२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

कान्तिपुरका अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

कान्तिपुरका अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

ढल्केबर, जेठ ११ गते। नागरिकता कसुर मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

शुक्रबार जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले उहाँलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि थप तीन दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताउनुभयो।

अध्यक्ष सिरोहियालाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयानपछि पुनः म्याद थपका लागि अदालतमा पेश गरिएको थियो।वकिलको कार्यालयले पाँच दिनको म्याद थपको सिफारिस गरेको उहाँले जानकारी दिनुभयो।

अध्यक्ष सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा, मधेश प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ता सिताराम भट्टराई, शेरबहादुर केसी, रमण श्रेष्ठ, गोविन्द बन्दी, रमण कर्णलगायत सात जनाभन्दा बढी अधिवक्ताले बहस गर्नुभएको थियो।

मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्तासमेत रहेका झाले सरकारले सिरोहियाविरुद्ध दुराशयपूर्ण रुपमा मुद्दा चलाएको बताउनुभयो।एकै नम्बरका दुई नागरिकता दिनु राज्यको गल्ती भएको भनाइ छ।

उहाँले भन्नुभयो, “एकै नम्बरका दुईवटा नागरिकता दिनु राज्यको गल्ती हो।उहाँको नाममा पहिले नै जारी भएको नागरिकताको नम्बर राखेर अर्कालाई पनि नागरिकता दिइएको छ।यो राज्यको गल्ती हो ।”

सिरोहियालाई मङ्गलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया गु्रपको कार्यालयबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी बुधबार धनुषा ल्याइएको थियो।उहाँलाई सोही दिन जिल्ला अदालतमा धनुषामा उपस्थित गराइएको थियो।अदालतले अनुसन्धानका लागि तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।गोपा

Share on Social Media