२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्त्वपूर्ण छ : मन्त्री बस्नेत

हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्त्वपूर्ण छ : मन्त्री बस्नेत

काठमाडौँ, जेठ ३१ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हवाई उडानका लागि उड्डयन मौसम सेवा अति आवश्यक र महत्त्वपूर्ण रहेको बताउनुभएको छ । जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाको महत्वसम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवा निकै प्रभावकारी भएकाले यसको थप विस्तार गरेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले भन्नुभयो, “हाम्रो भूगोल हिमाल, पहाड, तराई रहेका छन्, सुरक्षित उडानका लागि उड्डयन मौसम सेवाको निकै आवश्यकता छ, नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा यसलाई थप अगाडि बढाउनुपर्छ ।” उहाँले सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाको क्षमता विकास र विस्तारमा मन्त्रालयले गर्नुपर्ने आवश्यक सहयोगका लागि सधैँ तयार रहेको र उक्त क्षेत्रमा सबै निकायबाट सहयोगको खाँचो रहेको बताउनुभयो ।

सोही कार्यक्रममा मौसम विज्ञान विभागका महानिर्देशक डा.जगदीश्वर कर्माचार्यले सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाले एयरलाइन्सको उडानदेखि अन्य वर्षातका बारेमा पनि जानकारी दिने भएकाले यो सेवा प्रभावकारी रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवालाई थप प्रभावकारी बनाउन आवश्यक छ, माथिल्लो निकायसँग छलफल गरेर हामी यसलाई थप प्रभावकारी बनाउन लाग्ने छौँ ।” कार्यक्रमका अधिकांश वक्ताहरूले मौसमका विषयमा जानकारी दिनेदेखि हवाई उडानका लागि उड्डयन मौसम सेवाको थप क्षमता विकास गर्नु आजको आवश्यकता रहेको धारणा राखेका थिए । रासस

Share on Social Media