चैत १६ गते, काठमाण्डौ-राजावादी समूहले शुक्रवार काठमाण्डूको तीनकुनेमा गरेको प्रदर्शनका बेला हिंसा भएपछि प्रशासनले केही क्षेत्रमा कर्फ्यू लगाएको छ। प्रहरीले उक्त घटनाको अनुसन्धानका लागि धवल शम्शेर राणा, रवीन्द्र मिश्र र स्वागत नेपालसहित पाँच जनालाई राति पक्राउ गरेको छ।
काठमाण्डूमा शुक्रवार राजसंस्थाको पक्षमा भएको प्रदर्शनले हिंसात्मक स्वरूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिवार बिहानसम्म केही क्षेत्रमा कर्फ्यू लागु गरेको छ ।
प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र मृत्युको घटनाबारे छानबिन गर्न मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
तीनकुनेमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीले त्यहाँ प्रदर्शनकारीहरूले आगलागी, तोडफोड र लुटपाट गरेको आरोप लगाएको छ। तर राजसंस्था पुनर्स्थापना पक्षधरहरूले गठन गरेको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले “आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले ज्यादती गरेको” आरोप लगाएका छन् ।
भृकुटीमण्डपमा गणतन्त्रवादी पक्षले आयोजना गरेको सभामा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले तीनकुनेमा ‘मण्डले हरुले अराजकता’ मच्चाएको आरोप लगाए ।
दाहालले विगतमा आफूहरूबाट कमजोरी भएको स्वीकार गर्दै तिनलाई सच्याउने र ‘अर्को क्रान्ति’को नेतृत्व गर्ने घोषणा गरे ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क