२०८२ कार्तिक २ आईतवार
19 October 2025, Sunday
Menu
 

दुर्गा प्रसाईं पक्राउ परेको भन्ने समाचारको प्रहरीले किन गर्यो खण्डन ?

दुर्गा प्रसाईं पक्राउ परेको भन्ने समाचारको प्रहरीले किन गर्यो खण्डन ?

चैत २९ गते, काठमाण्डौ —राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रसाईंलाई भारतमा पक्राउ गरिएको विषयलाई भने प्रहरीले खण्डन गरेको छ । बरू ‘उनी नेपालभित्रै छिट्टै पक्राउ पर्न सक्ने’ प्रहरी अधिकारीको दाबी छ । नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास छ । अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने अभ्यास छ ।

उता, बिहीबार राति प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भनेका छन्, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन/प्रशारण नगरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।’ उता, प्रसाईंका समर्थकहरुले सामाजिक सञ्जालमार्फत प्रसाईंले भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

१५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको अधिकारीहरूले बताएका छन् ।

यद्यपि, प्रसाईंका सहयोगीहरूले भने उनले भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

उत्पात मच्याएर भागेका प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए । ‘उनी उत्तरप्रदेशको प्रयागराजमा रहेको सूचनाका आधारमा प्रहरीको विशेष टोली त्यहाँ पुगेको थियो । तर उनलाई नियन्त्रण लिन सहज नभएपछि त्यो टोली भैरहवा ल्याएर राखिएको थियो । अर्को टोली भने दिल्ली पुगेर वातावरणको प्रतीक्षामा थियो,’ प्रहरीका एक अधिकारीले भने, ‘भारतको उत्तरपूर्वमा रहेको अर्को टोली भने आसाम वरिपरि पुगेका प्रसाईंको नजिक पुग्ने वातावरण बन्यो ।’

राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्‍याएका थिए । घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन् ।

प्रसाईं भागे पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ । प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media