२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

डढेलोको कहर : घर जोगाउन छानोमा पानी बोकेर बसे गाउँले

डढेलोको कहर : घर जोगाउन छानोमा पानी बोकेर बसे गाउँले

चैत २३ गते, काठमाण्डौ-बुधवारदेखि तमोर नदीको किनार साँवासेराको जङ्गलमा डढेलो लागेपछि जङ्गल नजिकै घर भएका गाउँले समस्यामा परे।

अचानक डढेलो गाउँमा आइपुग्यो भने खरको छानो भएका घर र गोठ जोगाउने कुनै उपाय नहुने चिन्ता गाउँलेलाई थियो। यो ठाउँ सुक्खाले निकै प्रभावित छ। यहाँ ६ महिनादेखि पानी परेको छैन। पानी नपर्दा सुक्खाले पातपतिङ्गर सबै सुकेका छन्। त्यसमाथि हावाहुरी पनि तीव्र चलिरहेको थियो।

बुधवारदेखि सुरु भएको डढेलो गाउँसम्म पुग्न धेरै समय लागेन। साँवासेरामा लागेको डढेलो शुक्रबार कुम्मायक गाउँपालिका–१ यासोकको टङटङे र लेकेताम वनसम्म फैलियो।

डढेलो गाउँमा पस्नबाट रोक्न अग्निरेखा बनाइएको थिएन। सुक्खाले प्रभावित गाउँमा आगो निभाउन पर्याप्त पानी पनि थिएन। कुम्मायक गाउँपालिकाका कर्मचारीसमेत रहेका काफ्लेपानीका कमल श्रेष्ठ शुक्रबार छिमेकी वीरबहादुर लावतीको घरको छानोमा बाल्टीभरि पानी लिएर बसेका थिए।

घर वरिपरि डढेलोको धुँवाले ढाकिसकेको थियो। खरको छानो भएको त्यो घरमा हावाहुरीले आगोको झिल्का ल्याइदियो भने जोगाउन नसकिने अवस्था थियो। त्यसैले उनले करिब दुई घण्टा पानी बोकेर छानोमा बसे।

‘आगो घरभन्दा करिब ५० मिटर तल जङ्गलमा आइसकेको थियो। त्यहाँ बाँसको झाङ पनि थियो। आगो लागेपछि बाँसका पात हावामा उड्छन्। आगो सल्किएका पात र झिल्का खरको छानोमा आइपुग्छ कि भनेर बाल्टीमा पानी लिएर छानोमा बसेको हुँ,’ उनले भने, ‘आगोको झिल्का आइपुग्नासाथ बाल्टीको पानी छ्यापेर निभाउने कोसिस गरेँ।’

श्रेष्ठले छिमेकीको छानो रुघे भने अरु गाउँलेले घर नजिकै आइपुगेको आगो निभाउने काम गरे। उनले जस्तै आगो निभाउन गएका अरु मानिस पनि खरको छानो भएका घरको छानोमा पानी लिएर बसेका थिए। यसरी करिब १५ घर जोगाइयो, श्रेष्ठले बताए।

सुक्खाले निकै प्रभावित कुम्मायक गाउँपालिका–१ यासोक, वडा नं ३ रानीगाउँ, वडा नं ४ रानीगाउँ र वडा नं ५ स्याबरुम्बाका विभिन्न वनमा डढेलो लागेको छ। वनको डढेलो हावाहुरीले गर्दा क्षणभरमै नजिकैका वस्तीमा फैलिने गरेको छ।

संघ, प्रदेश र स्थानीय सरकारले नागरिकका घरमा जस्तापाता लगाउने विभिन्न कार्यक्रम चलाएका छन्। तर अझै सबै घरमा जस्तापाता पुगेको छैन। वनको डढेलो गाउँमा पस्दा आज मात्रै त्यही ठाउँका घनेन्द्र दर्जीको भान्साघर जलेको श्रेष्ठले बताए।
सोही डढेलो वस्तीमा पस्दा उक्त वडाको खाल्डेका दीर्घबहादुर खत्री, देवेन्द्र राई, यामकुमार चाम्लिङ, विष्णु राई, पहलमान कार्की, देवेन्द्र कार्की, डिकबहादुर कार्कीको घर, गोठ, अन्नपात, लत्ताकपडा, पशुचौपाया पनि जलेका छन्।

कुम्मायक गाउँपालिकाकै वडा नं ३ ताम्राखु वनमा लागेको डढेलोमा परेर स्थानीय २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको बिहीबार मृत्यु भएको थियो। बिहीबार दिउँसो प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका थिए।

आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरुलाई आगोको लप्काले समात्यो, जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। घाइते सपना, शिवाना र निरमायाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजसम्म उपचार भयो। थप उपचारका लागि आज उनीहरुलाई कीर्तिपुर जलन अस्पताल लगिएको कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीले बताए। रासस

Loading poll ...
Share on Social Media