२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

बैंककै जस्तो सहकारीको ऋण पनि वर्गीकरण गरेर कर्जा नोक्सानी व्यवस्था गराइँदै

बैंककै जस्तो सहकारीको ऋण पनि वर्गीकरण गरेर कर्जा नोक्सानी व्यवस्था गराइँदै

पुष २९ गते , काठमाडौं – नेपाल राष्ट्र बैंकले सहकारी संस्थालाई पनि बैंकहरूको जस्तै ऋणको वर्गीकरण र नोक्सानी व्यवस्था प्रस्ताव गरेको छ ।

सोमबार बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गर्ने एकीकृत निर्देशन तथा मापदण्डको मस्यौदा सार्वजनिक गर्दै उक्त प्रस्ताव गरिएको हो ।

सहकारीको ऋणलाई सक्रिय र निष्क्रिय ऋणमा वर्गीकरण गर्ने मस्यौदामा उल्लेख छ । निष्क्रिय ऋणमध्ये ३ देखि ६ महिना भाखा नाघेको कमसल, ६ महिनादेखि १२ महिनासम्म भाखा नाघेको शंकास्पद र १२ महिनाभन्दा बढीले भाखा नाघेको ऋणलाई खराब वर्गमा वर्गीकरण गर्ने व्यवस्था गर्न लागेको हो ।

बैंकहरूको जस्तै असल वर्गमा १ प्रतिशत, कमसल वर्गमा वर्गीकरण भएको कर्जामा २५ प्रतिशत, शंकास्पदमा वर्गीकरण भए ५० प्रतिशत र खराब कर्जामा वर्गीकरण भए शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था हुनेछ ।

असल ऋणका लागि गरिएको ऋण नोक्सानी व्यवस्थालाई ‘सामान्य ऋण नोक्सानी व्यवस्था’ र अन्य ऋणका लागि गरिएको ऋण नोक्सानी व्यवस्थालाई ‘विशेष ऋण नोक्सानी व्यवस्था’ का रूपमा लिइने प्रस्तावित निर्देशनमा उल्लेख छ ।

कुनै एक किस्ताले भाखा नाघे सम्पूर्ण बक्यौता ऋण रकम नै किस्ता रकमको भाखा नाघेको अवधिका आधारमा वर्गीकरण गरी ऋण नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गर्ने भएको छ ।

राष्ट्र बैंकले निर्देशन जारी गर्नुपूर्व तेस्रो पक्षको धितोमा प्रवाह गरिएका ऋण वा भौगोलिक कार्यक्षेत्र बाहिरको धितो र परियोजना/व्यवसायमा प्रवाहित ऋणका साथै धितो/जमानी नलिई प्रवाह गरिएको व्यक्तिगत ऋणलाई खराब ऋणमा वर्गीकरण गर्न प्रस्ताव गरिएको छ ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media