२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

इरानको कडा चेतावनी

इरानको कडा चेतावनी

पुस २३ गते,काठमाडौँ-संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा भइरहेका सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको पृष्ठभूमिमा इरानका सैन्य प्रमुखले बुधबार कडा चेतावनी दिएका छन् । उनले इरान बाहिरी शक्तिको दबाब र धम्की सहेर चुप लागेर नबस्ने स्पष्ट सन्देश दिएका हुन् ।

फार्स समाचार एजेन्सीका अनुसार इरानी सेनाका कमान्डर जनरल अमिर हातमीले इस्लामिक गणतन्त्र इरानले इरानी राष्ट्रविरुद्ध भइरहेको शत्रुतापूर्ण बयानबाजीको बढ्दो प्रवृत्तिलाई गम्भीर खतरा ठान्ने बताउनुभयो । उहाँले भन्नुभयो, “इरानले यस्ता धम्की र शत्रुतापूर्ण अभिव्यक्तिलाई प्रतिक्रिया नदिई निरन्तर सहन सक्दैन ।”

इरानी सेनाका वरिष्ठ कमान्डर भए पनि सबैभन्दा उच्च राजनीतिक अधिकारी नभएका जनरल हातमीले चेतावनी दिँदै यदि ‘शत्रुले कुनै गल्ती गरे’ भने इरानको प्रतिक्रिया गत जुनमा इजरायलसँग भएको १२ दिने युद्धको तुलनामा अझै कडा र शक्तिशाली हुने चेतावनी दिनुभयो । हालैका दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारी मारिएमा संयुक्त राज्य अमेरिकाले हस्तक्षेप गर्ने धम्की दिनुभएको थियो । 

उता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमा भइरहेको विरोध प्रदर्शनप्रति समर्थन व्यक्त गर्नु भएको छ । गत डिसेम्बर २८ मा तेहरानका व्यापारीले बढ्दो महँगी र इरानी मुद्रा रियालको तीव्र अवमूल्यनको विरोधमा प्रदर्शन गरेका थिए । त्यसपछि देशका अन्य धेरै सहरमा पनि यस्तै खालका प्रदर्शन फैलिएका थिए, जसमा केही घटना घातकसमेत भएका छन् ।

विवादित निर्वाचनपछि सन् २००९ मा भएको व्यापक सडक आन्दोलन बाहेक, हालका प्रदर्शन सन् २०२२ देखि २०२३ सम्म चलेको आन्दोलनको स्तरसम्म भने पुग्न सकेका छैनन् । तथापि, आर्थिक कारणले सुरु भएका यी विरोध प्रदर्शनले इस्लामिक गणतन्त्र इरानका अन्तर्राष्ट्रिय विरोधी राष्ट्र र तिनका नेताको विशेष ध्यान आकर्षित गरेका छन् ।

आइतबार पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभएको थियो, “हामी यसलाई धेरै नजिकबाट हेरिरहेका छौँ । यदि उनीहरूले विगतमा जस्तै मानिसलाई मार्न थाले भने, मलाई लाग्छ उनीहरूले संयुक्त राज्य अमेरिकाबाट निकै गम्भीर प्रतिक्रिया भोग्नु पर्ने छ ।” यसैबिच, प्रधानमन्त्री नेतान्याहुले इजरायली मन्त्रिपरिषद बैठकमा भन्नुभयो, “हामी इरानी जनताको सङ्घर्षसँग, उनीहरूको स्वतन्त्रता र न्यायका लागि गरिएको आकांक्षासँग ऐक्यबद्ध छौँ ।”

सोमबार इरानी विदेश मन्त्रालयले राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नेतान्याहुले हिंसा भड्काउने प्रयास गरेको र इरानको राष्ट्रिय एकतालाई कमजोर पार्न खोजेको आरोप लगाएको थियो । गत जुन महिनामा इरानी सैन्य तथा आणविक संरचनामाथि भएको अभूतपूर्व इजरायली आक्रमणसँगै दुवै देशबिच युद्ध सुरु भएको थियो । सो क्रममा इरानका तीन प्रमुख आणविक स्थलमा आक्रमण गर्दै संयुक्त राज्य अमेरिकाले पनि केही समयका लागि सैन्य कारबाहीमा सहभागिता जनाएको थियो । रासस/एएफपी

Loading poll ...
Share on Social Media