२०८२ कार्तिक २ आईतवार
19 October 2025, Sunday
Menu
 

‘लामिछानेको नाममा सुप्रिमबाट २ करोड कर्जा निकासा, आफैं चेक काटेर ४० लाख किस्ता भुक्तान’

‘लामिछानेको नाममा सुप्रिमबाट २ करोड कर्जा निकासा, आफैं चेक काटेर ४० लाख किस्ता भुक्तान’

बुटवल —बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संगठित अपराधको कसुरमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध दायर मुद्दामा रूपन्देही जिल्ला अदालतमा बुधबारदेखि जारी थुनछेक बहस शुक्रबार पनि सकिएन । 

शुक्रबारको बहसमा वादी र जाहेरवाला पक्षका वकिलले लामिछानेलाई थुनछेक बहसअघि नै परिवारको जिम्माजमानीमा छोडिएको विषयमा प्रश्न उठाएका थिए । यसबाट मुद्दाबारे न्यायाधीशको मानसिकता झल्किसकेको भन्दै थुनछेक बहसको अर्थ नहुने जिकिर गरेका थिए ।

उनीहरूले न्यायाधीश प्रह्लादकुमार योगीलाई इजलास छोड्न आग्रह गरेका थिए । न्यायाधीश योगीले वादी र जाहेरवाला वकिलको जिकिर अस्वीकार गरेपछि थुनछेक बहस सुरु भएको थियो ।

जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ताहरू आरसी गौतम र शैलेन्द्रकुमार यादवले बहस गरे । गौतमले रकम अपचलनमा प्रत्यक्ष संलग्नता देखिएको भन्दै लामिछानेलाई थुनामै राख्नुपर्ने माग गरे । लामिछानेको नाममा सहकारीबाट २ करोड रुपैयाँ गएको र उनी आफैंले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरेकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको अधिवक्ता गौतमले जिकिर गरे ।

प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू सुरेन्द्र थापा र सञ्जय गोलेले बहस गरेका थिए । तीनै जनाले अभियोगपत्रमा भएका तथ्यको प्रतिवाद गर्दै सहकारी ठगी र संगठित अपराधमा लामिछानेलाई मुद्दा चलाउनै नमिल्ने जिकिर गरेका थिए । सहकारीको रकम संरक्षण गर्ने जिम्मेवारी लामिछानेको नभएकाले सञ्चालकहरू मात्र मुद्दाको प्रतिवादी हुने तर लामिछानेलाई प्रतिवादी बनाएकाले मुद्दाको प्रक्रिया नै गलत भएको जिकिर गरेका थिए ।

लामिछानेलाई आइतबार उपस्थित गराउने गरी श्रीमती निकिता पौडेल र वकिलको जिम्मा लगाइएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।

‘प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलको बहस बाँकी छ, त्यसैले मुद्दा हेर्दाहेर्दैमा राखेर प्रतिवादी लामिछानेलाई आइतबार उपस्थित गराउने गरी यसअघिकै आदेशको निरन्तरताअनुसार परिवार र वकिललाई जिम्मा लगाइयो,’ उनले भने, ‘आइतबार प्रतिवादीका वकिलको बयानपछि जवाफी बयान हुनेछ ।’

लामिछानेको मुद्दामा बिहीबार उच्च सरकारी वकिल कार्यालय बुटवलका प्रमुख सहन्यायाधिवक्ता शोभकान्त भण्डारी, प्रकाश मरासिनी, रवि न्यौपाने र जिल्ला सरकारी वकिल कार्यालय प्रमुख न्यायाधिवक्ता प्रेमराज पौडेल, गोकर्णराज मरासिनी, वसन्त पोखरेल, सुनील बुढाथोकी र पवित्रा भण्डारीले बहस गरेका थिए । त्यस्तै पीडित जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।

लामिछानेविरुद्ध माघ ६ मा जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो । उनी बुधबार मुद्दाको प्रतिवाद गर्न अदालत उपस्थित भएका थिए । बुधबार रूपन्देही जिल्ला अदालतका न्यायाधीश योगीको इजलासमा उनको पेसी परेको थियो ।

लामिछानेले बुधबारको बयानका क्रममा उनले परिवारसँगै बसेर मुद्दाको प्रतिवाद गर्न पाउनुपर्ने याचना गरेका थिए । न्यायाधीश योगीले उनको याचना स्वीकार गरेपछि उनी होटलमै बसेर बिहीबार र शुक्रबारको थुनछेक बहसमा उपस्थित भएका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका सिलसिलामा गत कात्तिक २ मा पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा पुस २५ मा र स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले ६० लाख धरौटीमा माघ २ मा रिहा भएका थिए ।

माघ ६ मा आइतबार रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता भएको थियो । मुद्दामा गीतेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित २८ जनाबाट ५५ करोडभन्दा बढी र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको छ ।कान्तिपुर

Loading poll ...
Share on Social Media