२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

लगानी सम्मेलनमा अमेरिकी चेम्बर अफ कमर्स सहभागी हुने

लगानी सम्मेलनमा अमेरिकी चेम्बर अफ कमर्स सहभागी हुने

काठमाडौँ । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनसँग सोमबार मन्त्रालयमा भएको भेटघाटका क्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी दिनुभएको हो । लगानी सम्मेलन सफल पार्न आफूहरूका तर्फबाट सहयोग हुने उहाँको भनाइ थियो । 

भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजना पूर्वनिर्धारित समयमै सम्पन्न गर्नेबारे छलफल भएको छ ।

अर्थमन्त्री पुनले लगानी सम्मेलनका लागि राम्रो तयारी भइरहेको जनाउनुहुँदै लगानीमैत्री वातावरण निर्माणका लागि गरिनुपर्ने कानुनी र प्रक्रियागत सुधारको तयारी भइरहेको जानकारी दिनुभयो । “नेपालमा लगानीको राम्रो वातावरण बनिरहेकाले बढीभन्दा बढी अमेरिकी लगानीकर्ताको सहभागिताका लागि यहाँ र दूतावासबाट सहयोगको अपेक्षा गरेका छौँ,” राजदूत थम्प्सनसँग अर्थमन्त्री पुनले भन्नुभयो ।

नेपालमा लगानी वातावरण सुधारका लागि मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन कन्ट्री रेटिङ) को काम अघि बढेको जानकारी पनि मन्त्री पुनले राजदूत थम्प्सनलाई दिनुभयो । सरकारले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ गर्ने संस्था फिचमार्फत नेपालको क्रेडिट मूल्याङ्कन लागि प्रक्रिया अघि बढाएको छ । बेलायती सहयोग नियोगअन्तर्गतको ‘फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) ले नेपालको आग्रहमा कन्ट्री रेटिङ गर्दा लाग्ने सेवा शुल्क फिचलाई भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले कन्ट्री रेटिङ गर्ने घोषणा गरेको थियो ।

यस्तै, मन्त्री पुनले संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले सम्पत्ति शुद्धीकरण (मनी लान्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी विधेयक पारित गरिसकेकाले सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय छाता सङ्गठन ‘फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) को सम्भावित कालोसूचीमा पर्ने सम्भावना टरेको जानकारी पनि राजदूत थम्प्सनलाई दिनुभयो । सम्पत्ति शुद्धीकरणसम्बन्धी विभिन्न १९ वटा कानुनका व्यवस्था संशोधन गरिएको उक्त विधेयक हाल राष्ट्रपतिमार्फत प्रमाणीकरणको प्रक्रियामा छ । रासस 

Share on Social Media