२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ८० प्रतिशत बढी नर्स फेल

नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ८० प्रतिशत बढी नर्स फेल

१० मंसिर, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले ३४औं नर्सको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् । शनिबार लिएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले नर्सिङ पढाईको गुणस्तरमा प्रश्नचिह्न खडा गरेको छ ।

परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङतर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना अर्थात १९.३४ प्रतिशत मात्रै पास भएका छन् ।

यस्तै, शनिबार नै लिएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन् । बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३) प्रतिशत उत्तिर्ण भएका छन् ।

पीसीएल तर्फको परीक्षामा किन यतिधेरै फेल भए ? ‘पहिला देखि पास हुन नसकेको गुप्र बढी थिए । अहिका फ्रेसका विद्यार्थीहरु होइनन्,’ प्रजापतिले अनलाइनखबरसँग भनिन्, ‘ पीसीएल पनि नेपालका मात्रै गुप्र हुन् । जो पहिलादेखि पास गर्न नसकेका गुप्र सहभागी भएकाले अहिलेको परीक्षा कमजोर देखिएको हो ।’
यस्तै, बीएस्सी नर्सिङमा पनि पहिलादेखि नै फेल भएका विद्यार्थीहरु सहभागी भएकाले पनि परीक्षा नतिजा राम्रो नदेखिएको प्रजापतिले बताइन् ।

शनिबार विहान ९ देखि ११ : ३० सम्म सञ्चालन भएको ३४औँ नाम दर्ता परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टरमा भएको थियो ।

Share on Social Media