माघ १ गते, काठमाण्डौं-बजारमा हरियो र ताजा तरकारी भनेर खरिद गरिने तरकारीमै सबैभन्दा बढी विषादी अर्थात विष प्रयोग हुने गरेको छ ।
विषादीविज्ञका अनुसार बाहिरी मुलुकबाट आयात भएर आउने विषादीमध्ये ८५ प्रतिशत हरियो तरकारीमा प्रयोग हुने गर्छ । बाँकी करिब १५ प्रतिशत विभिन्न प्रकारका खाद्यान्न बालीमा प्रयोग हुन्छ ।
मुख्यगरी आलु, काउली, भान्टा, परवल, टमाटर, बोडी, खुर्सानी, भेडे खुर्सानी, बन्दालगायतका हरियो तरकारीमा विषादीको प्रयोग हुँदै आएको छ । व्यवसायिक र बेमौसमी रुपमा उत्पादन गरिने तरकारीमा किसानहरूले अत्याधिक परिमाणमा विषादीको प्रयोग गर्दैआएको विषादी विषयका विज्ञले बताएका छन् ।
यसबाहेक भारतबाट आयात हुने तरकारीमा पनि उच्च परिमाणमा विषादी भेटिने गरिएको छ । भारतबाट आयात हुने तरकारी सघनरुपमा सीमा नाकामा परीक्षण नहुँदा विषादीसहित नेपाल भित्रने गरेको छ ।
‘पछिल्लो समयमा सबैभन्दा बढी रायो सागमा तोकिएको मापदण्डभन्दा बढी विषादीको अवशेष फेला परेको छ,’ विज्ञहरुका अनुसार,‘मापदण्डको सीमाभन्दा बढी विषादी पाइएकाले त्यस्ता साग उपभोग गर्नु आफ्नो स्वास्थ्यलाई जानाजान जोखिममा पार्नु हो ।’
मापदण्डविपरित विषादीको उच्च मात्रा भेटिने तरकारी र सागलाई विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले खाल्डो खनेर पुर्ने गरेको छ ।
विषादी छर्केपछि विषादीको प्रकारअनुसार न्यूनतम २ दिनदेखि अधिकतम ४० दिनसम्म पर्खेर मात्रै बजारमा लानुपर्ने सरकारले मापदण्ड तोकेको छ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क