फागुन ८ गते,काठमाडौँ – नेपाली कांग्रेसले सङ्घमा १६ र प्रदेशमा ६ मन्त्रालय मात्र राख्ने चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक भएको प्रतिज्ञामा कांग्रेसले सङ्घमा १६ र प्रदेशमा ७ मन्त्रालय रहने र अनावश्यक संरचना खारेज गर्ने उल्लेख गरेको हो।
प्रतिज्ञामा कांग्रेसले एक नागरिक एक डिजिटल स्वास्थ्य प्रोफाइल तयार पार्ने उल्लेख गरेको छ। कांग्रेसले आगामी पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय दुई हजार ५ सय अमेरिकी डलर पुर्याउने उल्लेख गरेको छ। कांग्रेसले ‘डिजिटल पौरख, क्लाउडमा काम नेपाली युवाको विश्वमा नाम’को नारासमेत समेटेको छ। वार्षिक ३० लाख पर्यटक भित्र्याउने कांग्रेसको योजना छ।
कांग्रेसले संवैधानिक आयोगमा भागबण्डाको आधारमा नियुक्ति हुन नदिने प्रतिज्ञा गरेको छ। अबको पाँच वर्षभित्र मुलुकबाट भ्रष्टाचार पूर्णरूपमा अन्त्य गर्ने दाबी गरेको कांग्रेसको प्रतिज्ञामा युवालाई भविष्यका कर्णधार नभई वर्तमानका साझेदार भएको उल्लेख गरेको छ। युवालाई संविधानमा उल्लेखित सबै हकउपयोग गर्ने वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गरेको छ। एक पटककको नेपाली सधैँको नेपाली नारालाई कांग्रेसले प्रतिज्ञामा समेटेको छ ।
पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना
सभापति थापाले नेपाली युवाका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाएको बताउनुभएको छ । कांग्रेसले चलाएको ‘मिसन रोजगारी’लाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हक अन्तर्गतको रोजगारी सिर्जना गर्ने गरी सङ्कल्पपत्र तयार गरेको उहाँले बताउनुभयो ।
उहाँले यत्तिकै पाँच हजार रोजगारी नभई कृषि, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रगत विधामा योजना बनाएर रोजगारी सिर्जना गर्ने सङ्कल्प लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाँच हजार युवाका लागि कार्यक्रम बनाउने छौँ, चाहे त्यो संसदमा होस् या सरकारमा होस् । यस बारेमा कार्यक्रम नै बनाएका छौँ ।’
उहाँले युवालाई डिजिटल स्वतन्त्रता र सिर्जनाको सम्मान गर्ने योजना कांग्रेससँग रहेको जिकिर गर्नुभयो । “अहिलेका युवासँग थुप्रै कला, साहित्य र सिर्जना छन् । उहाँहरूले सिर्जना गर्नुभएको छ । तर त्यसलाई बेच्न बजार पाइराख्नुभएको छैन । यसबाट स्वतन्त्रता खोज्नुभएको छ । यसका बारेमा हामी प्रस्ट छौँ ।”
उहाँले युवामा अर्को महत्त्वपूर्ण कुरा सीप र सिर्जनालाई चलायमान बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, ‘कुनै युवा वा युवतीले आफूले अध्ययन गरिरहेको शिक्षा वा सीपपछि गएर काम नलाग्ने हुनुभएन । उसलाई दक्ष बनाइराख्न अध्ययन गरिरहेको सीपमा थप गतिशीलता दिनु जरुरी छ, किनकि अहिले बजार प्रतिस्पर्धाको छ ।’ यस्तै सरकारले ‘ब्रेन ड्रेन’ सँगै ‘ब्रेन गेन’ अर्थात् युवाको दक्ष जनशक्ति पलायनसँगै दक्ष जनशक्तिलाई संस्थागत रूपमा कसरी ल्याउनेतर्फ पनि योजना बनाएको सुनाउनुभयो । “विदेश पलायन भएका युवालाई नेपालमै कसरी संस्थागत ढङ्गबाट काम गर्ने वातावरण सिर्जना गर्न सकिन्छ भन्ने कुराको योजना तयार पारेका छौँ ।”
गठबन्धनको दूषित राजनीति गर्दैनौँ
सभापति थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताउनुभएको छ । प्रतिज्ञापत्रको सन्दर्भमा सिधा प्रश्नोत्तर कार्यक्रमका क्रममा राष्ट्रिय सभागृहबाट सभापति थापाले पार्टी सञ्चालनका बेला भएका कमीकमजोरी र राजकाज गर्ने बेला भएका त्रुटिलाई सच्याएर कांग्रेस अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
‘बदलिएर आएको नेपाली कांग्रेसले देश बदल्छ भन्ने सङ्कल्प लिएर आएका छौँ’, उहाँले भन्नुभयो, ‘हामी हाम्रा मूल्यमान्यतालाई अझै तिखारेर जान्छौँ ।’ सत्ता र शक्तिका लागि गठबन्धनको संस्कारले नेपालको राजनीतिलाई खराब गरेका कारण यस पटकदेखि कांग्रेस कसैसँग गठबन्धनको सम्झौता नगर्ने उहाँको प्रतिज्ञा छ ।
‘चुनावमा मात्रै होइन, सरकार बनिसकेपछि पनि विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिमा समेत भागबन्डा हुँदैन, हुन दिँदैनौँ । यो बदलिएको कांग्रेसको सङ्कल्प हो’, सभापति थापाले भन्नुभयो । उहाँले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कसैले पनि अपमानित हुन नपर्ने विश्वास दिलाउनुभएको छ ।