२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

नेपाली महिलालाई गैरकानुनीरुपमा कुवेत पुर्‍याइएकामा सरकारको ध्यानाकर्षण

नेपाली महिलालाई गैरकानुनीरुपमा कुवेत पुर्‍याइएकामा सरकारको ध्यानाकर्षण

काठमाडौँ, असार १० गते । सांसद धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनीरुपमा कुवेतलगायतका देशमा पुर्‍याउने काम झनझन बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

घरेलु कामदारका रूपमा नेपाली महिलालाई पठाउन नहुने भनिए पनि व्यवहारिकरुपमा कार्यान्वयन हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गुरुङले कुवेतमा अहिले पनि ४१ हजार नेपाली महिला कामदारका रूपमा रहेका र तीमध्ये २७ हजार गैरकानुनीरुपमा रहेको तथ्य प्रस्तुत गर्नुभयो । पछिल्लो छ महिनाभित्रमा १० हजार नेपाली महिला गैरकानुनीरुपमा कुवेत पुगेको सूचना प्राप्त भएको उहाँले बताउनुभयो ।

सांसद गुरुङले आफू कुवेतमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएर नेपाल फर्किने क्रममा बेल्ग्रेटबाट फर्काइएका पाँच युवासँग भेट भएको उल्लेख गर्दै झापाको एउटा म्यानपावर कम्पनीले प्रतिव्यक्ति ६ लाख ५० हजार लिएर बेल्ग्रट पुर्‍याएको खुलेको छ, यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सांसद सम्झना थपलियाले सिरहालगायत मधेशका अन्य जिल्लामा पछिल्लो समयमा शान्ति सुरक्षाको स्थिति कमजोर भएको उल्लेख गर्दै तीन महिनादेखि चोरी डकैतीका घटना बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो,“वित्तीय संस्थाको रकम लुटिएको छ, तर एउटा पनि दोषी पक्राउ परेको छैन ।”

सांसद माधव सापकोटाले हिउँदमा अस्थायी संरचना निर्माण गरिए पनि बर्खामा बाढीले बगाउने गरेको उल्लेख गर्दै नागरिकले ती अस्थायी संरचना बगाएको टुलुटुलु हेर्नुको विकल्प नभएको बताउनुभयो । सङ्घीय संसद्को बैठक आज बिहान ११ बजे सुरु हुने भनिए पनि सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न वार्तामा बसेका कारण निर्धारित समयभन्दा डेढ घण्टापछि मात्रै सुरु भएको थियो । रासस

Share on Social Media