२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

अमेरिकाबाट निष्कासित हुने नेपालीको संख्या बढ्दै,थप तीन नेपाली निष्कासित

अमेरिकाबाट निष्कासित हुने नेपालीको संख्या बढ्दै,थप तीन नेपाली निष्कासित

माघ २५ गते,काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनसम्बन्धी नयाँ कार्यदेश जारी गरेपछि नेपालीहरू मारमा परेमा छन्। अमेरिकामा रहेका नेपाली विद्यार्थीहरू बढी मारमा परेका हुन्।’स्टुडेन्ट भिसा’मा अमेरिका गएका उनीहरूले काम गर्न नपाएपछि चिन्तित बनेको त्यहाँका नेपालीहरूले बताएका छन्। अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसीई)ले धरपकड गर्न थालेपछि नेपाली विद्यार्थीहरू काममा जान डराएको त्यहाँका नेपालीहरूको भनाइ छ। लुकिछिपी त्यहाँको कानुनले तोकेको भन्दा बढी समय काम गर्ने नेपालीहरू बढी मारमा परेका हुन्।

‘पढाइसँगै काम पनि गर्ने उद्देश्यले नेपालीहरू अमेरिका जान्छन्। बाँच्नका लागि भए पनि कानुनले तोकेको भन्दा बढी समय उनीहरू काम गर्न बाध्य छन्। तर, ट्रम्पको नयाँ नीतिले आप्रवासीहरूमाथि ठूलो धरपकड गरिएको छ। त्यही त्रासले नेपालीहरू चिन्तित बनेका हुन्। उनीहरू काममा समेत जान डराइरहेका खबर आइरहेका छन् । हालैमात्र टेक्सासको एक ग्यास स्टेशनमा आइसीईले छापा मारी नेपाली विद्यार्थीहरूलाई नियन्त्रणमा लिइएको थियो। गैरकानुनी तरिकाले काम गर्ने केही नेपाली विद्यार्थीहरूलाई आइसीईले नियन्त्रणमा लिएको त्यहाँका नेपालीहरूले बताएका छन्। 

यतिमात्र होइन, गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका नेपालीहरू निष्कासित हुने क्रम पनि जारी छ। पछिल्लो महिना दिनमै १० जनाभन्दा बढी नेपालीलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको छ। दुई दिनअघि मात्रै अमेरिकाले थप तीन जना नेपालीलाई निष्कासन गरेको स्रोतले बताएको छ।

गैरकानुनी तरिकाले अमेरिका प्रवेश गरेका उनीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा मानबहादुर राई, ईश्वर गिरी र अन्जन धमला रहेका छन्। राईलाई कतार एयरलायन्सको जहाजबाट नेपाल फर्काइएको हो भने गिरी र धमलालाई एयर इन्डियाको जहाजबाट भारत हुँदै काठमाडौं पठाइएको स्रोतले बताएको छ। यसअघि अमेरिकाले गोपाल ठकुरी, राजकुमार रोका, राहुल थापा क्षेत्री, यमप्रसाद तिवारी, घनश्याम खत्री, भुपाल विक, शेर शाङ्बु शेर्पा, सारुन श्रेष्ठलगायतलाई निष्कासन गरेको थियो। 

राष्ट्रपति ट्रम्पले जनवरी २० मा सपथ लिएसँगै अमेरिकाको आप्रवासन नीतिमा कडाइ गरेका छन्। गैरकानुनी तरिकाबाट बसिरहेका आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम पक्राउ गरी निष्कासन गरिरहेको छ। अफ्रिकीलगायत कतिपय देशका नागरिकहरूलाई अमेरिकी सेनाको जहाजबाटै फिर्ता पठाइएको छ। दुई दिनअघि अमेरिकी सेनाको जहाजले १०४ जना भारतीयलाई निष्कासन गरी पञ्जाब लागेर छाडिदिएको थियो।

हालैमात्र प्रकाशित एक रिपोर्टअनुसार अमेरिकी अदालतले १ हजार ३ सय ६५ जना नेपालीहरूलाई देश छोड्न आदेश दिएको छ। नेपालको टीपीएस नवीकरण नभए उक्त संख्या ३ हजार पुग्ने अनुमान गरिएको छ। 

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media