२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

‘लामखुट्टेलाई नै औषधि’: औलो नियन्त्रण गर्ने नयाँ उपाय

‘लामखुट्टेलाई नै औषधि’: औलो नियन्त्रण गर्ने नयाँ उपाय

जेठ ९ गते,काठमाडौं – लामखुट्टेहरूलाई मलेरिया अर्थात् औलोको औषधि दिएर परजीवीमुक्त पार्दा तिनले उक्त रोग फैलाउन नसक्ने निष्कर्षमा अमेरिकी वैज्ञानिकहरू पुगेका छन्।

मलेरियाका कारण संसारभरि बर्सेनि झन्डै ६ लाख मानिसको ज्यान जान्छ। सङ्क्रमित पोथी लामखुट्टेले रगत चुस्न मानिसलाई टोक्दा यो रोग सर्छ।

अहिलेसम्म लामखुट्टेलाई मलेरियामुक्त पार्ने प्रयास नगरी कीटनाशक पदार्थ प्रयोग गरेर तिनलाई मार्ने उपाय अवलम्बन गर्दै आइएको छ।

हार्भर्ड विश्वविद्यालयसँग आबद्ध वैज्ञानिकहरूको एउटा टोलीले लामखुट्टेमा हुने परजीवी (प्लाज्मोडिअम) नष्ट गर्न सक्ने दुइटा औषधि पत्ता लगाएका छन्। ती औषधि लामखुट्टेका खुट्टाबाट शरीरभित्र प्रवेश गर्छन्।

ती औषधिको घोललाई झुलमा लेपन गरेर प्रयोगमा ल्याउने दीर्घकालीन लक्ष्य छ। औलो फैलाउने लामखुट्टेले रात परेपछि टोक्ने भएकाले झुलभित्र सुत्नुलाई सो रोगबाट जोगिने सबैभन्दा उत्तम उपाय मानिन्छ।

औलो रोगको उच्च जोखिम भएको क्षेत्रमा बस्ने बालबालिकालाई जोगाउन खोपको सिफारिस समेत गरिँदै आएको छ।

झुलभित्र बस्दा गर्दा लामखुट्टेले मानिसलाई भौतिक अवरोध भएका कारण टोक्न सक्दैन। केही झुलमा लामखुट्टे मार्ने कीटनाशक पदार्थ पनि हालिएको हुन्छ।

तर कैयौँ देशमा लामखुट्टेमा कीटनाशक औषधि प्रतिरोध गर्ने क्षमता बढेको छ। त्यसैले रासायनिक औषधिले पहिले झैँ प्रभावकारी रूपमा काम गर्न छाडेका छन्।

“हामीले यसअघि सोझै लामखुट्टेमा हुने परजीवीलाई निर्मूल पार्ने प्रयास गरेका थिएनौँ। हामी केवल लामखुट्टे मार्दै थियौँ,” हार्भर्डका अनुसन्धानकर्ता डा अलेक्सान्ड्रा प्रोब्स्ट भन्छिन्।

तर त्यो तरिका “प्रभावकारी हुन छोडेको” उनी बताउँछिन्।

अनुसन्धानकर्ताहरूले प्लाज्मोडिअमको डीएनए विश्लेषण गरेर लामखुट्टेलाई सङ्क्रमण गर्दा उक्त परजीवीमा हुन सक्ने सम्भावित कमजोरी खोज्ने प्रयास गरे।

अनेकौँ सम्भावित औषधिहरू केलाएर उनीहरूले २२ वटाको सूची तयार पारे। पोथी लामखुट्टेलाई औलोका परजीवीयुक्त रगत सेवन गर्न दिएर ती औषधिहरूको परीक्षण गरियो।

‘नेचर’ जर्नलमा प्रकाशित आलेखमा वैज्ञानिकहरूले उक्त परजीवीलाई निमिट्यान्न पार्न निकै प्रभावकारी देखिएका दुई औषधिबारे चर्चा गरेका छन्।

झुलजस्तै सामग्रीमा राखेर ती औषधिको प्रयोग गरिएको थियो।
“झुलको सम्पर्कमा आएका लामखुट्टे बाँचिहाले पनि तीभित्रका परजीवी मर्छन् र ती लामखुट्टेले औलो रोग फैलाउन सक्दैनन्,” डा प्रोब्स्टले भन्छिन्।

उनका अनुसार औलोका परजीवीहरूले यी औषधि प्रतिरोध गर्ने सम्भावना न्यून छ। सङ्क्रमित व्यक्तिमा यी परजीवीहरू लाखौँको सङ्ख्यामा हुन्छन् भने लामखुट्टेमा यिनको सङ्ख्या पाँचभन्दा पनि कम हुन्छ।

झुलमा वर्ष दिनसम्म प्रभावकारी रहने देखिएकाले यी औषधिहरू अहिले प्रयोगमा भएका कीटनाशक पदार्थभन्दा सस्तो हुने र तिनको दीर्घकालीन विकल्प बन्न सक्ने शोधकर्ताहरूको धारणा छ।

प्रयोगशालामा यो विधि प्रभावकारी देखिएको छ। वास्तविक संसारमा लामखुट्टे छेक्ने र औलो नियन्त्रण गर्ने झुलको प्रभावकारिता जाँच्न आउँदो चरणमा इथिओपियामा परीक्षण गर्ने योजना बनिसकेको छ।

यो विधिको प्रभावकारिता जाँच्ने अध्ययन पूरा हुन ६ वर्ष लाग्ने बताइएको छ।

परीक्षणका क्रममा झुलमा मलेरियाविरुद्धको औषधि र कीटनाशक पदार्थ दुवैको प्रयोग गर्ने अवधारणा अपनाइएको छ। त्यसो गर्दा एउटा विधिले काम नगरेमा अर्को प्रभावकारी बन्न सक्छ।बिबिसी नेपाली

Loading poll ...
Share on Social Media