो शासनकालप्रति टिप्पणी गर्दै युवाले लोकतन्त्रमा वंशगत नेतृत्वले योग्यता र प्रतिस्पर्धालाई दबाउने धारणा राखे । नेताका सन्तानहरूको जीवनशैली, पद प्राप्ति र निर्णय क्षमतामाथि प्रश्न उठाइयो ।
कम्बोडिया
विश्वव्यापी राजनीतिक जोखिम विश्लेषणका लागि प्रख्यात जिजिरो मिडियामा प्रकाशित ‘नेपो बेबी हुन मानेत टु रुल कम्बोडिया’ शीर्षकको समाचारअनुसार मानेतले आफ्ना बुबा हुन सेनको विरासतका कारण प्रधानमन्त्री पद पाएका थिए । यो पद उनको आफ्नै योग्यताले भन्दा पनि वंशवादले गर्दा मिलेको भन्ने कुरामा जोड दिइएको छ । सन् २०२३ को जुलाईमा भएको संसदीय चुनावमा कम्बोडियन पिपल्स पार्टीले सबै १२५ सिट जितेपछि प्रधानमन्त्री हुन सेनले राजीनामा दिएर छोरालाई प्रधानमन्त्री बनाउने घोषणा गरेका थिए । बुबा सेनले ४० वर्ष शासन गरेका थिए । चुनावमा विपक्षी पार्टीहरू प्रतिबन्धित थिए ।
क्यानडा
क्यानडामा ‘नेपो बेबी’ सम्बन्धी आन्दोलन राजनीति, मिडिया र सामाजिक सञ्जालमा गहिरो बहसका रूपमा देखिएको छ । अन्य देशमा झैं यसविरुद्ध सडकमै उत्रिएर प्रदर्शनी भने भएको छैन । युनिभर्सिटी कलेज लन्डनअन्तर्गतको यूसीएल डिप्लोमेसी रिभ्युमा सन् २०२३ को अप्रिलमा तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ‘क्यानडाका प्यारिस हिल्टन’ वा ‘नेपो बेबी’ भनेर व्यंग्यात्मक चित्रण गरिएको थियो । चर्चित हिल्टन होटलका संस्थापक कनराड हिल्टनकी नातिनी, व्यवसायी रिचार्ड हिल्टन र अभिनेत्री क्याथी हिल्टनकी छोरी प्यारिसलाई धेरैले ‘अरिजिनल नेपो बेबी’ मान्ने गरेका छन् । उनले हिल्टन परिवारको नाम र सम्पत्तिका आधारमा अवसर पाएको आरोप लगाइन्छ ।
नेपाल
यहाँ हालै मात्र ‘नेपो बेबी’ अभियान सुरु भएको छ । यो आन्दोलनले राजनीतिक परिवारवाद, करको दुरुपयोग र नेताका सन्तानहरूको विलासी जीवनशैलीमाथि प्रश्न उठाएको छ । सामाजिक सञ्जालमा सुरु भयो यो आन्दोलन । अब सडकमा पुग्ने युवाहरूले घोषणा गरेका छन् । इन्डोनेसिया र फिलिपिन्सका आन्दोलनको प्रभाव यहाँसम्म आइपुगेको छ । नेताका छोराछोरीको विलासी जीवन र लवाइ–खवाइ देखाउने भिडियोहरू टिकटक, डिस्कर्ड, रेडिट, इन्स्टाग्राममा पोस्ट गर्दै कुरीकुरी गरिएका छन् ।
यसैबीच सरकारले २६ वटा सामाजिक सञ्जाल प्लाटफर्म बन्द गर्ने निर्णय गरेपछि युवाको आक्रोश चुलिएको छ । रेडिट, डिस्कर्डजस्ता जेन–जी पुस्ताले प्रयोग गर्ने प्लाटफर्म निष्क्रिय बनाएर सरकारले यो अभियान दबाउन खोजेको आशंका छ । युवाले भने सोमबार नयाँ बानेश्वरको संसद् भवन अगाडि र माइतीघरमा प्रदर्शनको आह्वान गरेका छन् ।
०००
मानिसले सामाजिक सञ्जालमा ‘नेपो बेबी’ का बारेमा कुरा गर्न थालेपछि अमेरिका, भारतलगायत देशमा फिल्म निर्माता, निर्देशक तथा कम्पनीहरूमाथि दबाब बढेको छ । यसले उनीहरूलाई नयाँ प्रतिभा खोज्ने र अवसर दिन प्रेरित गरेको छ । अभिनेता स्टेफन बाल्डविनकी छोरी, अमेरिकी मोडल हाइली बाइबरजस्ता केही ‘नेपो बेबी’ हरू स्वयंले यस अभियानको समर्थन गर्दै आफूले पाएका अवसरहरूमा आफ्ना अभिभावकको भूमिका रहेको स्वीकार गरेका छन् । केहीले भने आफूले पनि धेरै मिहिनेत गरेको र यो आरोप गलत भएको प्रतिक्रिया दिएका छन् ।
सन् २०२० मा एक राउन्डटेबल अन्तर्वार्तामा अनन्या पाण्डेले कडा संघर्षको कुरा गरेपछि त्यही अन्तर्वार्तामा रहेका सिद्धार्थ चतुर्वेदीले उनलाई व्यंग्य गर्दै भनेका थिए, ‘जहाँ हाम्रो सपना पूरा हुन्छ, त्यहाँ उनको संघर्ष सुरु हुन्छ ।’ सिद्धार्थले बलिउडमा आफ्नो कोही नातेदार, इस्टमित्र नहुने कलाकारको आवाज बोलेको भन्दै प्रशंसा पनि भयो । ‘नेपो किड’ विरुद्धको अभियानले राजनीतिक दलहरूभित्र भइरहेको वंशवादबारे जनतामा चेतना बढाउनुका साथै अनियमितता, भ्रष्टाचार, करको दुरुपयोगजस्ता विषयमा प्रश्न गर्ने चलन बढाएको छ ।–कान्तिपुर