२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

साउन २७ गते,काठमाडौं -चितवनमा कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले तीन महिनामा गरेको अध्ययनका क्रममा ‘चिकेन एनेमिया भाइरस’ पुष्टि भएको हो ।

कार्यालयका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार, चितवनसहित जिल्लाका कुखुरामा यो भाइरसको समस्या देखिएको छ । कार्यालयले एलाइजा प्रविधिबाट गरीएको परीक्षणका क्रममा संक्रमण भएको पुष्टि भएको हो ।

उनका अनुसार, ९२ नमुना परीक्षणका क्रममा ३३ प्रतिशत अर्थात् ३१ वटा नमुनामा यो भाइरसको पुष्टि भएको हो ।

यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्छ । जसले गर्दा अन्य रोगले कुखुरामा आक्रमण गर्ने गरेको उनले बताए । “प्रत्यक्षरूपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्दछ,” उनले भने ।

यस रोग लागेका कुखुरामा रक्तअल्पदा हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्षण देखा पर्छन् । “कुखुराले चारा खाने, हिँडडुल गर्ने गरे पनि यसको प्रभाव दीर्घकालीनरूपमा पर्ने भएकाले बेवास्ता गर्नुहुँदैन,” उनले भने ।

नेपालमा यो रोग काठमाडौंमा पहिलोपटक दुई वर्षअघि देखिएको उनले जानकारी दिए । कुखुरालाई यो रोगबाट बचाउन ‘चिकेन एनेमिया भाइरस’ विरुद्धको भ्याक्सिन दिनुपर्ने उनले बताए । ब्रोइलरको माउ र लेयर्सको माउ तथा चल्ला दुवैमा यो खोप दिनुपर्ने उनले बताए ।

चितवनसहित १६ जिल्लाबाट संकलित नमुना यो प्रयोगशालामा परीक्षण हुँदै आएको छ । गत आर्थिक वर्षमा प्रयोगशालाले दुई हजार ५०० किसानका सात हजार कुखुराको परीक्षण गरेको छ । जसबाट ‘लो प्याथोेनिक एभिएन इन्फुलुन्जा’ (एच–नाइन) ४८ वटामा, रानीखेत १३ वटामा, गम्बारो १२२ वटामा र आइबी (इन्फुलुन्जा ब्रोंकाइटिस) दुई वटामा देखिएको श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, सोही अवधिमा एक हजार १२० वटा कुखुराको कलेजो परीक्षण गरिएको थियो । यस परीक्षणबाट इकोलाई ७८५ वटामा र साल्मोनेला ११२ वटामा देखिएको उनले बताए । जैविक सुरक्षाको अभावमा यी संक्रममण देखिएका हुन् । फार्ममा दाना, पानी, औषधि, भुसलगायत सामग्री लैजाँदा र अन्डा बाहिर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उनी बताउँछन् ।

बजारमा निसंक्रम गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निसंक्रमण गर्नुपर्ने हुन्छ । रासस

Loading poll ...
Share on Social Media