२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

घातक बन्दै सिजनल इन्फ्लुएन्जा

घातक बन्दै सिजनल इन्फ्लुएन्जा

काठमाडौं : मौसमी रुघाखोकीसहितको ज्वरो (सिजनल इन्फ्लुएन्जा) ले सताएको छ ? ख्याल गर्नुहोस्, श्वास–प्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने तीव्र खालको इन्फ्लुएन्जाले ज्येष्ठ नागरिक र बालबालिकाको ज्यानै लिन सक्छ।

रुघाखोकी र ज्वरोले थलिएर हिमाली जिल्ला मुगुको सोरु–६ पुरुमुरु गाउँका तीन जनाको मृत्यु भइसकेको छ। सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीका अनुसार, मौसमी रुघाखोकी (सिजनल इन्फ्लुुएन्जा) का कारण ज्यान गएको आशंका गरिएको छ। मृत्यु हुनेमा ७५ वर्षीया कृति छन्त्याल, ७२ वर्षीय हरिबहादुर शाही र २४ वर्षीया कुसुम ढोली छन्। ‘रुघाखोकी र ज्वरोले सिकिस्त पारेपछि घरमै मृत्यु भएको जानकारी पाएका छौं,’ सोरु गाउँपालिका उपाध्यक्ष शाहीले टेलिफोनमा भने, ‘प्रयोगशालामा नमुना परीक्षण हुँदै छ। स्वास्थ्यकर्मीले सिजनल इन्फ्लुएन्जाको शंका गरेका छन्।’

के हो सिजनल इन्फ्लुएन्जा ?

जनस्वास्थ्यविद्हरूका अनुसार सिजनल इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) कुनै नयाँ रोग होइन। श्वास–प्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने समस्या हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार, यो तीव्र संक्रामक हुन्छ।

‘जाडो मौसम तथा मौसम परिवर्तन हुने बेलामा रुघाखोकीसहितको ज्वरोले बढी सताउँछ,’ डा. मरासिनी भन्छन्, ‘संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्छ।’

कसैलाई लक्षण देखिएको केही दिनमा आफैं ठीक हुन्छ। कतिपयलाई जटिलता हुने डा. मरासिनी बताउँछन्। विशेष गरी गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका, ६५ वर्षमाथिका ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा जटिलता देखिन सक्छ। मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, दम र अन्य श्वास–प्रश्वासजन्य समस्या भएका दीर्घ बिरामीलाई यसको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा यसअघि नै इन्फ्लुएन्जा ए(एच वन, एन वन), इन्फ्लुएन्जा बी देखा परिसकेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, इन्फ्लुएन्जाको संक्रमणपछि हाच्छिउँ आउने, नाकबाट पानी बग्ने, नाक बन्द हुने, टाउको, मांसपेशी, हाडजोर्नी दुख्नेलगायतका लक्षणहरू देखिन्छन्। 

संक्रमितमा ज्वरो आउने (३८ डिग्री सेल्सियसभन्दा बढी), खोकी लाग्ने, घाँटी दुख्ने लक्षणहरू इन्फ्लुएन्जाका मुख्य लक्षण हुन्। बालबालिकामा वाकवाकी लाग्ने, पेट मडारिने, झाडापखालासमेत थप देखिने भएकाले बेलैमा सजग हुनुपर्ने चिकित्सकहरूको सुझाव छ।

डा. मरासिनीका अनुसार, इन्फ्लुएन्जाको संक्रमण हुँदा घरमै आराम गर्नुपर्छ। प्रशस्त मात्रामा तातो, झोलिलो खानेकुरा, भातको माड, दालको र गेडागुडीको रस खानुपर्छ। चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहपछि मात्र औषधि सेवन गर्नुपर्छ।

दिनेश गौतम,अन्नपूर्ण पोस्ट

 

 

 

Share on Social Media