२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

व्यवसायी धम्क्याएको आरोपमा प्रसाईंविरुद्ध मुद्दा दर्ता, केके जुट्यो प्रमाण ?

व्यवसायी धम्क्याएको आरोपमा प्रसाईंविरुद्ध मुद्दा दर्ता, केके जुट्यो प्रमाण ?

२५ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरु र व्यवसायीलाई धम्की दिएको आरोपमा विवादास्पद मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंसहित झापाका नविन प्रधान भनिने हरिचन्द्र फुयल र रामचन्द्र मैनालीविरुद्ध संगठित रुपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता भएको हो ।

प्रसाईंलाई विद्युतीय कारोबार ऐन विपरीतको कसुरमा पक्राउ परेर अनुसन्धान गरिरहेका वेला यो प्रकरण पनि बाहिर आएको थियो । प्रहरीले फुयललाई पक्राउ गरेपछि यो मामलामा प्रसाईंको पनि संलग्नता खुलेको थियो ।

पछि प्रसाईं सर्वोच्च अदालतको आदेशबाट छुटेका थिए । प्रतिवादीमध्ये मैनाली चाहिँ फरार छन् ।

नेपाल राष्ट्र बैंकले समेत धम्की आएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाएको थियो । त्यसबाहेक दुई व्यवसायीको समेत निवेदन प्रहरी कहाँ पुगेको थियो ।

भारतीय नम्बरबाट ‘म लरेन्स विश्नोई ग्याङको मानिस हुँ, तेरो के दुश्मनी छ भनी दुर्गा प्रसाईंसँग ५ घण्टाभित्र माफी माग नत्र नसोचेको भोग्नु पर्दछ, तेरो ज्यानमा खतरा हुन्छ’ भनेर धम्की दिएको भन्दै एक व्यवसायीले उजुरी दिएका थिए ।

उनलाई ह्वाट्स एपमा समेत ‘दुर्गा प्रसाईं हिन्दुका लागि लडिरहेको भन्दै उसलाई केही भयो भने एक–एकलाई छानेर हत्या गर्ने’ भन्दै हिन्दीमा म्यासेज पठाएको भेटिएको थियो ।

पक्राउ परेका फुयलले आफूले राकेश मैनालीले भनेअनुसार अग्रवाललाई धम्की दिएको भनेका छन् ।

दुर्गा प्रसाईंको दोहोरो चरित्र : बाहिर व्यवसायीको आलोचना, भित्र असुली

‘यस सम्बन्धमा दुर्गा प्रसाईं, राकेश मैनाली, रामचन्द्र मैनाली र नाम थाहा नभएको बिराटनगर बस्ने भनिएका दुई जना व्यक्तिलाई थाहा छ’, उनले प्रहरीसँग बयानमा भनेका छन्, ‘यो सबै काम प्रसाईंको निर्देशनमा रामचन्द्र मैनाली, राकेश मैनाली र अन्य दुई जनाको योजनामा निजहरुले मलाई प्रयोग गरेर गरेका हुन् ।’

प्रहरीले मिसिलमा दुर्गा प्रसाईंले पाँच लाख दिएकोबारे बोलेको अडियो पनि समावेश गरेको छ । ‘त्यस्तोमा जाँदैन भाइ पैसा, स्पष्ट खाता नम्बर र मान्छेको नाम चाइन्छ के, ए भाइ खै… चन्द्रलाई फोन गथ्रयो । त्यो पैसा हाल्न लगाथ्यो । ५ लाख छिटो हाल भन त..’ लगायतका संवादसहितका अडियो प्रहरीले समावेश गरेको हो । त्यो अडियो फुयलको मोबाइलबाट बरामद भएको हो ।

अडियोमा नाम लिइएका चन्द्र प्रसाईं सञ्चालक रहेका बी.एण्ड सी. अस्पतालका लेखा प्रमुख हुन् ।

‘त्यो अडियो मैले दुर्गा प्रसाईंको निर्देशनमा राकेश मैनालीले भने अनुसार धम्क्याउन र भारतीय सीम कार्डहरु उपलब्ध गराइ सहयोग गरे वापत मलाई दिने भनिएको रकमको बारेमा दुर्गा प्रसाईंसँग कुराकानी भएको हो ।’

तर, दुर्गा प्रसाईंले भने ती कुनै विषयमा जानकारी नभएको भन्दै इन्कारी बयान दिएका छन् । उनले अडियो जाँच गराउन पनि इन्कार गरेका छन् ।

तर, प्रहरीले उनले एक टेलिभिजनमा दिएको अन्तर्वार्तासँग जाँच गराएको थियो । त्यसक्रममा डिजिटिल फरेन्सिक ल्याबले उक्त अडियो प्रसाईंको आवाजसँग एकापसमा मिलेको भनेर प्रतिवेदन दिएको छ ।अनलाइनखबर

Loading poll ...
Share on Social Media