२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

जसपा फुट्यो अशोक राईसहित सात सांसदद्वारा निर्वाचन आयोगमा निवेदन दर्ता

जसपा फुट्यो अशोक राईसहित सात सांसदद्वारा निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौँ, वैशाख २३ गते। जनता समाजवादी पार्टीका नेता अशोक राईसहित सात सांसदद्वारा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन पेस भएको छ। जसपा सांसद सुशीला श्रेष्ठले दल दर्ता पश्चात् थप कागजी प्रक्रियाका लागि आफूहरू आयोगमै रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामी निर्वाचन आयोगमै छौँ। भित्र दल दर्ता भइसक्यो। थप कागजी प्रक्रियाका लागि हामी पर्खेर बसेका छौँ। सनाखत गर्ने भनेर हामी त्यसतर्फ लागेका छौँ।” पार्टीभित्र यहाँहरूको असन्तुष्टि के हो भन्ने जिज्ञासामा उहाँले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई काम गर्न सहज बनाउन आफूहरूले सो कदम चाल्नुपरेको बताउनुभयो।

उहाँले भन्नुभयो, “हामी अहिले सात जना छौँ। पछि दुई, तीन जना थपिनुहुन्छ। पार्टीभित्र खासै असन्तुष्टि थिएन। अध्यक्षलाई पार्टी चलाउन पनि गाह्रो, उहाँलाई अलिकति सहज होस् भनेर, उहाँले चाहे अनुसारको काम गर्न अब फुका हुनुहुन्छ भन्ने हामीले ठानेका छौँ। हामीले अलिकति आन्तरिक लोकतन्त्र चाह्यौँ।”

उहाँले पार्टीभित्र निर्णय हुने तर कार्यान्वयन नहुने लगायतका समस्या रहेको बताउनुभयो। जसपाले महाधिवेशन गर्ने तयारी गरिरहे पनि यस्तो अवस्थामा महाधिवेशनले थप उत्साह दिन नसक्ने निष्कर्षमा आफूहरूको रहेको उहाँको भनाइ छ। गोरखापत्र अनलाइन

Share on Social Media