२०८२ कार्तिक २ आईतवार
19 October 2025, Sunday
Menu
 

राष्ट्रपतिसमक्ष प्रधानमन्त्री कार्कीले लिनुभयो पद तथा गोपनीयताको शपथ

राष्ट्रपतिसमक्ष प्रधानमन्त्री कार्कीले लिनुभयो पद तथा गोपनीयताको शपथ

भदौ २७ गते,काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारीको उपस्थिति छ ।

आजै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्नु भएको थियो । नेपाली राजनीतिक इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ । जेन जी आन्दोलनकारीको प्रतिनिधित्व गर्दै उहाँ सरकारको नेतृत्व गर्दै हुनुहुन्छ ।

को हुन सुशीला कार्की ?

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुनुहुन्छ । उहाँले २०७३ साल असारदेखि २०७४ जेठसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुभएको थियो ।

इमानदार, निष्पक्ष र साहसी न्यायाधीशका रूपमा चिनिने कार्की भ्रष्टाचारविरुद्ध कठोर निर्णय गर्ने र न्यायपालिकाको स्वतन्त्रता कायम राख्ने व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ ।

निडर स्वभाव र सरल जीवनशैली अपनाउने कार्की न्याय क्षेत्रमा स्वच्छ छविका रूपमा स्थापित व्यक्तित्व हो ।

उहाँको कार्यकालमा विभिन्न ठूला मुद्दाहरूमा ऐतिहासिक फैसला भएका थिए । जसमा आमाको नामबाट नागरिकता लिन पाइने आदेश, ठूला राजनीतिक व्यक्ति विरुद्धका भ्रष्टाचार मुद्दामा कठोर निर्णय र तत्कालीन कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाउन दिएको आदेशलगायत छन् ।

कार्कीमाथि राजनीतिक शक्तिहरूले महाभियोग प्रस्तावसमेत ल्याएका थिए तर न्यायिक स्वतन्त्रताप्रतिको जनसमर्थनका कारण त्यो प्रस्ताव अघि बढेन ।

उहाँले आफ्नो कार्यकालमा जनतामाझ न्यायपालिकाको छवि पुनर्स्थापित गर्ने महत्वपूर्ण योगदान दिनुभएको छ ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media