२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

म्याग्दीमा व्यावसायिक अरिङ्गाल पालन

म्याग्दीमा व्यावसायिक अरिङ्गाल पालन

असार १२ गते,काठमाण्डौ- पाखो बारीको भित्तामा ससाना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिङ्गालका गोला छन् ।

म्याग्दीको बेनी नगरपालिका–६, जामुनाखर्कका अशोक शाही राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिँगाल पालन गर्नुहुन्छ । शाहीले नजिकैको जङ्गलबाट ल्याएर ११ गोला अरिङ्गाल पाल्न थालेको जानकारी दिनुभयो । राहुवडामा खुर्सानी खेतीका लागि सम्याएको पाखाको भित्ता र जामुनाखर्कमा घरको बार्दलीमा उहाँसँगै श्रीमती गीताले अरिङ्गाल पालन गर्नुभएको हो ।

“नयाँ किसिमको व्यवसाय गर्ने योजनाअनुसार गतवर्ष जङ्गलबाट घरमा ल्याएर गरेको अरिङ्गाल पालन सफल भएको छ”, गीताले भन्नुभयो, “मौरी जसरी नै गोला स्थानान्तरण विधिबाट अरिङ्गाल पाल्दा यसको संरक्षणसँगै आम्दानीको स्रोत हुने रहेछ ।”

पर्वतको जलजला गाउँपालिकाको लघुउद्यम विकास सहजकर्तासमेत रहनुभएकी गीताको योजनालाई गाउँमा हस्तकला तथा फर्निचर उद्योग सञ्चालन गर्दै आउनुभएका श्रीमान् अशोकले साथ दिनुभएको छ ।

प्रत्येक दुई महिनामा एउटा गोलाबाट आठ किलोसम्मको अरिङ्गालको लार्भा निकाल्न सकिने शाहीले जानकारी दिनुभयो । “जङ्गलमा अरिङ्गालको गोला देखाउनेलाई बिक्री गरेर भएको आम्दानीको आधा रकम दिने गरेका छौँ”, अशोकले भन्नुभयो, “अरिङ्गालले टोक्न नसक्ने कपडा र सुरक्षा कवच (सेफ्टी बेल्ट) प्रयोग गरी रुखमा चढेर रानीसहितको अरिङ्गालको गोला ल्याएर पाल्ने गरेका छौँ ।”

जङ्गलबाट ल्याइएको अरिङ्गाल २५ प्रतिशत भागेर जाने र ७५ प्रतिशत मात्रै राखेको ठाउँमा बस्ने गरेका शाही दम्पतिको अनुभव छ । “बेनीका होटलमा अरिङ्गालको लार्भाबाट बनेका परिकार बिक्री हुन्छन् । काँचो लार्भा प्रतिकिलो तिन हजार ५०० का दरले बिक्री हुने गरेको छ”, शाहीले भन्नुभयो ।

गतवर्ष ३० किलो लार्भा उत्पादन गरेका शाही दम्पतिले यस वर्ष २५ वटा गोला पालेर करिब एक क्विन्टल लार्भा बेच्ने लक्ष्य राखेको बताउनुभयो । “एउटा गोलाबाट एक पटकमा आठ किलोसम्म लार्भा निकाल्न सकिन्छ । प्रत्येक दुई, दुई महिनामा लार्भा निकाल्न सकिन्छ”, उहाँले भन्नुभयो ।

पालेका अरिङ्गाल चरनका लागि जङ्गल र खेतबारीमा जान्छन् । किरा, फट्याङ्जा, विभिन्न प्रजातिका फूल तथा फलफूल अरिङ्गालका आहारा हुन् । झरी परेको समयमा मासु र फलफूल आहाराका रूपमा दिने गरेको शाहीले बताउनुभयो ।

शक्तिवर्द्धक मानिने अरिङ्गालको भुटेको लार्भा प्रतिरिकापी ६०० का दरले बिक्री हुने बेनीका होटल व्यवसायी राजन लामाले बताउनुभयो । अरिङ्गाल बर्खा याममा बेनीमा आउने पाहुनाको प्रमुख रोजाइमा पर्ने गरेको उहाँको अनुभव छ । जेठबाट गोला बनाउन सुरु गर्ने अरिङ्गालका लार्भा कात्तिकसम्म बिक्री हुन्छन् ।

“अरिङ्गाल पाल्न सजिलो काम भने होइन । गोला जङ्गलबाट सार्दा सावधानी अपनाउन सकिएन भने ज्यान जोखिममा पर्छ । अरिङ्गाल रिसाएर टोक्ने सम्भावना बढी हुन्छ”, अशोकले भन्नुभयो, “बास बसेको समयमा स्थानान्तरण गर्नुपर्छ । मानिसको आवतजावत कम हुने ठाउँमा ल्याएर पालेका छौँ ।” उहाँका अनुसार रातो र कालो जातका अरिङ्गाल बढी पाइन्छन् ।

जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले अरिङ्गाल पालन म्याग्दीमा नयाँ वनजन्य उद्यम भएको बताउनुभयो । “लार्भाका लागि गोला पोलेर अरिङ्गालको वंश नै नष्ट गर्नुभन्दा पालन गर्दा यसको संरक्षण पनि हुने, आम्दानी पनि हुन्छ”, उहाँले भन्नुभयो, “जोखिम भएकाले अरिङ्गाल पालनमा सावधानी भने अपनाउन आवश्यक छ ।” रासस

Loading poll ...
Share on Social Media