२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

जर्मनीमा आइटी विशेषज्ञको अभाव सन् २०४० सम्ममा चौगुना हुनेछ : बिटकम

जर्मनीमा आइटी विशेषज्ञको अभाव सन् २०४० सम्ममा चौगुना हुनेछ : बिटकम

बर्लिन, चैत ३० गते । नीति निर्माताहरूले उचित प्रतिकार्य उपायहरू नगरे जर्मनीको सूचना प्रविधि (आइटी) क्षेत्रमा दक्ष कामदारको अभाव सन् २०४० सम्ममा चार गुणा बढेर छ लाख ६३ हजार पुग्ने उद्योग सङ्घ ‘बिटकम’ले (बिटकम जर्मनीको डिजिटल सङ्घ) बिहीबार चेतावनी दिएको छ ।

बिटकमका अनुसार पछिल्लो पाँच वर्षमा सूचना प्रविधि क्षेत्रमा दक्ष कामदारको अभाव उल्लेख्यरूपमा बढेको छ भने अघिल्लो वर्ष झण्डै एक लाख ४९ हजार रोजगारी रिक्त छ ।

यो सङ्ख्या पाँच वर्षअघिको तथ्याङ्कको तुलनामा झण्डै दोब्बरले बढेको छ र विद्यालय, प्रशासन र वैज्ञानिक संस्थासहित विभिन्न संस्थामा आइटी–केन्द्रित धेरै पद खाली छन् ।

बिटकमका अध्यक्ष राल्फ विन्टरगर्स्टले भन्नुभयो, “आइटी विशेषज्ञहरूको अभावले जर्मनीको डिजिटल भविष्यलाई खतरामा पार्न सक्छ ।”

उक्त सङ्घको प्रतिवेदनले सन् २०४० सम्ममा देशमा तीन लाख २१ हजार आइटी विज्ञहरूको परिपूर्ति गर्ने उद्देश्यले विदेशबाट दक्ष कामदारको भर्ती बढाउन सुझाव दिएको छ ।

जर्मनीमा बुढ्यौली समाजले गर्दा दक्ष कामदारको अभावलाई बढाएको छ र यो विभिन्न पेशामा फैलिएको छ । सन् २०२३ मा सरकारले विदेशबाट दक्ष कामदारहरूको भर्ती गर्न व्यापक उपायका साथ नयाँ कानुन पारित गर्यो । यसमा रोजगारी अध्यागमनका लागि कम तलब आवश्यकता, छिटो प्रक्रिया र प्रतिभाशाली र अनुभवी विशेषज्ञहरूका लागि श्रम बजारमा सजिलो पहुँच समावेश गरिएको छ ।

जर्मनीका श्रममन्त्री ह्युबर्टस हेलले भन्नुभयो, “देशलाई आफ्नो अर्थव्यवस्थामा पर्याप्त दक्ष कामदारहरू सुनिश्चित गर्न सम्भव भएसम्म मद्दत चाहिन्छ र यस्ता मानिसहरूको अभाव वृद्धिमा विराम बन्नुहुँदैन ।” रासस/सिन्ह्वा

Share on Social Media