२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान

भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान

असार ५ गते, काठमाडौँ -भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे)संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो ।

रेड पान्डा पाइने चार वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाको अवस्थाको विषयमा जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ । रेड पान्डाको संरक्षणको लागि यहाँको टेम्केमैयुङ–१ सावामा रहेको भुरुखेक र महाभिर वाल्वानी सामुदायिक वनमा आठ हजार मालिङ्गो बिरुवा रोपन गरिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो । रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि यी क्षेत्रमा तीन वटा ठूला पोखरीसमेत निर्माण गरिएको उहाँको भनाइ छ ।

गत आर्थिक वर्षमा पोखरी निर्माण तथा रेड पान्डाको आहार मालिङ्गो रोपनको लागि श्रमदानसहित रु १३ लाख ३० लागत बराबरको काम सम्पन्न भएको अधिकृत अधिकारीले जानकारी दिनुभयो । “हामीले रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “रेड पान्डाको मुख्य आहार मालिङ्गो (बाँस प्रजाति)को आठ हजार बिरुवा रोपन गरेका छौँ । रेड पान्डा नेटवर्कसँगको सहकार्यमा रेड पान्डाको संरक्षण गरिरहेका छौँ । रेड पान्डाले मालिङ्गोका टुसा मन पराउने हुनाले यहाँ बिरुवा रोपन गरिएको हो ।”

राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार रेड पान्डाको चोरी, सिकारी गरेको खण्डमा रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना, एकदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको अधिकारीले जानकारी दिनुभयो ।

मुन्दुम पदमार्गमा पर्ने यी स्थानमा रेड पान्डा संरक्षणले यहाँको पर्यापर्यटनमा समेत टेवा पुग्ने उहाँको भनाइ छ । रेड पान्डाको वासस्थन संरक्षणको लागि विशेष रुपमा जोड दिएको छ । यहाँको नयाँ खर्क, भुरुखेक, धप्परे एकराते र मैयुङ सामदायिक वनमा क्यामेरा जडान गरिएको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिनुभयो । यहाँको धप्परे एकराते सामुदायिक वनमा रेड पान्डा फेला भएको उहाँको भनाइ छ ।

“हामीले रेड पान्डा नेटवर्कमार्फत संरक्षणको काम गरिरहेका छौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यहाँ रेड पान्डा फेला परेको अवस्था छ । संरक्षित क्षेत्रमा क्यामेरा जडान गरेर गणनाको काम भइरहेको छ । स्थानीयलाई सचेत गराएर रेड पान्डाको संरक्षणसँगै चोरी, सिकारीबाट रोक्नको लागि आवश्यक काम गरिरहेका छौँ ।”

रेड पान्डाको सुरक्षाको लागि घुम्ती गस्ती गर्न तालिम दिएर सात वटा समूहलाई परिचालन गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । स्थानीयवासीले रेड पान्डाको अवस्थाको जानकारीसँगै चोरी सिकारी हुनबाट बचाउन भूमिका खेल्ने उहाँले जानकारी दिनुभयो । साथै पारिश्रमिक दिएर दुई जना वन अभिभावकसमेत नियुक्त गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । वन अभिभावकले हेरालु समूहको परिचालनसँगै यहाँको रेड पान्डाको विषयमा समय÷समयमा अध्यावधिक गराउने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

आगलागी व्यवस्थापनका लागि तालिम, दिगो जीविकोपार्जनको सम्भाव्यता अध्ययनलगायतका कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । रेड पान्डाको चारी, सिकारी तथा हानिनोक्सानीबाट बचाउन गाउँपालिकाले आवश्यक भूमिका खेल्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । रेड पान्डालाई यहाँको पर्यटनसँग जोडेर भावी दिनका योजना अघि बढाइने उहाँको भनाइ छ ।

टेम्केमैयङ गाउँपालिकाले विभिन्न निकायसँगको सहकार्यमा रेड पान्डाको संरक्षणमा जोड दिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । रेड पान्डा पाइने क्षेत्रलाई रेड पान्डा जोनको रुपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । रासस

Loading poll ...
Share on Social Media