२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

वर्षायाम सुरुभए सँगै भोजपुर षडानन्द निबासीलाई अरुणनदी तर्ने चिन्ता

वर्षायाम सुरुभए सँगै भोजपुर षडानन्द निबासीलाई अरुणनदी तर्ने चिन्ता

भोजपुर, वैशाख २५ गते । उत्तरी क्षेत्रबाट भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा वैकल्पिक उपायको रुपमा फेरीको सहायताले सवारी तथा ढुवानी साधन तारिँदै आएको छ। वर्षायाम सुरु भएसँगै पानीको बहाव बढ्ने भएकाले करिब छ महिना फेरी बन्द हुने हुँदा यस क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बन्ने गरेको छ ।

वर्षायाम सुरुभए सँगै भोजपुर र संखुवासभा जोड्ने अरुण नदीको मोटरेबल फेरी सञ्चालन गर्न समस्या हुने हुँदा भोजपुर उत्तरी क्षेत्रका नागरिकले सास्ती खेप्नु पर्ने छ। विगत केही वर्षदेखि षडानन्द नगरपालिका र खाँदबारी जोड्ने एक मात्र वैकल्पिक माध्यम बनेको उक्त मोटरेबल फेरी वर्षायाममा सञ्चालन नहुने हुँदा यात्रुलाई आवतजावतमा समस्या हुने छ।

वर्षौंअघि ठेकेदार कम्पनीले अलपत्र पारेको लम्सुवाघाटको पुल नबन्दा सास्ती खेपिरहेका उत्तरी क्षेत्रका नागरिकलाई फेरी नचल्दा झन् हैरानी थपिनेगरेको छ। फेरी नचल्दा यात्रु, दर्जनौं यात्रुबाहक, मालबाहक सवारीसाधनहरू अलपत्र बन्ने छन्। वर्षायाम नसकिए सम्म नदी वारपार गर्न कठिनाइ उत्पन्न हुने छ। पुल कहिले बन्ने कुनै छाँटकाँट देखिन्न। व्यावसाय नै चलाउन गाह्रो हुने भो स्थानीय यातायात व्यवसायी भन्छन ।

दैनिक ५० भन्दा बढी यात्रु र मालसामान बोक्ने सवारीसाधनलाई फेरीबाटै नदी तारिने गरिएको छ। तर, वर्षा याममा फेरी सञ्चालनमा समस्या हुनेभएपछि थप मर्कामा पर्ने देखिन्छ ।

लम्सुवाघाटको पुल निर्माण हुन नसक्दा जोखिम मोलेरै नदी तर्नुपर्ने स्थानीयवासीको बाध्यता हटेको छैन। लम्सुवाघाटको पुल नहुँदा स्थानीयले कष्टकर पैदल हिँडेरै नदि वारपार गर्ने गरेका छन्। यस्तै नदीका केही क्षेत्रका स्थानीय नाउँबाटै नदी वारपार गर्नुपर्ने पनि बाध्यतामा छन्। हिउँद होस् या वर्षा, भोजपुरको उत्तरी भेगका बासिन्दालाई अरुण नदी तर्न समस्या छ। पुल नहुँदा अत्यावश्यक सामान लिन १५ किलोमिटर घुमाउरो बाटो हिँड्नुपर्ने र नाउँको भरमा नदी तर्नुपर्ने बाध्यता रहेको छ । ‘घण्टौं कष्टकर पैदल हिँडेर होस् या नाउँ चढेर जोखिमपूर्ण यात्रा गर्नैपर्छ। नत्र नदी पार गरिन्न, कामै हुन्न, यो हाम्रो रहर हैन, बाध्यता हो’, स्थानीयहरूले गुनासो सुनाए।

तत्कालीन उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले ०६७ सालमा पुल शिलान्यास गरेका थिए। तर, ठेकेदारको लापरबाहीले अलपत्र बन्दा षडानन्द नगरपालिका, साल्पासिलिचो गाउँपालिकालगायत उत्तरी भेगका ७० हजारभन्दा बढी जनसंख्या कष्टकर यात्रा गर्न बाध्य छन्।

लम्सुवाघाटको पक्की पुल निर्माण अलपत्र पार्ने ठेकेदार कम्पनीले काम नगरेपछि गत २०७९ पुसमा सडक डिभिजन कार्यालय तुम्लिङटारले पुलको ठेक्का तोडेको थियो। २०६७ सालमा स्वच्छन्द निर्माण सेवाले निर्माण कार्य सुरु गरे पनि विभिन्न बहनामा काम अलपत्र पारेको थियो। १४ करोड ७५ लाख ११ हजार रुपैयाँमा सम्झौता भएको उक्त पक्की पुलको ठेक्का रद्द गर्ने समय सम्ममा ४ करोड रुपैयाँ बढी खर्च भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको थियो।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Share on Social Media