वैशाख १४ गते, काठमाडौँ —सत्ता राजनीतिले कोल्टे फेर्न सक्ने चर्चा चलिरहेकाले संशयमा परेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार उपचार गरी बैंककबाट फर्केका कांग्रेस सभापति शेरबहादुर देउवासँग काठमाडौं झरेलगत्तै फोन संवाद गरेपछि ढुक्क भएका छन् ।
वैशाख ७ मा बैंकक गएका देउवा ६ दिनपछि शुक्रबार फर्केका हुन् । उनले विमानस्थलमा सञ्चारकर्मीसँग सत्ता गठबन्धनमा तलमाथि केही नहुने अभिव्यक्ति दिएका थिए ।
त्यसलगत्तै प्रधानमन्त्री ओलीले गरेको फोन संवादमा पनि देउवाले सोही प्रतिबद्धता दोहोर्याएको प्रधानमन्त्रीनिकट एक एमाले नेता बताउँछन् । देउवाको आश्वासनले ढुक्क भएका ओलीले शनिबार एमाले संसदीय दलको बैठकमा सरकार नढल्ने दाबी गर्दै भने, ‘कांग्रेस–एमाले गठबन्धन कुनै हालतमा टुट्ने छैन ।’
प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले बैंकक जानुअघि आफूलाई देउवाले फोनमा ‘आएपछि भेटौंला’ भनेको दाबी गर्दै देउवा फर्किएपछि समीकरण बदलिने सक्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । दाहालको अभिव्यक्ति र कांग्रेसभित्र खासगरी प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति चुलिँदै गएको असन्तुष्टिलाई लिएर एमालेभित्र र स्वयं प्रधानमन्त्री ओलीमा समेत संशय पैदा भएको थियो ।
एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका बारेमा अनावश्यक हल्ला फैलाइएको र गठबन्धनमा कुनै समस्या नभएको प्रस्ट पारे । ‘अहिलेको परिस्थितिबारे धेरै भन्नु आवश्यक छैन, हिजोसम्म आगो बाल्न खोजेका थिए, शेरबहादुर देउवाजी फर्किएर आउँदा सरकार ढल्छ कि भन्नेजस्तो हल्ला फिँजाइएको थियो,’ ओलीको भनाइ थियो, ‘देउवाजी एयरपोर्टबाट ओर्लिनेबित्तिकै यो सरकार ढल्छ कि भन्ने शैलीमा हल्ला फैलाइयो । ढल्यो, ढल्यो, ढल्यो भन्दै हल्ला गरियो । तर शेरबहादुरजी आइपुगेपछि केही भएन त ।’
एमाले संसदीय दलको बैठकपछि शनिबार साँझ पनि ओली र देउवाबीच एक्लाएक्लै र सहयोगीका बीचमा समेत केहीबेर छलफल भएको छ । भेटमा दुई दलीय समीकरणलाई प्रभावकारी बनाउने र खासगरी शिक्षकले राजधानीमा केन्द्रित गरेको आन्दोलनलाई निकास दिने विषयमा छलफल केन्द्रित भएको सहभागी एक मन्त्रीे बताउँछन् ।
छलफलमा गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त सहभागी थिए । ‘मन्त्रीसहित दुई नेताबीचको छलफलमा राजनीतिका अरू विषयभन्दा पनि शिक्षकका माग सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित भयो,’ बालुवाटार स्रोत भन्छ ।
शिक्षक आन्दोलनका साथै आवासीय चिकित्सकले सुरु गरेको अर्को आन्दोलन र गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीले गरेको ढिलाइप्रति कांग्रेसका केही नेता असन्तुष्ट छन् । पछिल्लो पटक कुलमान घिसिङको वकालत गरेको आरोपमा ऊर्जा राज्यमन्त्रीबाट पूर्णबहादुर तामाङलाई बर्खास्ती गरिएको विषयले पनि कांग्रेसका ती नेता चिढिएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य एनपी सावद अन्तर्राष्ट्रिय शक्ति सन्तुलन कायम राख्न नसकेका कारण प्रधानमन्त्री ओली दबाबमा भएको बताउँछन् । ‘कांग्रेसभित्रको सम्बन्ध भत्किन्छ कि रहन्छ भन्ने आत्मविश्वासभन्दा पनि अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन कायम गर्न नसक्दा प्रधानमन्त्री दबाबमा हुनुहुन्छ,’ उनी भन्छन् । पार्टी, संसद् र कार्यकर्ताबीच सरकारप्रति असन्तुष्टि बढेकाले देउवा पनि दबाबमा पर्दै गएको उनको भनाइ छ ।
एमाले नेता पदम गिरी भने तत्काल गठबन्धन तलमाथि हुने कहींकतै संकेतसमेत नआएको दाबी गर्छन् । ‘कांग्रेससँग भएको सहमतिलाई एमालेले इमानदारिताका साथ पालना गर्छ, त्यसमा कहींकतै शंका नहोस् भनेर प्रधानमन्त्रीज्यू आफैंले समेत १५ महिनापछि म आफैंले छोडेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँछु भन्दै आउनुभएको ।कन्तिपुर