२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सांसदको जोड

आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सांसदको जोड

काठमाडौँ, असार ४ गते । आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न राष्ट्रियसभा सदस्यहरुले जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले घरभाडा समयानुकूल बनाउनुपर्नेलगायतका ११ बुँदे मागसहित आन्दोलनरत कर्मचारीका मागबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले कर्मचारीहरुको माग जायज रहेको उल्लेख गर्दै उनीहरुका मागमा ऐक्यबद्धता जनाउनुभयो । “कार्यालय समयपछि पनि कतिपय कर्मचारीले काम गर्नुपर्ने भएकाले उहाँहरुलाई अतिरिक्त सेवा सुविधा उपलब्ध गराउनुपर्छ”, उहाँले भन्नुभयो, “कर्मचारीहरुको तलब वृद्धि हुन सकेन, तलब वृद्धि गर्न सकेमा उहाँहरुलाई थप हौसला मिल्नेछ ।”

सांसदद्वय श्रीकृष्णप्रसाद अधिकारी र नरबहादुर विष्टले कर्मचारीको माग सम्बोधन जरुरी रहेको बताउनुभयो । हाल राजपत्राङ्कित कर्मचारीले आवास भत्तावापत तीन हजार पाँच सय प्राप्त गर्दै आउनुभएको छ । राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीका लागि प्रतिमहिना तीन हजार आवास भत्ता तोकिएको छ ।

आन्दोलनरत कर्मचारीले राखेको ११ बुँदे मागको पहिलो बुँदामा घरभाडा वृद्धिको माग उल्लेख छ । सङ्घीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५ को अनुसूची १२ मा रहेको यो व्यवस्था पुनरवलोकन हुनुपर्ने उहाँहरुको माग छ । रासस

Share on Social Media