चैत्र ६,काठमाडौँ -फागुनदेखि सुरु भएको डढेलो र आगलागीका घटना चैत्र लागेपछि एक्कासि बढेका छन् । घटना देशव्यापी रूपमा नै विस्तार भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र आगलागीका ५५ घटना भएका छन् । तिनमा परेर तीन जनाको ज्यान गएको र तीन जना घाइते भएका छन् । घटनामा चार करोड ८५ लाख रुपियाँ बराबरको आर्थिक क्षति भएको छ । हिउँद लागेसँगै आगलागी र डढेलासम्बन्धी विपत्का घटना बढ्ने भए पनि आवश्यक सावधानी अपनाउन नसक्दा बर्सेनि यसबाट हुने आर्थिक क्षतिको दर बढिरहेको छ ।
विगत १२ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने आगलागीकै कारणले ठुलो सङ्ख्यामा मानवीय र आर्थिक क्षति बेहोरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कमा यो समयमा २५ हजार २४० वटा आगलागी र डढेलोमा परेर एक हजार एक सयभन्दा बढीको अकालमै ज्यान गएको छ ।
मानवीय क्षति मात्रै नभएर औसतमा एक वर्षमा दुई अर्ब रुपियाँभन्दा बढीको आर्थिक क्षति आगलागीका कारण हुने गरेको छ । प्राधिकरणका डाटा अनुसार एक दशकको अवधिमा आगलागीबाट २६ अर्ब ७१ करोड ९५ लाख ६३ हजार ८३४ रुपियाँ बराबरको आर्थिक क्षति भएको देखिएको छ। केन्द्रको तथ्याङ्क अनुसार २०६८ सालदेखि २०८० चैत ४ गतेसम्मको अवधिमा तीन हजार ३२६ जना घाइते भएका छन् । एक दशकमा ३३ हजार १७५ परिवार आगलागीबाट प्रत्यक्ष प्रभावित बनेका छन् ।
फागुनयता जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरले १४ वटा जङ्गलमा आगो निभाएको जनाएको छ । उक्त कार्यालयका अनुसार ग्यास चुहिएर, विद्युत् ‘सर्ट’ भएर उपत्यकामा आगलागीका घटना हुने गरेको पाइएको छ । तर फागुन महिनामा भने खुला ठाउँमै आगो धेरै लागेको देखिन्छ । आगलागीबाट जोगिन घरधनीले नियमित रूपमा विद्युतीय वायरिङ मर्मतसम्भार गर्नुपर्ने देखिन्छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले यो वर्ष वनको डढेलो जोखिम उच्च हुने अनुमानका साथ रोकथामका लागि पनि तयारी रहनुपर्ने जनाएको छ । यो वर्ष हिउँदमा कम वर्षा भएका कारण वनका पातपतिङ्गर सुक्ने र आगलागीको जोखिम उच्च हुने भएकाले ध्यान पुर्याउन अनुरोध गरेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जमा दस दिनदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । लाङटाङ पदयात्रा मार्गको बम्बु क्षेत्रको जङ्गलमा आगलागी भएको हो । नेपाली सेनाले आगो निभाउने प्रयास गरिरहेको छ । जटिल भूबनोटका कारण आगो नियन्त्रणमा आउन सकेको छैन ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क