२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

आज महाशिवरात्रि पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीका लागि के कस्ता व्यवस्था गरेको छ?

आज महाशिवरात्रि पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीका लागि के कस्ता व्यवस्था गरेको छ?

फागुन १४ गते,काठमाडौँ —महाशिवरात्रिका अवसरमा पाँच लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने पशुपति विकास कोषले जनाएको छ । ‘यसपटक मन्दिरभित्र करिब ५ लाख दर्शनार्थी आउने अपेक्षा गरेका छौं’, पशुपति विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले भने, ‘त्यस्तै बाहिरबाट मन्दिर (गजूर) दर्शन पनि ५ लाख हाराहारीले गर्ने अनुमान कोषले गरेको छ ।’

जोशीका अनुसार शिवरात्रिका अवसरमा मंगलबार राति २ बजेदेखि मन्दिर खुला गरिनेछ । शिवरात्रिका दिन दर्शनार्थीको भीड नसकिउन्जेलसम्म मन्दिर खुला रहनेछ र मूल भट्टसहित ५ जना भट्टहरू मन्दिरमा रहनेछन् ।

त्यस्तै पशुपति मन्दिरका चार ढोकाका आधारमा चारवटा लाइन बाहिरबाट मन्दिरभित्र पस्ने व्यवस्था गरिएको कोषले जनाएको छ । मन्दिरभित्र ती चार लाइनलाई १० वटा सहायक लाइन बनाएर प्रत्येक भक्तजनले २ सकेन्ड दर्शन गर्न पाउनेछन् । ‘सर्वसाधारणले लाइनमा धेरै समय बिताउनु नपरोस् भनी बाहिरबाट मन्दिरभित्र पस्ने चारवटा लाइनलाई १० वटा शाखा लाइन बनाएर मन्दिरका चारवटै ढोकाबाट २/२ सेकेन्ड दर्शन गराउँदै निकाल्ने व्यवस्था गरिएको छ’, कोषका कोषाध्यक्ष नारायण सुवेदीले कान्तिपुरसँग भने ।

विगतमा शिवरात्रिमा वितरण गरिने पास दुरुपयोग भएको भन्दै कोषले यसपटक पास खारेज गरेको छ । भीभीआईपी र भीआईपी दर्शनार्थीलाई पशुपति मन्दिरभित्र लैजान वनकालीमा रहेको कोषको कार्यालयमा हेल्प डेस्क राखिएको छ । कोषका कार्यकारी निर्देशक जोशीको संयोजनमा भीआईपी अतिथिले मन्दिर दर्शन गर्न पाउनेछन् । त्यस्तै वृद्ध, अपाङ्गता भएका व्यक्तिलाई कोषले वनकालीमा रहेको हेल्प डेस्कबाट सोझै मन्दिर लैजाने सुविधा दिने जनाएको छ । लाइनमा रहने वृद्ध तथा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वयंसेवक तथा सुरक्षाकर्मीले सघाउने कोषले जनाएको छ ।

कोषले शिवरात्रिका लागि यसपटक डेढ करोड बजेट विनियोजन गरेको छ । उक्त रकम पशुपति मन्दिर परिसरमा रंगरोगन, साधुसन्तलाई खानपान, धुनीका लागि दाउरा/मुढा व्यवस्थापनलगायतमा खर्च गरिने कोषले जनाएको छ । साधुसन्तलाई कोषले निर्मल अखडा, अन्नपूर्ण अखडा, भष्मेश्वर अखडा, विश्वरूपा अखडा गरी ७ वटा स्थानमा राखेको छ । ती स्थानमा उनीहरूका लागि कोषकै खर्चमा खानपानको व्यवस्था गरिएको छ ।

कोषले शिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा कोष र गुठी संस्थानका तर्फबाट ‘बिदाइ दक्षिणा’ दिने प्रचलन छ । यसमा दुवै संस्थाले बराबरी रकम दिनुपर्ने प्रचलन छ । पशुपतिस्थित गुठी संस्थान कार्यालयकी प्रमुख सुशीला शर्माका अनुसार शिवरात्रिमा पशुपतिमा आउने साधुहरूलाई महन्त, मठाधीश, नागा र अघोरी गरी चार प्रकारमा विभाजन गरिन्छ । त्यसैका आधारमा उनीहरूलाई बिहीबार बिदाइ दक्षिणा दिइने कोषले जानकारी दिएको छ ।

कोषले शिवरात्रि व्यवस्थापनका लागि नौवटा समिति बनाएको छ । समग्र सुरक्षा व्यवस्थापनका लागि कोषका कार्यकारी निर्देशक मिलन थापाको संयोजकत्वमा समिति बनाइएको छ । त्यस्तै मन्दिरको सौन्दर्य सजावटमा राजु केसी, अनुगमनमा कोषाध्यक्ष नारायण सुवेदी, साधुसन्तको व्यवस्थापनमा परिषद् सदस्य भरत बराल, जुत्ता–चप्पल तथा सफाइमा रेनुका पराजुली, आवास/भोजनमा बाबुशरण केसी, स्वयंसेवकमा हरिनाथ ढकाल, स्वास्थ्यमा शिक्षित पराजुली र चन्दन वितरणमा रामेश्वर संगतलगायतका परिषद् सदस्यहरूलाई तोकिएको छ ।

शिवरात्रिको तयारी अनुगमन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, काठमाडौं जिल्ला प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत मंगलबार बेलुका पशुपति क्षेत्र पुगेका थिए । यसपटक पशुपति परिसरमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका गरी ७ हजार सुरक्षाकर्मी र ४ हजार स्वयंसेवक परिचालन हुने कोषले जानकारी दिएको छ ।

Loading poll ...
Share on Social Media