पुस ६ गते,काठमाडौं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु यसै महिना (डिसेम्बर २९) मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न अमेरिका जाँदै छन् ।
उनी इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रम विस्तार र त्यसबाट उत्पन्न खतरासँग जुध्न आक्रमण आवश्यक पर्नेबारे जानकारी दिने तयारीमा रहेको एनबीसी न्युजले जनाएको छ । यसको अर्थ, इजरायल फेरि इरानमाथि आक्रमणको योजना बनाउँदै छ भन्ने संकेतका रूपमा लिइएको छ ।
नेतन्याहु इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर चिन्तित रहेको बताइएको छ । अघिल्लो युद्धमा इजरायलले इरानका ब्यालेस्टिक मिसाइलका कारण ठूलो क्षति व्यहोरेको थियो । ती मिसाइलले इजरायलको आइरन डोमजस्ता रक्षा प्रणालीबारे गरिँदै आएका दाबीलाई कमजोर बनाइदिएको थियो ।
इरानले आफ्नो ब्यालेस्टिक मिसाइल उत्पादन तीव्र गतिमा बढाउँदै गएको विषयले इजरायली अधिकारीमा गम्भीर चिन्ता बढाएको एनबीसीले जनाएको छ । नेतन्याहु यस विषयमा ट्रम्पको ध्यानाकर्षण गराउँदै इरानमाथि फेरि आक्रमणका लागि समर्थन खोज्न चाहेको बताइएको छ ।
यो घटनाक्रम यसै वर्षको सुरुमा इरान र इजरायलबीच करिब दुई हप्तासम्म चलेको युद्धको केही महिनापछि आएको हो । सो युद्धका क्रममा इजरायलले इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई केही हदसम्म क्षति पुर्याएको थियो । यद्यपि, इरानका ब्यालेस्टिक मिसाइल इजरायलका एडभान्स्ड एयर डिफेन्स सिस्टम आइरन डोम, डेभिड्स स्लिङ र एरोविरुद्ध प्रभावकारी साबित भएका थिए ।
गत जुन महिनामा भएको इरान–इजरायल युद्धका क्रममा अमेरिकाले बमबारी गरेर नष्ट पारेका आफ्ना आणविक स्थलको इरानले पुनर्निर्माण गरिरहेको विषयले पनि इजरायली अधिकारीहरूलाई चिन्तित बनाएको एनबीसीले उल्लेख गरेको छ ।
यद्यपि, इजरायली अधिकारीका लागि अझ बढी चिन्ताको विषय, इरानले आफ्ना क्षतिग्रस्त ब्यालेस्टिक मिसाइल उत्पादन केन्द्र पुनर्निर्माण गर्नु र हवाई रक्षा प्रणालीको मर्मत कार्य तीव्र बनाउनु रहेको स्रोतहरूले बताएका छन् ।
इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रम के हो ?
इरानसँग मध्यपूर्वकै सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइल भण्डार रहेको मानिन्छ, जसमा सन् २०२५ सम्म अनुमानित तीन हजारभन्दा बढी मिसाइल छन् । यो कार्यक्रम मुख्य रूपमा इस्लामिक रिभोल्युसनरी गाड्र्स कोप्र्स (आईआरजीसी)को एरोस्पेस फोर्सद्वारा सञ्चालन गरिन्छ । साथै, यो इजरायल तथा अमेरिकाजस्ता क्षेत्रीय प्रतिद्वन्द्वीविरुद्ध मुख्य प्रतिरक्षा क्षमताका रूपमा प्रयोग हुँदै आएको छ।
यसमा छोटो दूरीका (३००–१,००० किमि) र मध्यम दूरीका ब्यालेस्टिक मिसाइल (१,०००–३,००० किमि) समावेश छन् । यीमध्ये धेरै आणविक वारहेड बोक्न सक्षम मानिन्छन् । इरानले सटीकता, गतिशीलता (रोड–मोबाइल लन्चर) र भूमिगत संरचनामा उल्लेखनीय सुधार गरेको छ ।
इरान–इजरायल युद्धमा के भएको थियो ?
जुन २०२५ मा भएको १२–दिवसीय युद्धका क्रममा इरानले इजरायलमाथि ५३० ब्यालेस्टिक मिसाइल र एक हजारभन्दा बढी ड्रोन प्रहार गरेको थियो । इजरायलको मल्टीलेयर्ड डिफेन्स प्रणाली (आइरन डोम, डेभिड्स स्लिङ, एरो) र अमेरिकी सहयोगका बाबजुद केही मिसाइलहरू रक्षा प्रणाली छलेर लक्ष्यमा पुगेका थिए ।
रिपोर्टअनुसार, करिब पाँच सय मिसाइलमध्ये ६ प्रतिशत आवासीय क्षेत्रमा खसेका थिए, जसका कारण मानवीय क्षति भयो । आईडीएफका तथ्यांकअनुसार २८ जनाको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए । इरानी मिसाइलहरूले साना ब्यारेजमार्फत इजरायली इन्टरसेप्सन प्रणालीका कमजोरी उजागर गरे । फतह–२ जस्ता उन्नत मिसाइलले विशेष रूपमा इजरायलको एरो प्रणालीलाई चुनौती दिए र केही अवस्थामा सफलतापूर्वक रक्षा प्रणाली भेदन गर्न सफल भए ।
अमेरिकाको हस्तक्षेपपछि युद्ध रोकिएको थियो। त्यसपछि इरानले क्षतिग्रस्त संरचनाको तीव्र पुनर्निर्माणलाई प्राथमिकता दियो । प्रतिबन्धका बाबजुद चीनबाट सामग्री आयात गर्दै तयारी तीव्र बनायो । डिसेम्बर २०२५ सम्म इरानले आफ्नो मध्यम दूरीका (हेभी) मिसाइल स्टक २,००० सम्म पुनस्र्थापना गरेको, कारखानाहरू २४ घण्टा सञ्चालनमा रहेको र एकैपटक दुई हजार मिसाइल प्रहार गर्न सक्ने ‘सल्भो क्षमता’ विकास गर्ने लक्ष्य राखेको बताइएको छ । फतह–२ को प्रयोग र विकास इरानको रणनीतिक केन्द्रमा रहेको उल्लेख गरिएको छ ।