२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

नीति तथा कार्यक्रममा खेलकुद : प्राथमिकतामा पूर्वाधार निर्माण

नीति तथा कार्यक्रममा खेलकुद : प्राथमिकतामा पूर्वाधार निर्माण

जेष्ठ २ गते,काठमाडौँ -सरकारले आगामी आर्थिक वर्षमा खेलकुदको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने बताउनुभयो ।
उहाँले काठमाडौँको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिइने उल्लेख गर्नुभयो । सरकारको नीति तथा कार्यक्रममा चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने उल्लेख छ। यस्तै कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइने छ।

यसैगरी सरकारले सबैका लागि खेलकुद तथा योग अभ्यासको अवसर सिर्जना गरिने, नेपालको मौलिक एवम् परम्परागत खेलहरूको प्रवर्द्धन गर्न तथा प्रतिभावान् खेलाडीको खोजी गर्न राष्‍ट्रियस्तरका प्रतियोगिता आयोजना गरिने, आगामी आर्थिक वर्षमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने, अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको सहभागिता बढाइने र आधुनिक प्रविधियुक्त इ–स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै नीति तथा कार्यक्रममा विद्यालय स्तरका शिक्षक र विद्यार्थीलाई खेलकुद तालिम दिइने, बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन गरिने, खेल क्षेत्रमा महिला सहभागिता बढाइने, खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम कार्यान्वयन गरिने उल्लेख छ ।

साथै अन्तर्राष्‍ट्रियस्तरका खेलकुद प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई पुरस्कृत एवम् सम्मान गर्नुका साथै जीवन निर्वाह भत्ताको व्यवस्था गरी उनीहरूको मनोबल उच्च राखिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Share on Social Media