२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

बस दुर्घटनामा १४ घाइते, एक जना गम्भीर

बस दुर्घटनामा १४ घाइते, एक जना गम्भीर

साउन १७ गते,किमाथाङ्का (सङ्खुवासभा)-धर्मदेवी नगरपालिका–९, मुलगाउँबाट दमक जाँदैगरेको बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । बा. २ प. ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१, देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

घाइते हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९, का २३ वर्षीय सविन विष्ट, धर्मदेवी–७, का २५ वर्षीय भवानी कार्की, सात वर्षीया असीमित भारती, नौ वर्षीया हीरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुमार कटुवाल, ५२ वर्षीया धनमाया चापागाईं, धर्मदेवी–६ का ५२ वर्षीय श्रीमान् तामाङ, १५ वर्षीया प्रतिमा कटुवाल, १६ वर्षीया सोममाया याइम, ३० वर्षीय सुजन कटुवाल ६२ वर्षीय दलबहादुर कार्की र धनकुटाको महालक्ष्मी नगरपालिका–१ का २४ वर्षीय विमल विक रहेका छन् ।

घाइतेमध्ये धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्ट गम्भीर रहेकाले उहाँलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रनाउले बताउनुभयो । अन्य घाइतेको वसन्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस दुर्घटना लगत्तै चालक सङ्खुवासभाको धर्मदेवी–६ का खेम महत फरार रहेको प्रहरीले जनाएको छ । रासस

Loading poll ...
Share on Social Media