२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

जीबी राई ‘मेक मलेसिया माई सेकेन्ड होम’ अवधारणा अनुसार तोकिएको रकम बुझाइ मलेसियामै सुरक्षित बसेको पुष्टी

जीबी राई ‘मेक मलेसिया माई सेकेन्ड होम’ अवधारणा अनुसार तोकिएको रकम बुझाइ मलेसियामै सुरक्षित बसेको पुष्टी

वैशाख २३ गते,काठमाडौं -‘तपाईंहरूकै पार्टीले गृहमन्त्रालय सम्हालेको १० महिना बित्यो । जीबी राई कहिले पक्राउ पर्छन् र नेपाल ल्याइन्छ ?,’सोमबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले प्रश्न गरे ।

सहकारी ठगी प्रकरणका मुख्य नाइके भनिएका गितेन्द्रबाबु (जीबी) राईबारे कुनै समय जोडतोडले संसद्‌मा कुरा उठाउने नेपाली कांग्रेस अहिले जीबीको विषयमा मौन छ ।

तर, आफैंले उठाएको मुद्दाका मुख्य नाइके भनिएका जीबीलाई गृहमन्त्री रमेश लेखकले कानुनी दायरामा ल्याउन सकेका छैनन् । लामो समयसम्म जीबी पक्राउ नपरेको कारणतर्फ इंगित गर्दै सांसद पराजुलीले थपे, ‘१६ अर्ब ५० करोडमध्ये ७ अर्ब मात्रै आफूले लिएकाले जीबी राईले तिर्छु भनेको सुनियो । बाँकी ९ अर्ब ५० करोडको भागेदार को-को हुन् ? यो तथ्यको अनुसन्धान हुँदा सबै उदाङ्गो हुने डरले गाँजेको कारणले जीबी राईलाई पक्राउ नगरिएको हो ?’‘जनता हल्ला गर्दैछन् नि’ भन्दै उनले जीबी पक्राउ नपर्नुको आशंकासहित प्रश्न गरे । हुन पनि अघिल्लो सरकारको पालामा जीबी राईबारे जोडतोडले विषय उठाउँदै किन पक्राउ नगरेको भन्दै संसद्‌मा ‘हंगामा’ मच्चाएको पार्टीले नै गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको छ । जिम्मेवारी सम्हालेको वर्षगाँठ पुग्न लाग्दा जीबीको विषय भने ज्यूँका त्यूँ छ ।

नेपाली कांग्रेसको प्रमुख सचेतक रहुन्जेलसम्म रमेश लेखकले सहकारी ठगी प्रकरणविरुद्ध संसद्‌मा निरन्तर आवाज उठाए । अझ लेखककै अगुवाइमा रास्वपा सभापति तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन हुनुपर्ने भन्दै संसद् नै अवरुद्ध भयो ।

अन्ततः व्यक्ति किटान नगरी छानबिन गर्नेगरी सहमति भयो । नेकपा एमालेका सांसद सूर्य थापा नेतृत्वको छानबिन समितिले ३१ भदौमा बुझाएको प्रतिवेदनमा गोर्खा मिडियामा आएको रकम अपचलनमा ४ जनालाई दोषी भन्दै कारबाहीको सिफारिस गर्‍यो । जसमा लामिछानेसहित गोर्खा मिडिया सञ्चालक जीबी राई, छविलाल जोशी र कुमार रम्तेल थिए । जसमध्ये २ जना (लामिछाने र जोशी) पक्राउ परे र अहिले पुर्पक्षका लागि भैरहवा कारागारमा छन् । पोखराको सूर्यदर्शन सहकारीसहित कालीमाटीको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन, रुपन्देहीको सुप्रिम र वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणका मुख्य योजनाकार भनिएका जीबी भने अहिलेसम्म फरार नै छन् ।

लामो समयदेखि फरार रहेका उनी अहिले पनि मेलेसियामै रहेको प्रहरी अधिकारीहरू बताउँछन् । काठमाडौंबाट भागेर मलेसिया पुगेका उनी अहिले पनि मलेसियामै सुरक्षित रूपले बसेका छन् । उच्च प्रहरी स्रोतका अनुसार उनी अहिले मलेसियामै घरजम गरेर बसेका छन् ।

एक अनुसन्धान अधिकृतका अनुसार उनी पछिल्लो समय मलेसियन युवतीसँग लिभिङ टुगेदरमा बसेका छन् । ‘जीबी मलेसियन युवतीसँग लिभिङ टुगेदरमा रहेको भन्नेसम्म विषय पुष्टि भएको छ । कानुनी रूपमा उनले विवाह पनि गरेको हुनसक्छ । जुनसुकै बेला पक्राउ परेर नेपाल फिर्ता हुनसक्ने सम्भावना भएपछि त्यसबाट बच्न उनले मलेसियन युवतीसँग विवाह गरेको हुनसक्छ,’ जीबीबारे अनुसन्धान गरेका एक अनुसन्धान अधिकृत भन्छन् ।

प्रहरीका अनुसार सुरुमा जीबी क्वालालम्पुरस्थित देशापन्डनमा अपार्टमेन्टमा बसेका थिए । ७ करोड नेपाली रुपैयाँभन्दा बढीमा उनले अपार्टमेन्ट खरिद गरेको दाबी प्रहरीको छ ।

मलेसियन युवतीसँग लिभिङ टुगेदरमा रहेकाले जीबी राई झनै सुरक्षित रहेको प्रहरीको दाबी छ । १ अर्ब रुपैयाँभन्दा बढी रकम जीबीले मलेसिया लगेर लगानी गरेको दाबी प्रहरीको छ । मलेसिया सरकारको ‘मेक मलेसिया माई सेकेन्ड होम’ अवधारणाअनुसार तोकिएको रकम मलेसियाली सरकारलाई तिरेपछि मलेसियाली नागरिक सरह बस्न मिल्छ । सोही अनुसार जीबी मलेसियामा गएर बसेको प्रहरीको भनाइ छ । अहिले भने मलेसियन युवतीसँग लिभिङ टुगेदरमा रहेकाले उनी झनै सुरक्षित रहेको प्रहरीको दाबी छ ।

मलेसियामा कुनै अपराध नगरेको, अर्ब बढीको लगानी गरेर रोजगारी समेत दिएको व्यक्तिलाई मलेसियाली सरकारले सम्बन्धित देशमा पठाउन नचाहेका कारण उनी सुरक्षित भएको प्रहरीको बुझाइ छ । जीबी राईकी पत्नी भगवती बम्जन (निशा) पनि अहिलेसम्म फरार छिन् । उनी भने मलेसियामा नरहेको प्रहरीको दाबी छ ।

जीबीलाई ल्याउनेबारे निरन्तर पहल भइरहेको प्रहरी महानिरीक्षकको सचिवालयको भनाइ छ । ‘प्रहरीको तर्फबाट हुनुपर्ने काम भइरहेकै छ । कूटनीतिक पहल पनि भइरहेको जानकारी हामीले पाएका छौं । जतिसक्दो चाँडो ल्याउने हाम्रो प्रयास जारी छ,’ आईजीपीको सचिवालयका एसएसपी रमेश थापाले अनलाइनखबरसँग भने ।

‘कूटनीतिक पहलबाहेक ल्याउन असम्भव’

मलेसियामा सुरक्षित रहेको बताइएका जीबीलाई प्रहरीको पहलबाट मात्रै नेपाल ल्याउन असम्भव भएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम यसअघि नै गरिसेकेको र प्रहरीकै अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी भएको अवस्थामा समेत राईलाई नेपाल ल्याउन सकिएको छैन ।

इन्टरपोलमार्फत रेड नोटिस जारी भए पनि पक्राउ परेर स्वदेश फिर्ता गराउन बाध्यकारी नभएकाले मलेसियन सरकारले राईलाई फिर्ता नपठाएको प्रहरीको बुझाइ छ । यसका साथै प्रहरीले आफ्नो तर्फबाट गर्नुपर्ने पहल गरेको र मलेसिया नै प्रहरी गएर समेत पहल गर्दा जीबी ल्याउन असम्भव भएको बताइएको छ ।

जसका कारण प्रहरीको आफ्नै पहलबाट जीबी राईलाई स्वदेश ल्याउने प्रक्रिया लगभग असम्भव रहेको प्रहरी अधिकारीहरू बताउँछन् । ‘प्रहरीको तर्फबाट गर्ने सबै काम यसअघि नै भइसकेका छन् । इन्टरपोलको नोटिस समेत बाध्यकारी हुँदैन । जसका कारण हाम्रो पलहबाट मात्र उनलाई ल्याउन सम्भव छैन,’ राईबारे अनुसन्धान गरिरहेका एक अधिकारीले अनलाइनखबरसँग भने । यसका लागि सरकार टु सरकार अर्थात् कूटनीतिक पहल हुन आवश्यक छ । कूटनीतिक पहलबिना जीबीलाई ल्याउन नसकिने भन्दै प्रहरी हेडक्वार्टरले यसबारेमा गृह मन्त्रालयलाई समेत ब्रिफिङ गरिसकेको एक अधिकारी बताउँछन् ।

प्रहरीको उक्त ब्रिफिङपछि गृहले पनि केही कूटनीतिक पहल गरेको दाबी गरे पनि यसले अहिलेसम्म सार्थकता पाउन सकेको छैन । जसका कारण राई लामो समयदेखि मलेसियामा सुरक्षित रहेको बताइन्छ । गृहमन्त्री लेखकको सचिवालयका अनुसारका उनी गृहमन्त्री भएपछि पटक-पटक मलेसियन सरकारसँग समन्वय गरेर जीबी फिर्ताको विषयमा कुरा भइरहेको छ । परराष्ट्रमार्फत कूटनीतिक नोट समेत पठाइएको थियो । तर मलेसियन सरकार भने जीबीलाई पठाउन इच्छुक देखिएको छैन ।

पाँच जिल्लामा मुद्दा दायर भएका जीबीको विदेशमै मस्ती

जीबी कालीमाटीको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा र वीरगञ्जको सानो पाइला गरी पाँच सहकारीको रकम अपचलनमा जोडिएका छन् । सहकारी ठगीमा जोडिएका जीबी फरार भएपछि इन्टरपोलमार्फत १३ माघ २०८० मा डिफ्युजन नोटिस जारी भएको थियो । २१ फागुन २०८० मा इन्टरपोलले जीबीविरुद्ध रेड नोटिस समेत जारी भयो । रेड नोटिस जारी भएको एक वर्ष नाघ्दा पनि उनीविरुद्ध केवल मुद्दा दर्ता गर्नु नै ठूलो उपलब्धि सरकारले मानेको छ । त्यो भन्दा बढी कुनै प्रगति हुन सकेको छैन ।

उनै जीबी प्रहरीको खोजी सूचीमा रहे पनि अहिलेसम्म फरार नै छन् । जीबीलाई नेपाल ल्याउने भन्दै यसअघि नेपाल प्रहरीका एक एसपीसहित दुई जना मलेसिया समेत पुगेका थिए । जीबी मलेसियामा रहेको कन्फर्म गरेर आउनु बाहेक उक्त टोलीले केही गर्न सकेन । उक्त टोलीले जीबी मलेसियामा माई सेकेन्ड होम भिसा लिएर बसेको निष्कर्ष निकालेको थियो ।

मलेसिया पुगेको प्रहरी टोलीसँग एक मलेसियन महिलाको विषय समेत उठेको थियो । नेपाली युवासँग प्रेम सम्बन्धमा रहेपछि क्वालालम्पुरकी ५७ वर्षीया माला भेल्लो नाम गरेकी महिला २४ मार्च २०१२ मा नेपाल आएकी थिइन् । भिजिट भिसामा नेपाल आएकी भेल्लो र ती युवक २ वर्षसम्म काठमाडौंमा सँगै बसेका थिए । त्यसपछि ती युवाले भेल्लोसँग विवाह नगरी उनलाई छाडेर दुबई गए ।

यता, काठमाडौंमै रहेकी भेल्लोमाथि सामूहिक बलात्कार र यातना दिने काम भएको विषय मलेसियन प्रहरीले उठाएको थियो । ओभर स्टेमै रहेर विभिन्न काम गर्दै आएकी भेल्लो त्यसपछि मलेसिया फर्कने तयारीमा थिइन् । उनी ९ मार्च सन् २०२२ मा अध्यागमन कार्यालय कालिकास्थान समेत पुगिन् । तर, अध्यागमनले भेल्लोलाई ३ हजार ६३७ दिन ओभर स्टेमा रहेको भन्दै २६ लाख ३८ हजार ५१७ रुपैयाँ जरिवाना सुनायो । उक्त रकम भेल्लोले बुझाउन नसक्ने बताएपछि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १६४ को उपदफा ५ बमोजिम जरिबाना वापत हुने कैद सजाय ७ वर्षसम्म कैद बस्नुपर्ने ठहर गर्‍यो ।

जसअनुसार उनी २५ फागुन २०७८ देखि २४ फागुन २०८५ सम्म कैद बस्नुपर्ने भयो । अध्यागमनको उक्त निर्णयपछि उनी केन्द्रीय कारागार सुन्धारा चलान भइन् । आफ्नो पीडा सुनाउँदा समेत अध्यागमनले नसुनेपछि उनी कारागार चलान भएकी थिइन् । भेल्लो आफू मानव बेचबिखन तथा ओसारपसारको सिकार भएको बताउँदै कानुनी लडाईँ लडिन् ।

घटनाबारे उनले मलेसियामा रहेकी आफ्नी छोरीलाई समेत जानकारी गराइन् । छोरीले पनि आमालाई मलेसिया फिर्ताका लागि पहल गरिन् । मलेसिया गएको टोलीसँग यो विषय उठाएपछि कानुनी प्रक्रिया मिलाएर २ भदौ २०८१ मा भेल्लो रिहा भइन् । र, १४ भदौमा मलेसिया फिर्ता गरियो । तर, पनि मलेसियन सरकारले जीबीबारे ग्रिन सिग्नल नदिएपछि उनी नेपाल फिर्ता आउन सकेका छैनन् । सोमबारकै संसद्‌मा सांसद पराजुलीले भने, ‘रास्वपाले केवल प्रश्न मात्रै उठाएको छैन । जनताको बचत फिर्ता गराउन र यो क्षेत्रलाई नियमन गर्न लिखित सुझाव अघिल्लो वर्ष नै सरकारलाई पेस गरेको थियो । यो ठगी प्रकरणसँग जाडिएको वास्तविक पीडकलाई न्यायको कठघरामा उभ्याउने र ठगी प्रकरणका सबै भागिदारबाट असुल उपर गराउने र पीडितलाई क्षतिपूर्तिसहित बचत फिर्ता गराउन चेतावनीसहित सरकारलाई ध्यानकर्षण गराउन चाहन्छु ।’सांसद पराजुलीले यो विषय संसद्‌मा उठाए पनि सहकारीपीडितले भने अहिलेसम्म बचत फिर्ता पाउन सकेका छैनन् ।अनलाइनखबर

Share on Social Media