२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प

इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प

पुस १८ गते,काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका प्रदर्शन हिंसात्मक बन्दै गएर प्रदर्शनकारीको ज्यान लिइएमा संयुक्त राज्य अमेरिका प्रतिक्रिया दिन पूर्णरूपमा तयार रहेको चेतावनी दिनुभएको छ । 

शुक्रबार उहाँले इरानले शान्तिपूर्ण प्रदर्शनकारीमाथि घातक कारबाही गरेमा अमेरिका ‘लक एन्ड लोड’ अवस्थामा रहेको स्पष्ट गर्नु भएको हो । बिहीबार इरानका विभिन्न सहरमा प्रदर्शनकारी र सुरक्षा बलबीच झडप भएपछि अवस्था थप तनावपूर्ण बनेको छ । अशान्ति फैलिँदै जाँदा पहिलो चरणमै कम्तीमा छ जनाको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएका छन् ।

राजधानी तेहरानमा आइतबारदेखि पसल बन्द गरेर उच्च मूल्यवृद्धि र आर्थिक अस्थिरताको विरोधमा गरिएको हडताल अन्य क्षेत्रमा पनि फैलिएको जनाइएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत प्रतिक्रिया दिँदै लेख्नुभएको छ, “यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीलाई गोली हानी हिंसात्मक रूपमा मार्छ, जुन उनीहरूको चलन हो, भने संयुक्त राज्य अमेरिका उनीहरूको उद्धारमा आउने छ, हामी लक र लोड अवस्थामा छौँ र जान तयार छौँ ।”

इरानको फार्स समाचार एजेन्सीका अनुसार बिहीबार छहरमहल र बख्तियारी प्रान्तको लर्डेगन सहरमा सुरक्षा बल र प्रदर्शनकारीबिच भएको झडपमा दुई जनाको मृत्यु भएको छ । साथै छिमेकी लोरेस्तान प्रान्तको आजना क्षेत्रमा भएका घटनामा थप तीन जनाको ज्यान गएको बताइएको छ ।

यसअघि सरकारी टेलिभिजनले पश्चिमी सहर कौहदास्टमा रातभर भएको विरोध प्रदर्शनका क्रममा इरानको सुरक्षा बलका एक सदस्यको मृत्यु भएको जानकारी दिएको थियो । यी घटनाले देशभर फैलँदै गएको असन्तोष र सुरक्षा चुनौतीलाई झन् गहिरो बनाएको विश्लेषण गरिएको छ ।

हालका प्रदर्शन सन् २०२२ मा देखिएको ठूलो जनआन्दोलनको तुलनामा सानो मानिए पनि अवस्था संवेदनशील बनेको छ । सन् २०२२ मा महिलामाथि लागु कडा ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देशव्यापी आक्रोश फैलिएको थियो । त्यस आन्दोलनका क्रममा दर्जनौँ सुरक्षा बलका सदस्यसहित सयौँ मानिसले ज्यान गुमाएका थिए, जसले इरानको आन्तरिक राजनीतिक र सामाजिक अवस्थालाई गहिरो रूपमा प्रभावित गरेको थियो । रासस/एएफपी

Loading poll ...
Share on Social Media