२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ

योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ

पुस १५ गते, काठमाडौं-योनिमा रहेको माइक्रोबायोमले पेटमा रहेको माइक्रोबायोमको तुलनामा कमै ध्यान पाएको छ – तर योनिको सन्तुलित माइक्रोबायोमले समग्र स्वास्थ्यलाई राम्रो गर्न मद्दत गर्न सक्ने बताइएको छ।

योनिभित्र एउटा कमजोर पारिस्थितिक प्रणाली हुन्छ जुन हजारौँ विभिन्न प्रकारका ब्याक्टेरिया, फङ्गस र भाइरसहरू मिलेर बनेको हुन्छ। तिनीहरू एक अर्कासँग मिलेर पोषकतत्त्व र स्थानका लागि प्रतिस्पर्धा गर्छन्।

योनिमा रहने केही सूक्ष्म कीटाणुहरूले रोग लाग्न नदिनेदेखि लिएर गर्भावस्थाको नतिजा सुधार गर्नसम्म व्यापक स्वास्थ्यमा आश्चर्यजनक रूपमा सकारात्मक भूमिका खेल्न सक्छन्। जब ल्याक्टोबसिलस ब्याक्टेरिया प्रचुर मात्रामा हुन्छ बाँझोपन, गर्भपतन, समय अगावै बच्चा जन्मिने र पाठेघरको क्यान्सरको जोखिम पनि कम हुन्छ।

वैज्ञानिकहरू अब यी महत्त्वपूर्ण सूक्ष्म जीवहरूलाई राम्रोसँग व्यवस्थापन गर्न परीक्षण र उपचारहरू विकास गर्न लागि परेका छन्। यदि यो सम्पन्न भयो भने व्यक्तिका लागि आवश्यक औषधिको यो नयाँ युगले प्रजनन स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ।

त्यसो भए योनिको माइक्रोबायोमले स्वास्थ्यको भविष्यवाणी कसरी गर्छ – र यसलाई जोगाउन के गर्न सकिन्छ?

प्राकृतिक एन्टिबायोटिक उत्पादन
बाल्यकालमा योनिको माइक्रोबायोममा ब्याक्टेरियाको प्रभुत्व हुन्छ जुन कम अक्सिजन भएको अवस्थामा फस्टाउँछ जसलाई एनारोबिक सूक्ष्म जीव भनिन्छ। यद्यपि यौवनकालमा हुने एस्ट्रोजनको वृद्धिले ल्याक्टोबसिलस भनिने ब्याक्टेरियाको अर्को प्रकारका लागि उत्तम वातावरण सिर्जना गर्दछ।

ल्याक्टोबसिलस स्वास्थ्यको लागि विशेष गरी लाभदायक देखिन्छ। पर्याप्त सङ्ख्यामा तिनीहरूको उपस्थितिले हानिकारक रोगकारक कीटाणुहरूलाई योनिमा रहनबाट रोकेर सङ्क्रमणबाट बचाउँछ।

“तिनीहरूले रोगकारक कीटाणुहरूलाई बाहिर निकाल्छन्, पोषक तत्त्व र ठाउँको लागि उनीहरूसँग प्रतिस्पर्धा गर्छन्,” यूकेको मेडिसिन एन्ड हेल्थकेअर उत्पादनसम्बन्धी नियामक निकाय एमएचआरएका माइक्रोबायोम प्रमुख ख्रिसी सेर्गाकी भन्छिन्।

ल्याक्टोबसिलसले ल्याक्टिक एसिड पनि उत्पादन गर्छ जसले योनिलाई रोगकारक कीटाणुहरूको लागि त्यति राम्रो ठाउँ बन्न दिँदैन।

“यसले त्यो वातावरणलाई हानिकारक सूक्ष्म जीवहरूको लागि प्रतिकूल बनाउँछ, त्यसैले सूक्ष्म जीवहरू त्यहाँ आउन हिम्मत गर्दैनन्,” सेर्गाकी भन्छिन्। “तिनीहरू [ल्याक्टोबेसिलस] ले सङ्क्रमणबाट बचाउन प्रतिरक्षा गर्ने प्रतिक्रियाहरूलाई पनि नियमन गर्न सक्छन् र प्राकृतिक एन्टिबायोटिक उत्पादन गर्न सक्छन् – त्यसैले तिनीहरूले मूल रूपमा भित्र आउन खोज्ने अन्य ब्याक्टेरियाहरूलाई मार्न सक्छन्।”

महिलाहरूमा एचआइभीको खतरा

यसको अर्को पाटो भनेको यदि योनिको माइक्रोबायोम बिथोलियो र ल्याक्टोबसिलस गुम्यो भने यसले बीभी ब्याक्टेरियल भजाइनोसिस भनिने सङ्क्रमण र ‘युरीनरी ट्र्याक्ट इन्फेक्सन’ धेरै हुने गर्छ। त्यो अवस्थालाई भजाइनल डिस्बायोसिस भनिन्छ।

यदि महिला यौन सम्बन्धमा छिन् भने भजाइनल डिस्बायोसिसका कारण उनमा यौन सम्बन्धबाट सर्ने सङ्क्रमण (एसटीआई) हुने खतरा बढ्छ। उदाहरणका लागि ल्याक्टोबसिलस कम मात्रामा हुने महिलाहरू एचआइभीको खतरामा धेरै पर्छन्।

“दक्षिण अफ्रिकाको केप टाउनमा एचआइभीको दर २० देखि ३० प्रतिशत छ। तर त्यहाँ यौन कर्ममा लागेका केहीलाई सङ्क्रमण भएको छैन,” यूकेको युनिभर्सिटी अफ लिभरपुलस्थित महिला तथा बालबालिकाको स्वास्थ्यबारे प्राध्यापन गर्ने लाउरा गूडफेलोले भनिन्।

कम मात्रामा ल्याक्टोबसिलस भएका महिलाहरू ह्यूमन प्यापिलोमा भाइरस (एचपीभी)को बढी खतरामा रहन्छन्। उक्त भाइरसले सर्भाइकल, भल्भल र योनिको क्यान्सर गराउन सक्छ।

भजाइनल डिस्बायोसिस भएका महिलाहरूलाई एचपीभी सङ्क्रमणबाट जोगिन धेरै समय लाग्छ र सर्भाइकल अर्थात् पाठेघरको मुखको क्यान्सर हुने सङ्क्रमण हुने सम्भावना बढी हुन्छ।

“यो माइक्रोबायोम जङ्गलजस्तो हो,” गूडफेलोले भनिन्। “स्वस्थ जङ्गल हुँदा यदि त्यहाँ केही बियाँहरू फाल्यो भने त्यो हुर्किँदैन किनभने त्यहाँ पहिला नै एउटा स्वस्थ वातावरणीय प्रणाली रहिरहेको हुन्छ। तर यदि माइक्रोबायोम राम्रो छैन भने खराब ब्याक्टेरिया वा भाइरस सजिलै हुर्किन सक्छ।”

गर्भावस्थाबारे पूर्वानुमान गर्न सक्ने

चाखलाग्दो कुरा के छ भने महिलाको पेटको तल्लो भागमा रहने ब्याक्टेरियाहरूले पनि उनीहरूको गर्भधारण गर्ने र बच्चा जन्माउने सम्भावना निर्धारण गर्न भूमिका खेल्छ।

उदाहरणका लागि ल्याक्टोब्यासिलसको न्यून तह भएका महिलाहरूमा गर्भ तुहिने वा एक्टोपिक गर्भावस्था हुने सम्भावना बढी हुन्छ। पाठेघर बाहिर भ्रूण विकसित हुने अवस्थालाई एक्टोपिक गर्भावस्था भनिन्छ। योनि डिस्बायोसिस भएका महिलाहरूमा पनि समयभन्दा पहिले अर्थात् ३७ साताअघि नै बच्चा जन्मिने सम्भावना अलि बढी हुन्छ।

“समय अगावै बच्चा जन्मिने यो मात्रै एउटा कारण होइन। डिस्बायोसिस भएका धेरै मानिसहरूले सही समयमै बच्चा जन्माउँछन् तर यसले थोरै जोखिम बढाउँछ भन्ने हामी सोच्छौँ,” गूडफेलोले भनिन्।

यसैबीच स्वास्थ्यलाई राम्रो गर्ने अर्को ब्याक्टेरिया बिफिडोब्याक्टेरियमले समयभन्दा पहिला बच्चा जन्माउन जोगाउने ठानिन्छ।

यद्यपि बिफिडोब्याक्टेरियम एकदमै दुर्लभ छ र सामान्यतया पाँच प्रतिशतभन्दा कम महिलाहरूमा देखिन्छ। केही अध्ययनहरू छन् जसले डिस्बायोसिस र सफल प्रजनन उपचारको कम सम्भावनाबीच सम्बन्ध रहेको देखाउँछ।

गूडफेलो भन्छिन्, ‘त्यसैले यदि कसैलाई डिस्बायोसिस भएको छ र उनीहरूसँग आईभीएफ छ भने हामी यो सफल हुने सम्भावना अलि कम हुन सक्ने ठान्छौँ।”

व्यक्ति अनुसार औषधि दिने नयाँ युग
सबैले प्रश्न गर्छन्: के हामी योनि माइक्रोबायोम परिवर्तन गरेर बच्चा जन्मिने परिणामहरूमा सुधार गर्न सक्छौँ?

ल्याक्टोबसिलस, बिफिडोब्याक्टेरियम वा अन्य कम महत्त्वका लाभदायक ब्याक्टेरियाको प्रजातिहरूमा मात्रा हेर्न सक्छौँ?

इम्पेरिअल कलेज लन्डनका अनुसन्धानकर्ताहरूले नयाँ क्लिनिकल परीक्षणको साथ ठ्याक्कै यही गर्ने लक्ष्य राखेका छन्।

अनुसन्धानले जीवित ब्याक्टेरिया ल्याक्टोबसिलस क्रिस्पाटस रहेको ल्याक्टिन-भी नामक प्रोबायोटिकले उच्च जोखिममा रहेका महिलाहरूमा समयभन्दा पहिले बच्चा जन्माउने दरलाई कम गर्न सक्छ कि सक्दैन भनेर परीक्षण गर्छ।

अन्यत्र, अमेरिका, यूके र दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले ल्याक्टिन-भी ले महिलाहरूमा एचआइभी हुने जोखिम उच्च हुनबाट जोगाउँछ कि जोगाउँदैन भनेर अनुसन्धान गरिरहेका छन्।

सेर्गाकी र गूडफेलो माइक्रोबायोममा आधारित डायग्नोस्टिक उपकरणहरूको विकासको लागि वकालत गर्ने शोधकर्ताहरूको समूहमा पनि छन्।

“म खासगरी यो अत्याधुनिक विज्ञानलाई कसरी हाम्रा बिरामीहरूको नजिक, छिटो र सुरक्षित रूपमा ल्याउन सक्छौँ भन्नेमा चासो राख्छु,” सेर्गाकी भन्छिन्।

“हामी पहिले नै पेटमा रहने माइक्रोबायोमबाट जान्दछौँ कि त्यहाँ ब्याक्टेरियाहरू छन् जुन केही रोगहरूको अवस्थासँग सम्बन्धित छन्। र, हामी अबयोनि माइक्रोबायोमसँग पनि यो सम्बन्धित छ भन्ने पत्ता लगाइरहेका छौँ।”

योनि माइक्रोबायोमको हेरचाह

योनिको माइक्रोबायोमको हेरचाहका लागि मानिसहरूले गर्न सक्ने र गर्न नहुने केही कुराहरू छन्।

योनिको सरसफाइको कुरा गर्दा विचार नपुर्‍याए राम्रोभन्दा हानि बढी गर्न सक्छ। उदाहरणका लागि पानी र योनि सफा गर्ने सामग्रीको प्रयोग गर्दा त्यसले पनि झन् खतरा हुनसक्छ। योनिको स्वास्थ्य सुधार गर्नभन्दा पानी सफा नभए वा योनिमा लगाउने मलम वा स्प्रे वा वाइप्सले त्यहाँको नाजुक माइक्रोबिअल वातावरणमा सर पुर्‍याउन सक्छ। त्यसले बीभी, समयअगावै बच्चा जन्मिने, पेल्भिक जलन हुने पीआडी गराउनेजस्ता खतरा बढ्न सक्छ।

यदि यौन सम्पर्कमा सक्रिय हो भने गर्भ निरोधक प्रयोग गर्दा त्यसले पनि योनिको माइक्रोबायोटालाई जोगाउन सक्छ। उदाहरणका लागि कन्डम प्रयोगकर्ताहरूमा ल्याक्टोबसिलसको सङ्ख्या उच्च रहन्छ। वीर्यको आफ्नै माइक्रोबिअल हुन्छ जसले योनिमा बस्ने ब्याक्टेरियाको नाजुक सन्तुलनमा हस्तक्षेप गर्न सक्ने अध्ययनहरूले देखाएका छन्।

स्वस्थ आहार खानु पनि योनिको स्वास्थ्यका लागि राम्रो हुन्छ। शरीरमा भिटामिन ए, सी, डी र ई, बीटा क्यारोटिन, फोलेट र क्याल्सियम पर्याप्त नहुँदा पनि बीभीको खतरा वृद्धि गर्न सक्ने अनुसन्धानले देखाएका छन्।

त्यस्तै धेरै बोसो भएको आहारले पनि बीभी जोखिम बढाउन सक्ने बताइएको छ। केही – तर सबै अध्ययनहरू होइनन् – ले पनि मोटा महिलाहरूमा माइक्रोबायोम हुने सम्भावना पनि बढी हुने देखाएका छन्। ती महिलामा कम ल्याक्टोबसिलस हुन्छ जसले स्वस्थ बडी मास इन्डेक्स (बीएमआई) अर्थात् उचाइ र उमेर अनुसार हुनुपर्ने तौल कायम राख्ने महत्त्वलाई जोड दिन्छ।

अन्त्यमा धूमपान गर्दा पनि त्यसले योनिको माइक्रोबा‌योमलाई असर गर्न सक्ने देखिएको छ। एउटा अध्ययनमा चुरोट पिउने र नपिउने २० महिलामा योनिको स्वाबको परीक्षण गर्दा आधाभन्दा बढी चुरोट पिउने महिलामा उनीहरूको ल्याक्टोबसिलस माइक्रोबायोम घटेको देखियो। अध्ययनहरूले चुरोट पिउनेहरूमा बीभीको बढ्दो व्यापकता देखाएका छन् र समयअगावै बच्चा जन्मिने जोखिम पनि उच्च देखाएका छन्। त्यसैले धूमपान गर्न छोड्नु, स्वस्थ बीएमआई कायम राख्नु र भिटामिनयुक्त आहार सेवन गर्नु योनिको हेरचाह गर्ने राम्रो तरिका हुन सक्छ।

“प्रशस्त हरियो सागसब्जीहरू खाने, पर्याप्त निदाउने, प्रशस्त पानी पिउने,” गूडफेलो भन्छिन्।”यी सबै सामान्य चीजहरू जसले तपाईँको स्वास्थ्य सुधार गर्छ र सम्भवतः तपाईँको योनि माइक्रोबायोममा पनि सुधार गर्दछ।”बीबीसी नेपाली

Loading poll ...
Share on Social Media