२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

असोज २६ गते,काठमाडौँ – नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको रोमाञ्चक जित हात पारेको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा आइतबार भएको खेलमा जितका लागि एक सय ४१ रनको मध्यम लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन मात्र बनाउन सक्यो । जितसँगै नेपालले विश्वकप छनोटको सम्भवना बलियो बनाएको छ । नेपालले सुपर सिक्समा चार अङ्क बनाएको छ । युएईका लागि अलिशान सरफुले सर्वाधिक ५८ रनको अर्धसतकीय इनिङ्स खेलेका थिए ।

उनले ४० बलमा तीन चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाएका हुन। यस्तै ध्रुव पराशरले ३२, ओपनर जोनाथन फिगीले १९ र जाहित अलीले ११ रन बनाएका थिए । बलिङमा नेपालमा दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । सोमपाल कामी, गुल्शन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४० रन बनाएको थियो ।

नेपालका लागि आशिफ शेखले ५१ रनको अर्धसतकीय इनिङ्स खेलेका थिए । उनले ४७ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका हुन । यस्तै कुशल भुर्तेलले २८, कप्तान रोहितकुमार पौडेलले २०, गुल्शन झाले १४ र कुशल मल्लले १० रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

बलिङमा युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले एक एक विकेट लिएका थिए। नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो ।

नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । यस्तै युएईले समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा स्थान बनाएको हो । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो । नेपालले सुपर सिक्सको दोस्रो खेलमा सोमबार कतारसँग तेस्रो खेलमा बुधबार ओमानसँग र अन्तिम तथा चौथो खेलमा शुक्रबार सामोआसँग खेल्नेछ ।

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media