२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

नेपालसहित ७५ देशका मानिसलाई आप्रवासी भिसा नदिने अमेरिकाको निर्णय

नेपालसहित ७५ देशका मानिसलाई आप्रवासी भिसा नदिने अमेरिकाको निर्णय

माघ ३ गते,काठमाडौँ -संयुक्त राज्य अमेरिकाले यो साता नेपाल, पाकिस्तान, अफगानिस्तान र बाङ्ग्लादेशसहित विश्वभरि ७५ देशका नागरिकका लागि आप्रवासी भिसा दिने प्रक्रिया अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गर्‍यो।
उक्त निर्णय ज्यानुअरी २१ देखि लागु हुने छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार सरकारले उपलब्ध गराउने कल्याणकारी कार्यक्रम र सुविधाको दुरुपयोग रोक्ने उद्देश्यले यो निर्णय गरिएको जनाइएको छ।

गत वर्ष राष्ट्रपति बनेदेखि डोनल्ड ट्रम्पले अन्य देशबाट वैध र अवैध दुवै तरिकाबाट हुने आप्रवासन नियन्त्रण गर्ने नीति अवलम्बन गरेका छन्।

अहिलेको निर्णय सार्वजनिक गर्दै विदेश मन्त्रालयले अमेरिका आउने आप्रवासीहरू आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्ने र तिनले अमेरिकी नागरिकहरूलाई आर्थिक भार थप्न नहुने ट्रम्पको मान्यता रहेको स्पष्ट पारेको छ।

“उच्च जोखिम”का राष्ट्र भनेर सूचीकृत ७५ देशका नागरिकहरूले अमेरिका सरकारीले उपलब्ध गराउने “कल्याणकारी सुविधा नलिऊन्” र उनीहरू “सार्वजनिक भार नबनून्” भन्ने सुनिश्चित गर्न विदेश मन्त्रालयले आफूले सबै नीति र नियम समीक्षा गर्न थालेको जनाएको छ।

अमेरिकाले आफ्ना नागरिक तथा वैध तरिकाले अमेरिकामा स्थायी बसोबासको अनुमति लिएका ग्रीनकार्डधारक व्यक्तिका नातेदारलाई, अमेरिकामा स्थायी काम गर्ने विदेशी वा लगानी गर्ने उद्यमीलाई, अमेरिकी नागरिकले धर्मसन्तान बनाएका विदेशी बालबालिकालाई, अमेरिका सरकारका पूर्वकर्मचारीसहितका विशिष्ट वर्गमा पर्ने व्यक्तिहरूलाई र चिट्ठाबाट डाइभर्सिटी भिसा (डीभी) परेका योग्य विदेशी नागरिकहरूलाई आप्रवासनका लागि भिसा दिँदै आएको छ।

ट्रम्प प्रशासनले ब्रजिल, इरान, रुस र सोमालियाका नागरिकहरूले आप्रवासी भिसाका लागि दिएको आवेदन हेर्ने प्रक्रिया स्थगित गरिसकेको छ।

अमेरिकाको विदेश मन्त्रालयले प्रक्रिया स्थगन भएको अवधिमा भिसा जारी नहुने भए पनि प्रभावित देशका नागरिकहरूले आप्रवसानका लागि भिसा आवेदन गर्न र अन्तर्वार्ता दिन पाउने अनि आवेदकहरूका लागि अन्तर्वार्ताको मिति निर्धारण जारी राख्ने जनाएको छ। यद्यपि समाचारसंस्था एपीका अनुसार विदेश मन्त्रालयले सम्बन्धित देशमा भएका आफ्ना अधिकारीहरूलाई आप्रवासी भिसाका लागि गरिएका आवेदनहरू यथास्थितिमा राख्ने निर्देशन दिएको छ।

अहिलेको निर्णयानुसार आप्रवासी भिसा लिइसकेका व्यक्ति र अन्य वर्गका आवेदकहरू भने प्रभावित हुने छैनन्।बीबीसी नेपाली

Loading poll ...
Share on Social Media