२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

हवाई यात्रुको बिमा रकम अब १ लाख डलर

हवाई यात्रुको बिमा रकम अब १ लाख डलर

फागुन ३०,काठमाडौँ – सरकारले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपियाँभन्दा बढी रकम दिने व्यवस्थासहित हवाई यात्रुमैत्री कानुन निर्माण प्रक्रिया अघि बढाएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै हवाई यातायात सेवा सञ्चालन, संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक बनाउन फागुन दोस्रो साता प्रारम्भिक मस्यौदा मन्त्रीपरिषद्मा दर्ता गराएको थियो । 

आन्तरिक हवाई दुर्घटनाका यात्रुले पाउने क्षतिपूर्ति बढाउन तयार पारिएको विधेयकको मस्यौदालाई मन्त्रीपरिषद्ले स्वीकृत गरे सँगै अब कानुन र अर्थ मन्त्रालयको सहमतिसहितको मस्यौदामा थप अध्ययन र सैद्धान्तिक सहमतिसहित अन्तिम खाका बनाएर पुनः मन्त्रीपरिषद्मा पेस गर्नुपर्ने हुन्छ।

त्यसपछि पर्यटनमन्त्रीले संसद्मा दर्ता गराउने र संसद्मा छलफल भएर स्वीकृत भएपछि बन्ने ऐनले आन्तरिक उडानका यात्रुले पाउने बिमा रकम पाँच गुणाले बढ्ने छ । हाल आन्तरिक उडानका जहाज दुर्घटना भएर ज्यान गुमाउने यात्रुले २० हजार डलर बिमा रकम पाउँदै आएका छन् । विधेयकले ऐनको रूप धारण गरेपछि सम्बन्धित यात्रुका परिवारले बिमाबापत एक लाख डलर रकम पाउने छन् । 

समाचार ब्युरो

नेपाली मिडिया नेटवर्क 

Share on Social Media