२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

आफू राष्ट्रिय राजनीतिमा सक्रिय रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाइ

आफू राष्ट्रिय राजनीतिमा सक्रिय रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाइ

माघ १४ गते, विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताउनुभएको छ ।सोमबार विराटनगरमा पत्रकारहरूसँग कुरकगर्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले आफूले शिक्षा, स्वास्थ्य, आर्थिक समानता, जलवायु र वातावरणको विषयमा छलफल गरिरहेको र ती विषय राजनीतिभन्दा भिन्न नरहेको बताउनुभएको हो । 

‘हामी कोही पनि राजनीतिबाट फरक छैनौं, तपाईंहरूले कसरी बुझ्नुहुन्छ, तर मैले पछिल्लो समय शिक्षा, स्वास्थ्य, जलवायु आदि विषयमा जसरी छलफल गरिरहेको छु ती राजनीतिबाट भिन्न छैनन्, त्यस अर्थमा म राष्ट्रिय राजनीतिमा सक्रिय नै छु, रह्यो दलीय राजनीतिको कुरा त्यस विषयमा अहिले म प्रवेश गरिसकेको छैन, राष्ट्रिय, अन्तर्राष्ट्रिय आदि परिवेशहरू पनि छन्, समय आएपछि कुन दलको राजनीति कसरी गर्ने वा नगर्ने भन्ने होला ।’

उहाँले दलीय राजनीतिमा आएको खण्डमा नेकपा एमाले नै आफ्नो रोजाइमा पर्नसक्ने सङ्केत गर्नुभयो । उहाँले भन्नुभयो, ‘म नेकपा एमालेबाट हुर्किएकाले जाँदा त्यहाँ नै हो । तर छलफलको चरणमा प्रवेश गरेको छैन ।’ 

पछिल्ला समय मिडियाहरूमा आफ्नो राजनीतिक सक्रियताका विषयमा भएका चर्चाहरू सही नभएको र कसैले भ्रम नराख्न आग्रह गर्नुभयो । 

पूर्वराष्ट्रपति भण्डारी चार दिन पूर्व क्षेत्रका विभिन्न ठाउँमा रहनुहुने बताइएको छ । उहाँले भन्नुभयो,’ यसपटक शिक्षा क्षेत्रका धेरै कार्यक्रमहरूका लागि म यहाँ आएको छु, शिक्षा क्षेत्रको सुधार र विकास गर्नुपर्छ भनेर मैले भन्दै पनि आएको छु ।’

पूर्वराष्ट्रपति भण्डारीले सोमबार अपराह्न विराटनगर आउनुभएलगतै नेकपा एमालेका विभिन्न तहका नेताहरूसँग बिग होटलमा भेटघाट गर्नुभएको थियो । उहाँले एमालेका अगुवा महिला, युवा र विद्यार्थी नेताहरूसँग पनि छुट्टाछुट्टै भेटघाट गर्नुभएको थियो । 

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media