२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

‘मत सर्वेक्षण ‘लाइभ’ बन्द गर्न अनलाइन लाई आयोगको निर्देशन

‘मत सर्वेक्षण ‘लाइभ’ बन्द गर्न अनलाइन लाई आयोगको निर्देशन

फागुन १४ गते,काठमाडौँ-निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन दिएको छ।

आयोगले यही फागुन २१ गते हुन लागेको मत सर्वेक्षण गर्न नपाउने आचारसंहिताविपरीत मत सर्वेक्षणको लाइभ गरेको भन्दै ती अनलाइनलाई कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको आयोगका सहप्रवक्ता सीता पुनले बताउनुभयो।

निर्वाचन आयोगको सहकार्यमा पत्रकार महिलाका लागि आयोजित ‘निर्वाचन समाचार र आचारसंहितासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा उहाँले भन्नुभयो, “अन्य देशको तुलनामा नेपालको परिवेश फरक छ, मतदातालाई आफैँलाई जनप्रतिनिधि चुन्ने अधिकार दिनुपर्छ”, उहाँले भन्नुभयो, “मतदातलाई अनावश्यक प्रभाव पार्नबाट रोक्नुपर्छ, मत सर्वेक्षणले मतदातालाई एउटा ह्वीममा लैजान्छ भनेर आचारसंहिताले बाँध्नुपरेको हो।”

निर्वाचन आयोग ऐन, २०७३ दफा २३ का अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा रु एक लाख जरिवाना र उम्मेदवारी रद्द हुनेछ। सहप्रवक्ता पुनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर गत माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ। यही फागुन १८ गते राति १२ बजेदेखि सुरु हुने मौन अवधिका सञ्चार तथा सामाजिक सञ्जाल कुनै माध्यमबाट प्रचारमूलक सामग्री प्रकाशन÷प्रसारण गर्न पाइने छैन। निर्वाचनका लागि आयोगले चार हजार ३०० पर्यवेक्षक निर्वाचन क्षेत्रहरुमा खटिरहेको आयोगले जनाएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले ‘निर्वाचनमा पत्रकार आचारसंहिता’ विषयक कार्यपत्र प्रस्तुत गर्दै निर्वाचनमा समाचार सामग्री तयार गर्दा पत्रकार आचारसंहिताको ध्यान दिनुपर्ने र गोपनियताको सम्मान गरेर उच्च व्यावसायिक अभ्यासमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले समाचार तयार गर्दा क्षेत्र, लिङ्ग, भाषा, संस्कृति कसैलाई असर नपर्ने गरी समाचार तयार गर्नुपर्ने सूचना निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुनेमा जोड दिनुभयो। रासस

Loading poll ...
Share on Social Media