२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

‘जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन पहल गरिने’

‘जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन पहल गरिने’

काठमाडौँ, जेठ ३ गते । प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ । जन्मदर्तासम्बन्धी कानुन संशोधनका विषयमा महिला, कानुन र विकास मञ्चले आज आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले दुवै कानुन संशोधनका लागि समितिले पहल गर्ने बताउनुभएको हो ।

आमाका नाममा नागरिकता प्रदान गर्न संविधान र कानुनमा गरिएको व्यवस्थाअनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्न गृह मन्त्रालयसँग सहमति भएको पनि उहाँले जानकारी दिनुभयो ।

सभापति खतिवडाले अन्तर्राष्ट्रिय कानुनले आकाशमाथि उडिरहेको हवाईजहाजमा जन्म भएमा जुनदेशमाथि उडिरहेको अवस्थामा जन्म भएको हो सोही देशमा जन्मदर्ता गराउने व्यवस्था गरेकाले ती व्यवस्थाको पालना हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले संविधानको धारा ३९ (१) मा कानुनी पहिचानको अधिकारको व्यवस्था गरिएकाले जन्मदर्ताका बारेमा खडा गरिने समस्या संविधान विपरीत हुने बताउनुभयो ।

नेपालले अनुमोदन गरेको बाल अधिकार महासन्धिको धारा ७ मा बालक जन्मेको एक घण्टामै जन्मदर्ता गरेर प्रमाणपत्र दिनुपर्ने व्यवस्था भएपनि नेपालमा हजारौँ बालबालिकाको वर्षौँदेखि जन्मदर्ता हुन नसकेकाले सो समस्या समाधानका लागि कानुनमा समसामयिक संशोधन गरिनुपर्नेमा उहाँले समिति सभापति खतिवडालगायतको ध्यानाकर्षण गराउनुभयो । रासस

Share on Social Media