२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

रसियाका लागि श्रम स्वीकृति खुला

रसियाका लागि श्रम स्वीकृति खुला

काठमाडौँ, चैत १६ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया) मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय गरेको छ । 

युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियाबाट बिदामा आएका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय भएको वैदेशिक रोजगार विभागले विज्ञप्तिमार्फत जानकारी गराएको हो । विभागका अनुसार गत पुस १९ देखि रसियामा पठाउने श्रम स्वीकृति रोकिएकामा फागुन ९ गते पुनः श्रम स्वीकृति र चैत १६ गतेदेखि संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको छ । 

‘श्रम स्वीकृति रोकिएका कारण रसियामा विभिन्न पेसा व्यवसाय गरी नेपालमा बिदामा आएका श्रमिकको मागलाई सम्बोधन गरी नेपाल सरकार (सचिवस्तर) मिति २०८०/११/९ को निर्णयले पुनः श्रम स्वीकृति सुचारु गरिएको’ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

साथै रसियाको ब्लगोभेचेन्सेक सहरमा सिनोपी इन्जिनियरिङ रसिया एलएलसी कम्पनीमा श्रमिक पठाउने छनोट भई अन्तिम श्रम स्वीकृति लिन बाँकी रहेका श्रमिकको हकमा सचिवस्तरबाट फागुन १६ गते संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

रसियामा धेरै नेपाली युवा गैरकानुनी बाटोबाट पुगेर त्यहाँको सेनामा भर्ना भई मृत्यु भइरहेको र सम्पर्कविहीन भइरहेका बेला श्रम मन्त्रालयले फेरि औपचारिक रूपमा श्रमिक पठाउने निर्णयको विषयलाई लिएर आलोचनासमेत हुन थालेको छ ।

मन्त्रालयले पूर्वश्रममन्त्री शरत्सिंह भण्डारीकै समयमा फागुन ९ र १६ गते नै सो विषयमा निर्णय गरे पनि गोप्य रूपमा राखिएको सो निर्णयलाई वर्तमान श्रममन्त्री डोलप्रसाद अर्याल आएपछि मात्रै चैत १४ गते विभागको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । गोरखापत्र अनलाइन

Share on Social Media