२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

स्पेनमा कृषि क्षेत्रमा ‘दास’ सरह काममा लगाइएका सयौँ नेपालीको उद्धारले उठाएका प्रश्न

स्पेनमा कृषि क्षेत्रमा ‘दास’ सरह काममा लगाइएका सयौँ नेपालीको उद्धारले उठाएका प्रश्न

मङ्सिर २५ गते,काठमाडौँ – स्पेनमा कृषि क्षेत्रमा ‘आधुनिक दास’ सरह काममा लगाइएका सयौँ नेपालीलाई प्रहरीले उद्धार गरेपछि विदेशमा लगेर बाध्यात्मक काममा लगाउने प्रवृत्ति निरुत्साहित गर्न ठोस कदम चाल्न नेपाल सरकारलाई आग्रह गरिएको छ।

गत साता स्पेनको प्रहरीले अधिकांश नेपालीसहित झन्डै ३०० जना आप्रवासीहरूलाई ‘आधुनिक समयको दासता’ जस्तो अवस्थामा राखेर काममा लगाएको अभियोगमा ११ जनाको गिरोहलाई पक्राउ गरेको थियो।

उक्त प्रकरणले युरोपमा बढ्दो मानव तस्करी र नेपालीहरूको अवस्थाबारे चासो र चिन्ता बढेको हो।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले गत नोभेम्वर महिनामा सो घटनाबारे थाहा पाएपछि दक्षिण पूर्वी स्पेनको अल्बसीथ नगर पुगेर त्यहाँ रहेका नेपालीहरूसँग भेटघाट गरेको बताए।

“उहाँहरूलाई अत्यन्तै दयनीय अवस्थामा राखेको, बसबाट काम गर्ने फार्मसम्म ल्याउने र लैजाने गरिएको, न्यूनतम तलब दिने वा तलबै नदिने गरिएको र उल्टो उहाँहरूबाट आवास, खाना र यातायातबापत भन्दै पैसा लिने गरिएको हामीले थाहा पायौँ,” श्रेष्ठले भने। त्यहाँ रहेका नेपालीहरूको सहयोगका लागि सङ्घकै पदाधिकारीले दोभासेको काम गरिरहेको र राहतस्वरूप खाद्यान्न, तेल आदि उपलब्ध गराइएको पनि उनले जनाए। “उहाँहरूलाई तत्काल सहयोग गर्न हामीले सङ्घमा छुट्टै कमिटी बनाएका छौँ र स्पेनस्थित नेपाली दूतावासमा ज्ञापनपत्र दिएका छौँ,” उनले भने।

उद्धार गरिएका नेपालीहरूका लागि स्थानीय रेडक्रसले छुट्टै बसोबासको व्यवस्था मिलाएको पनि उनले जनाए।

“हामीसँग श्रोत साधन सीमित भए पनि सक्दो सहयोग गरिरहेका छौँ। पीडित नेपालीहरूलाई कानूनी र अन्य आवश्यक सहयोग तत्काल उपलब्ध गराउन हामी नेपाल सरकारसँग माग गर्दछौँ। त्यस्तै गलत प्रलोभनमा पारेर नेपालीहरूलाई युरोप लगायतका मुलुक पठाउने गिरोहहरूको पहिचान गरी कडा कारबाही गर्न पनि माग गर्दछौँ,” श्रेष्ठले भने।

‘दास जस्तो व्यवहार’

स्पेनी प्रहरीले दासलाई जस्तै व्यवहार गरी अधिकांश नेपालीसहित सयौँ आप्रवासीहरूलाई काममा लगाइएको जनाएको छ। प्रहरीका अनुसार सुरुमा विभिन्न युरोपेली मुलुक छिरेका ती आप्रवासीलाई अलिकान्टे, भ्यालेन्सिया र सारागोजा क्षेत्रका गाउँ बस्तीमा लगेर कृषि फार्ममा काम गराइन्थ्यो।

छापा मारिएको स्थानबाट प्रहरीले नगद, नक्कली कागजात र मोबाइल फोन आदि बरामद गरेको थियो। प्रहरीले आप्रवासीहरूलाई हावापानी नछिर्ने कक्षमा कोचाकोच गरेर राखिएको जनाएको छ। स्पेनकै अन्य क्षेत्रमा पनि यसरी कृषि क्षेत्रमा आप्रवासीहरूलाई बाध्यात्मक श्रममा लगाइएको छ कि भनेर प्रहरीले अनुसन्धान गरिरहेको समाचारहरूमा जनाइएको छ।

स्पेनका लागि नेपालका कार्यवाहक राजदूत पूरक अधिकारीले त्यहाँ पुगेर स्थानीय प्रहरी, स्थानीय निकाय तथा स्थानीय अदालतसँग पनि सम्पर्क र समन्वय गरिरहेको उनले जानकारी दिए। उनले प्रहरीले फेला परेका ३०० भन्दा बढी आप्रवासीमध्ये १७८ जनालाई नेपालीको रूपमा पहिचान गरेको पनि बताए।
“उहाँहरूलाई प्याज खेती लगायतका कृषि कर्ममा संलग्न गराइएको रहेछ। एकदमै दयनीय अवस्थामा बस्न, खान मात्रै दिएर बेसिक तलबमा काममा लगाइएको रहेछ। कति जनाले महिनौँदेखि तलब नपाएको गुनासो गर्नु भयो।” कार्यवाहक राजदूत अधिकारीले त्यहाँ रहेका सबै नेपालीसँग नेपाली राहदानी लगायतका कागजात रहेको र अन्य आवश्यक सहयोगका लागि दूतावासले सहजीकरण गरिरहेको पनि जनाए।

विगत केही समय यता क्रोएसिया, रोमानिया, माल्टा लगायतका मुलुकमा नेपालीहरू सयौँको सङ्ख्यामा सिजनल भिसा वा कृषि मजदुरको रूपमा जाने गरेको र त्यहाँ प्राप्त अस्थायी अनुमति पत्रको आधारमा स्पेन लगायतका मुलुकमा लुकीछिपी काम गर्ने गरेको जानकारहरू बत्ताउँछन्।

इन्टरन्याशनल अर्गनिजेशन अफ माइग्रेशन (आइओएम) मा लामो समय काम गरेकी आप्रवासनसम्बन्धी अनुसन्धानकर्ता डा. मीना पौडेलले अहिले स्पेन जस्तै पोर्चुगल र ग्रीस लगायतका मुलुकमा पनि नेपालीहरूलाई वाध्यात्मक श्रममा लगाउने घटनाहरू बढी रहेको जनाइन्। स्पेनमा कृषि क्षेत्रमा काम पनि पाइन्छ र निश्चित अवधि बसे छि आवासीय अनुमति पत्रको लागि निवेदन पनि दिन पाइन्छ भनेर ठूलो सङ्ख्यामा नेपालीहरू त्यसतर्फ गइरहेको उनले जनाइन्।

डा. पौडेलका अनुसार सुरुमा घरबाट निस्कँदा रोजगारीको खोजीमा विदेश जाने मात्रै ध्येय भए पनि त्यस पछि पाइला पाइलामा नेपालीहरू मानव तस्कर र ठगहरूको फन्दामा पर्ने गरेका छन्। त्यस्ता गिरोहले थप रकम माग्दै ठगी गर्ने गरेको पनि उनले बताइन्।

“अहिले आफू जान लागेको मुलुक, त्यहाँको नियम कानून र आफूलाई काम दिने भनेको कम्पनीबारे इन्टरनेटमा सजिलै जानकारी उपलब्ध हुने भएकाले सबैभन्दा पहिले त सम्बन्धित व्यक्ति नै सजग हुनुपर्छ। साथसाथै वैदेशिक रोजगारीको नाममा नेपालीलाई संसारभरि ठग्ने र विभिन्न खाले शोषण गर्ने प्रवृत्ति देखिएकाले अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरी त्यसलाई नियन्त्रण गर्न सरकारले तत्काल कदम चाल्नुपर्छ,” उनले भनिन्।

“हरेक दिनजसो नेपालीहरू विदेशमा ठगिइरहेको समाचार आइ रहँदा पनि राज्यले नदेखेको जस्तो गरी रहेको छ। हामीसँग आप्रवासन व्यवस्थापन नीति, श्रम आप्रवासन नीति नै छैन। त्यसका लागि संसद् र सरकार जबाफदेही हुनु पर्छ। नेपाली आप्रवासी कामदारको हकहित संरक्षण गर्न स्पेनजस्ता मुलुकहरूसँग श्रम सम्झौता गर्नु पर्छ,” डा. पौडेलले भनिन्।

विदेशमा काम गरिरहेका नेपालीहरूले पठाएको रकम ‘विप्रेषण’ (रेमिटान्स) ले नेपालको अर्थतन्त्र धान्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको भए पनि वैदेशिक रोजगारको नाम चलिरहेको संस्थागत ठगी रोक्न विगतका सरकारहरूले खासै काम नगरेको पीडितहरूले गुनासो गर्ने गरेका छन्।

अधिकारीहरूचाहिं वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताउँछन्।बीबीसी नेपाली

Loading poll ...
Share on Social Media