२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

बालेन रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवार, रवि लामिछानेको पार्टीसँग एकता कसरी हुन्छ

बालेन रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवार, रवि लामिछानेको पार्टीसँग एकता कसरी हुन्छ

पुस १३ गते,काठमाडौं -आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह(बालेन) हुने र राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने गरी दुई पक्षबीच आइतवार सबेरै सात बूँदे सम्झौतामा हस्ताक्षर भएको छ।

उक्त सम्झौतामा दुईपक्षबीच एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने समेत उल्लेख छ।

स्वतन्त्र उम्मेदवारका रूपमा काठमाण्डू महानगरपालिकाको मेअर निर्वाचित बालेनको दलीय राजनीतिक आबद्धता स्पष्ट भइसकेको थिएन।

तर ‘लौरो’ चिह्न भएको देश विकास पार्टीप्रति उनको सद्भाव रहेको उनी निकटस्थहरूले बताउने गरेका थिए।

कुलमान घिसिङ किन अटाएनन्?

कुनमानजीलाई समेट्न रातीसम्म पनि प्रयास भएको हो। खास गरी पार्टीको नाम, चुनाव चिन्ह र पदबारे पनि उहाँहरूका अडान छन्,” रास्वपा नेता तथा पूर्वमन्त्री खनालले बीबीसी न्यूज नेपालीसँग भने।

बालेन निकट नेता केपी खनालले प्रधानमन्त्रीमा समेत घिसिङले दाबी नछाडेको बताएका छन्।

“बालेनले उहाँ (कुलमान)लाई सहमत गराउन धेरै नै प्रयास गर्नुभएको हो। हिजो दिनभरि पनि उहाँले प्रयास गर्नुभयो तर भावी प्रधानमन्त्रीमा अडान नछोडेपछि सम्झौता हुन सकेन,” खनालले बीबीसी न्यूज नेपालीसँग भने।

घिसिङले आफ्ना केही अडान नछोड्ने बताएपछि बालेन, लामिछाने र घिसिङबीच त्रिपक्षीय बैठक नै बस्ने वातावरण नबनेको खनालले बताए।

बालेन रास्वपामा केन्द्रीय सदस्य मात्रै
अब रास्वपाको केन्द्रीय समितिको बैठकले त्यसलाई अनुमोदन गरे लगत्तै सम्झौता कार्यान्वयनमा अघि बढ्ने रास्वपाका नेता खनालले बताएका छन्।

“बालेनजीले नै आफू केन्द्रीय सदस्य मात्र भएर बस्ने भन्नुभएकाले त्यहाँ व्यवस्थापनका अन्य समस्या हुँदैन,” खनाल भन्छन्।

खनालका अनुसार कुन पक्षबाट कति प्रतिशत केन्द्रीय समितिमा राख्ने वा प्रतिनिधिसभाको उम्मेदवार बनाउने भन्ने विषय आपसी समझदारीका आधारमा अघि बढ्ने छ।

“प्रतिशतमा सीमित नहुने भन्ने समझदारी भएको छ, दुवै पक्षका राम्रा व्यक्तिहरू राख्दै जाने, जेन जीलाई पनि समेट्ने र उहाँ (बालेन)सँग काम गरेका केही व्यक्तिलाई पनि समेट्ने भन्ने कुरा छ,” खनालले भने।

बालेननिकट एक नेता केपी खनालले यो एकता भन्दा पनि ‘रास्वपाको पुनर्संरचना’ हुने बताउँदै भागबन्डामा ‘प्रतिशतका हिसाबले नहेरिने’ बताए।

“केन्द्रीय समिति वा पदाधिकारीमा बालेन पक्षलाई यति प्रतिशत वा यति जना भन्ने छैन,” खनालले भने।

“एकीकरण भन्दा पनि रास्वपामा पुनर्संरचना गर्ने हो। पार्टीमा नवीनतम सोच भएका नयाँ साथीहरूको पनि टोली राख्ने र प्रणाली बनाउने भन्ने कुरा भएको छ।”

सम्झौतामा अरू के छ?

सात बुँदाको एक पृष्ठको सम्झौतामा नवयुवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा शहिद परिवारका मागहरुको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने भनेर सुरुमै लेखिएको छ।

त्यसै गरी सम्झौताकै शब्दमा समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने भन्ने उल्लेख छ।

बृहत् एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभिायानकर्मी एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने सम्झौताले भनेको छ।

यसै सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने कुरा समेटिएको छ।

र अन्तिममा राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टी मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने भनिएको छ।बीबीसी नेपाली

Loading poll ...
Share on Social Media